अन्य थपअपराधदेशप्रदेश-४ [गण्डकी]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

अदालत क्षेत्र दिनभर तनावग्रस्त लामिछानेलाई ६ दिन म्याद थप

Share to:

मिनबहादुर कुँवर/कास्की, कार्तिक ०५,

मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दा अनुसन्धानका लागि शुक्रबारदेखि लागू हुनेगरी ६ दिनको म्याद थप भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपीनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्ट (बीबी विष्ट)ले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण घिमिरेले बहस गरेका थिए । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार ६ दिनको म्याद थप गरेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको हो । यससँगै पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने अझै तीन दिन न्यायिक हिरासतमा रहने भएका छन् । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा कार्यकारी निर्देशक रहँदा अपचलन गरेको आरोप छ । उनलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ पुर्जीको अनुमति लिएसँगै सीआईबीको सहयोगमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्र अदालतमा उपस्थित गराइएको थियो । यद्यपि, पूर्वनिर्धारित विरोध प्रदर्शनका कार्यक्रम तय गरेका रास्वपा कार्यकर्ताले भने निषेधित क्षेत्र तोड्दै दिनभरजसो प्रदर्शन गरे । अर्कोतर्फ राष्ट्र बैंक चोक क्षेत्रमा सहकारीपीडितले बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गरे । शहीदचोक क्षेत्रमा प्रदर्शनकारीको आन्दोलनका कारण लामिछानेलाई सिधा बाटो नलगी लेकसाइड घुमाएर अदालतमा उपस्थित गराइएको थियो । उनलाई अदालत उपस्थित गराइने दिन आइतबार मध्याह्न रास्वपाका कार्यकर्ता र सहकारीपीडितका तर्फबाट छुट्टाछुट्टै विरोध प्रदर्शनको तयारी भएपछि जिल्ला प्रशासन कार्यालयले अदालत परिसर शहीदचोक र जिल्ला प्रहरी कार्यालय परिसर गैह्रापाटन क्षेत्र आसपासमा अनिश्चितकालका लागि निषेधाज्ञा घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारीले आदेश जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्तिसुरक्षा भंग हुनसक्ने भन्दै दिउँसो ११ बजेर ४५ मिनेटदेखि लागू हुनेगरी सो घोषणा गरेका हुन् । शहीदचोकमा धेरै पटकसम्म प्रहरी र रास्वपा कार्यकर्ताबीच धकेलाधकेल भयो । प्रहरीले प्रदर्शनकारीको आन्दोलन दबाउन पानीको फोहोरा हानेको थियो । त्यस्तै, एकपटक अश्रुग्यास प्रहार गरेको थियो । तैपनि प्रदर्शनकारी पछाडि नहटिसकेपछि थप पानीको ट्यांकर भरेर ल्याइएको प्रहरीको गाडीलाई प्रदर्शनकारीले फिर्ता पठाइदिएका थिए । प्रहरीले विरोध प्रदर्शनमा उत्रिएकी एक महिलालाई पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ । राजनीतिक प्रतिशोधका कारण पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको रास्वपाका केन्द्रीयस्तरका नेताहरूले बताएका छन् । पार्टी उपसभापतिहरू डा. स्वर्णीम वाग्ले र डीपी अर्याल, नेताहरू सुमना श्रेष्ठ, शिशिर खनाल, रमेश प्रसाईंले केपी ओली सरकारले राजनीतिक प्रतिशोधका कारण झुठा मुद्दामा फसाएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् । प्रदर्शनकारीले ओली सरकार राजीनामा दे, रवि दाइ हाइहाइ, अन्याय गर्न पाइँदैनलगायतका नाराबाजी गर्दै तत्काल लामिछानेको रिहाइको माग गरेका थिए । प्रदर्शनका कारण राष्ट्र बैंक चोक, शहीदचोक, बैदाम, रत्नचोकलगायतका क्षेत्र तनावग्रस्त बनेको थियो । कतिपय प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा पनि प्रहार गरेका थिए । यता, सहकारीपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले आफूहरूको बचत तत्काल फिर्ताको माग गरे । सहकारीपीडितले राष्ट्र बैंक चोक क्षेत्रमा दिनभरजसो नाराबाजी गर्दै आन्दोलन गरेका थिए । रास्वपाका कार्यकर्ताको तुलनामा पीडितहरूको आन्दोलन शान्तिपूर्ण थियो । जिल्ला प्रशासन कार्यालयले पोखरा–७ शहीदचोक आसपास क्षेत्रको पूर्वतर्फ वाईचोक, पश्चिममा बैदामको फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइड क्षेत्रलाई निषेधित क्षेत्रको आदेश जारी गरेको छ । यस्तै, पोखरा–४ गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा पालिखचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइनेछैन । प्रहरीले त्यस क्षेत्रमा सुरक्षा घेरा हालेर सुरक्षा व्यवस्था कडा पारेको छ । रास्वपा सभापति रवि लामिछानेले घरघरबाट यस सरकारको विरोध गर्न अपिल गरेका छन् । आइतबार अदालतमा उपस्थित गराउने क्रममा सञ्चारकर्मीसँग लामिछानेले सो प्रतिक्रिया दिएका हुन् । ‘अधिनायकवादी सरकारका विरुद्ध यही बेला देशैभरिबाट आफ्ना लागि होइन, देशका लागि जोजो जहाँ हुनुहुन्छ, बाहिर आउनुपर्ने हुनसक्छ, त्यसका लागि तयार हुनुहोस्, यो सरकार रहेसम्म यही हर्कत भइरहन्छ, झुठा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ, यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता कार्य भइरहन्छन्,’ रास्वपा सभापति लामिछानेले भने, ‘सहकारीपीडितहरूलाई आफ्नो पार्टीभित्र पारेर, भ्रष्टाचारको जगमा उभिएर, झुठा मुद्दा लगाइएको छ, मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी यस देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो, मलाई विश्वास छ, अदालतले न्याय दिन्छ, म एकदमै विश्वास गरेर न्यायिक प्रक्रियामा सघाउन आएको छु, तर यिनीहरूको वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ती गर्ने र निर्दोषलाई फसाउने खेल अन्त्य हुनुपर्छ ।’

Like