६० हजार नेपाली १० वर्षमा बेपत्ता, कसले गर्ने खोजी ?

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १२,

मुलुकमा विगत १० वर्षमा नेपालबाट ५९ हजार ७ सय ५ जना नेपाली बेपत्ता भएका छन्। सो अवधिमा १ लाख १ हजार ५ सय २० जना नेपाली बेपत्ता भएको उजुरी प्रहरीमा परेको भए पनि खोजतलासपछि ४१ हजार ८ सय ९५ जना फेला पारेर प्रहरीले आफन्तको जिम्मा लगाएको छ। यति ठूलो संख्यामा मानिस हराउँदा राज्यले जसरी ध्यान दिनुपर्ने हो त्यो दिइएको पाइँदैन । विगत १० वर्षदेखि आफन्तविहीन भएकाहरूले खोजीकार्य जारी राखेको भए पनि अहिलेसम्म आफन्त नभेटिँदा पीडामा बाँच्नुपरेको पोखरा मालेपाटनका कृष्णप्रसाद सिग्देलले बताउनुभयो। ‘१० वर्षमा यति धेरै मानिस हराउँदा राज्यले खोजीका लागि पहल नै नगरेको हो कि भन्ने आशंका गरेका छौं’ –सिग्देलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। विगत १० वर्षमा ५९ हजार ७ सय ५ जना नेपाली हराएको भन्दै प्रहरी निवेदन परेको र ती मानिसका बारेमा अहिलेसम्म आधिकारिक अवस्था के हो भन्ने जानकारी प्राप्त हुन सकेको देखिँदैन। आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०८१ /०८२ सम्म आइपुग्दा देशभरबाट हराएका मानिसका बारेमा प्रहरी प्रधान कार्यालयले तयार पारेको रिपोर्टमा ५९ हजार ७ सय ५ जनाको अवस्था अज्ञात रहेको उल्लेख गरिएको छ । यता, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले भने हराएका मानिसको खोजीका लागि प्रहरीले आफ्ना सबै युनिटलाई खबर गर्ने गरेको र सबै प्रहरी युनिटलाई बेलाबेलामा हराएका मानिसको हुलिया उपलब्ध गराएर खोजी गर्ने कामलाई भने निरन्तरता दिएको बताउनुभयो । त्यसरी हराएका मानिसहरू कोही गाउँबाट देशभित्रका सहरमा आफन्तलाई खबर नै नगरी बस्ने गरेको र कतिपय भने विदेशका सहरमा पलायन भएर आफन्तको सम्पर्कमा नै नआउने गरेको कारण हराएका मानिसको संख्या ठूलो देखिएको डीआईजी कार्कीले जानकारी दिनुभयो । हराएको भन्दै उजुरी परेकामध्ये प्रहरी र आफन्तको पहलमा उनीहरुलाई समाजमा नै पुनस्र्थापित गरिएको छ भने हराएर प्रहरीमा निवेदन दिएको पछि कुनै खबर नगर्नेहरूसँग पनि प्रहरीले बेलाबेलामा सम्पर्क गर्ने गरेको डीआईजी कार्कीले जानकारी दिनुभयो । बितेको १० वर्षमा ५ सय ७२ वृद्धवृद्धा हराएको सूचना प्रहरीमा आए पनि कतिपय वृद्धवृद्धाहरू आफन्तको अपहेलना सहन नसकेर वृद्धाश्रममा बस्ने र आफन्तलाई नै खबर नगर्ने प्रचलन रहेकाले हराएका मानिसहरू यकिन तथ्यांक भने आउन मुस्किल हुने गरेको पनि उहाँले जानकारी दिनुभयो । नेपालमा २०७२ सालको विनाशकारी भूकम्प, विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारी र बेलाबेलामा आउने बाढीपहिरोबाट विस्थापित भएका बालबालिका सडकमा आउने र आफन्तले खोजी गर्दा पनि फेला नपर्ने गरेको तथ्यसमेत फेला परेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । आफूखुसी विवाह गरेर भएका केटाकेटीका आफन्तले समेत आफ्ना छोरा वा छोरी हराएको भन्ने सूचना प्रहरीमा दिने तर उनीहरुको अवस्था पत्ता लाग्दासमेत खबर नगर्ने गरेका कारण हराएका भनिएका मानिसको संख्या बढेको पनि डीआईजी कार्कीले जानकारी दिनुभयो । कतिपय बालबालिकालाई सहरका सम्भ्रान्तहरूका आफ्नो घरमा घरेलु कामदारको रूपमा प्रयोग गर्ने र उनीहरूका आफन्तसँग भेट पनि नगराइदिने गरेका कारण बालबालिका हराउनेको संख्या उच्च देखिएको छ । बितेको १० वर्षमा ३२ हजार ७ सय ११ जना बालबालिका हराएको र तीमध्ये १० हजार १५ हजार ३ सय ५३ जना फेला परे पनि बाँकी रहेका १७ हजार ३ सय ५८ बालबालिकाको अवस्था भने अझै अज्ञात नै रहेको देखिन्छ । बितेको १० वर्षमा ४७ हजार ७ सय १० जना महिला हराएको सूचना प्रहरीमा परेको छ भने सोही अवधिमा हराउने पुरुषको संख्या भने २० हजार ५ सय २७ रहेको छ। आर्थिक वर्ष २०७०/०७१ मा ५ हजार १ सय ६१, आर्थिक बर्ष २०७२/०७३ मा ५ हजार ९ सय ५७, आर्थिक वर्ष २०७३/०७४ मा ७ हजार २ सय ७८, आर्थिक वर्ष २०७४/०७५ मा ८ हजार २ सय ७७, आर्थिक वर्ष २०७५/०७६ मा ११ हजार १ सय ५३, आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ९ सय १, आर्थिक वर्ष २०७७/०७८ मा १० हजार ३१, आर्थिक वर्ष २०७८/०७९ मा १४ हजार ९ सय ५७, आर्थिक वर्ष २०७९/०८० मा १५ हजार १ सय ४५, आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार ५ सय ५३ जना हराएको भन्दै प्रहरीमा उजुरी परेको देखिन्छ।
कुन वर्ष कति हराए ?
२०७०/०७१ ५ हजार १ सय ६१
२०७२/०७३ ५ हजार ९ सय ५७
२०७३/०७४ ७ हजार २ सय ७८
२०७४/०७५ ८ हजार २ सय ७७
२०७५/०७६ ११ हजार १ सय ५३
२०७६/०७७ ७ हजार ९ सय १
२०७७/०७८ १० हजार ३१
२०७८/०७९ १४ हजार ९ सय ५७
२०७९/०८० १५ हजार १ सय ४५
२०८०/०८१ १५ हजार ५ सय ५३

Like