दशैँमा चण्डी पाठसँगै भगवतीको उपासना विधि र फल, विश्व शिक्षक दिवस

Share to:

दशैँमा चण्डी पाठसँगै भगवतीको उपासना विधि र फल
आश्विन शुक्लपक्षलाई दुर्गापक्ष भनिन्छ । यही दुर्गा पक्षमा भगवतीको उपासना गरी हर्षोल्लासपूर्वक बडादशैँ पर्व मनाउने गरिन्छ । नवरात्रको आरम्भसँगै भगवतीको आराधना आरम्भ हुने गर्दछ । दशैँ भगवतीको आराधना गर्ने एक मुख्य अवसर हो । समस्त मनोकामना सिद्धिका निम्ति नवरात्रका नौदिनसम्म भगवतीको उपासना गर्ने र दशौँ दिन प्रसादस्वरूप टीका जमरा लगाई हर्षोल्लासपूर्वक दशैँ मान्ने परम्पर रहेको छ । यसरी दशैँका नवरात्रमा भगवतीको आराधनास्वरूप दुर्गासप्तशती पाठ गर्ने विधान शास्त्रमा उल्लेख पाइन्छ । मूलतः देवीभागवतको पाठ पारायण एवं दुर्गसप्तशतीको पाठ यस अवसरमा गरिन्छ । दुर्गासप्तशती कामना अनुसार विभिन्न प्रकारले पाठ गर्ने विधान रहेको छ । अध्ययाय नपुगी पाठ विराम गर्नु हुँदैन । यदि बिराइयो भने पुनः अध्याय नै पाठ गर्नुपर्दछ भनी बताइएको छ । शुद्ध स्पष्टसँग मन्द गतिमा रसिलो स्वरले पाठ गर्नुपर्दछ भनेर पनि निर्देश गरेको पाइन्छ । यसका पनि सर्वत्रिक रूपमा दुर्गा सप्तशती चण्डीको पाठ पारायण विशेष रूपमा हुने गर्दछ । नवरात्र भगवतीका प्रिय समय हो । वर्षमा चारवटा नवरात्र पर्ने गर्दछन् । जसमध्ये मुख्य नवरात्रमा शारदीय नवरात्र पर्ने गर्दछ । यस समयमा भगवतीको उपासना गर्नाले कार्यसिद्धिदायी हुने शास्त्रीय फलश्रुति पाइन्छ । शक्तिस्वरूपा भगवतीको उपासनाले समस्त मनोकामना पूर्ण हुने भएकाले पनि आफ्नो मनोकामना सिद्धिका निम्ति दुर्गासप्तशती (चण्डी) पाठ गर्ने शास्त्रीय पद्धति रहेको छ । भगवतीलाई प्रसन्न गराउन नै पाठ गर्ने विधान धर्मसिन्धुमा बताइएको छ । भगवती दुर्गा देवीका सातसय मन्त्रले स्तुति गरिएको संग्रह दुर्गासप्तशती हो । जहाँ सातसय मन्त्र रहेका छन् । मार्कण्डेय पुराणको सावर्णि मन्वन्तरको कथाप्रसङ्ग नै दुर्गासप्तशतीमा रहेका छन् । नेपाली परम्परामा यसलाई चण्डी भन्ने पनि चलन रहेको छ । चण्डी पनि भगवतीकै एक नाम हो । यसैगरी देव्याकवच, अर्गालास्तोत्र, कीलक पनि दुर्गासप्तशती पाठका अङ्ग हुन् । यसैगरी भगवतीको प्राधानिक, वैकृतिक र मूर्ति रहस्य पनि सप्तशती पाठका परिपूरक हुन् । यसैगरी दुर्गासप्तशती पाठकै अङ्गगका रूपमा न्यास, ध्यान एवं जप पनि पर्ने गर्दछन् । जहाँ भगवतीले असुरलाई पराजित गरी विजयको उल्लसा मनाएका कथा प्रसङ्ग पाइन्छन् । देवता पनि प्रसन्न भई पुष्पवृटि गरेका, भगवतीको महिमा गान गरेका कथा प्रसङ्ग दुर्गासप्तशतीमा पाइन्छ । धर्म, अर्थ र कामना सिद्धिका निम्ति दुर्गासप्तशतीको पाठ विधान गरिएको छ । रोगसम्बन्धी विकारको शान्तिका निम्त तीनपटक चण्डी पाठ गर्नुपर्दछ । ग्रहपीण शान्तिका निम्ति पाँच पाठ, महाभयबाट शान्तिका निम्ति सात पाठ, वाजपेय यज्ञको फल प्राप्तिका निम्ति नौ पाठ, शत्रुनाशका निम्ति बाह्र पाठ, धनद्वारा सुख प्राप्तिका निम्ति पन्ध्र पाठ, छोरा–नातिको धनधान्य सम्पन्नताका निम्ति सोह्र पाठ, राजभय नाशका निम्ति १७ पाठ, बन्धनबाट मुक्तिका निम्ति बीस पाठ आदिको विधान धर्मसिन्धुका बताइएको छ । काम्यपाठमा सङ्गल्प र बलिदानलाई अनिवार्य मानिएको छ । दुर्गासप्तशती कामना अनुसार विभिन्न प्रकारले पाठ गर्ने विधान रहेको छ । अध्ययाय नपुगी पाठ विराम गर्नु हुँदैन । यदि बिराइयो भने पुनः अध्याय नै पाठ गर्नुपर्दछ भनी बताइएको छ ‘अध्यायं प्राप्य विरमेन्न तु मध्ये कदाचन । कृते विरामे मध्ये तु अध्यायादि पठेत्पुनः ।।’ (धर्मसिन्धु, द्वितीयपरिच्छेद, पृ.८०) । शुद्ध स्पष्टसँग मन्द गतिमा रसिलो स्वरले पाठ गर्नुपर्दछ भनेर पनि निर्देश गरेको पाइन्छ : ‘ग्रन्थार्थं बुध्यमानः स्पष्टाक्षरं नातिशीघ्रं नातिमन्दं रसभावस्वरयुतं वाचयेत् ।।’ (धर्मसिन्धु) । अर्थात् पाठ गर्दा अर्थ बुझिने हुनुपर्दछ । विनियोपूर्वक पाठ गर्ने, जपादि कार्य गर्ने पनि विधि विधान रहेका छन् । यसैगरी पुस्तक हातमा लिएर पनि पाठ नगर्नू भन्ने पाइन्छ । दुर्गासप्तशती दुर्गा देवीको महिमा गाथा हो । सप्तशतीका प्रत्येक श्लोक मन्त्ररूप मानिन्छन् । असुर राक्षसी प्रवृत्तिको अन्त्य गरी समस्त लोकमा सुख शान्ति प्रदान गरेको प्रसङ्ग दुर्गासप्तशती (चण्डी) मा वर्णन गरिएको छ । मार्कण्डेय पुराणअन्तर्गतको देवी माहात्म्य नै वास्तबमा दुर्गा सप्तशती हो । प्रथम अध्यायमा भगवतीको महिमा सहित मधु र कैटभ नामका दैत्यको बध गरेको कथा छ । देवताको तेजबाट देवीको प्रादुर्भावका साथै महिषासुरका सेनाको बध प्रसंग दोस्रो अध्यायमा वर्णन गरिएको छ । तेस्रो अध्यायमा महिषसुरको बध, चौथो अध्यायमा इन्द्रादि देवताहरूद्वारा देवीको स्तुति छ । पाँचाँै अध्यायमा देवताद्वारा भगवतीको स्तुतिका साथै चण्ड र मुण्डबाट अम्बिका देवीको प्रशंसा सुनी शुम्भद्वारा देवीलाई दूत पठाएको कथा छ । नवरात्रमा भगवती दुर्गा देवीको उपासना गरिन्छ । जगज्जननी माता दुर्गा देवीको उपासनाले धर्म, अर्थ काम र मोक्ष चार प्रकारका पुरुषार्थ सिद्धि प्राप्त हुन्छ । जुन कामनासहित भगवती देवीको उपासना ग¥यो सो पूरा हुने कुरा देवी कवचको ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ (दुर्गासप्तशती, देव्याः कवचम्, श्लो.४४) भन्ने श्लोकबाट पनि पुष्टि हुन आउँछ । आदि शक्ति दुर्गा देवीको उत्पत्ति एवं माहात्म्यको कथा वेदव्यास रचित मार्कण्डेय पुराणमा उल्लेख छ । देवीभागवतमा पनि भगवतीको महिमागान गरिएको छ । छैठौ अध्यायमा धुम्रलोचनको बध, सातौँ अध्यायमा चण्ड र मुण्डको बध, आठौँ अध्यायमा रक्तबीजको बध, नवाँै अध्यायमा निशुम्भ बध, दशौँ अध्यायमा शुम्भ बध, एघारौँ अध्यायमा देवताद्वारा दुर्गा देवीको स्तुति गान र भगवतीद्वारा देवतालाई वर प्रदानको कथा छ । बाह्रौँ अध्यायमा देवी चरित्र पाठ र श्रवणको महत्व वर्णन गरिएको छ । यसैगरी तेह्रौँ अध्यायमा सुरथ र वैश्यलाई देवीले वरदान दिएको कथा उल्लेख छ । मूलतः भगवतीको महिमा गान नै दुर्गासप्तशतीमा व्याप्त पाइन्छ । देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रहृमाको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको वायाँ भागमा लक्ष्मीसहित विष्णुको पूजा गरिन्छ । अठार भुजावाली महिषासुरमर्दिनी महालक्ष्मी नै विशेष रूपमा रहने कुरा सप्तशतीको वैकृतिक रहस्यमा उल्लेख पाइन्छ । महालक्ष्मी नै सम्पूर्ण लोककी माहेश्वरी हुनुहुन्छ । देवीको विशेष विधानपूर्वक पूजा गरिसकेपछि देवीको ध्यानपूर्वक स्तुति गरी देवी माहात्म्यको पाठ गर्नु पर्दछ । पाठपश्चात् सप्तशतीका मन्त्रले हवन गर्नुपर्ने विधान वैकृतिक रहस्यमा उल्लेख छ । जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछन् त्यस्ता व्यक्तिका सारा बाधा निश्चय नै हटेर जानेछन् फल वर्णन गरिएको छ । अष्टमी, चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप नष्ट हुन्छन् भनी बताइएको छ । यसैगरी बलि दान, पूजा, होम तथा विभिन्न महोत्सवका अवसरमा देवीको पूजा पाठ एवं माहात्म्य श्रवण गर्नु भन्ने विधान पनि दुर्गा सप्तशतीमा पाइन्छ (दुर्गासप्तशती, १२।१०) । शरद ऋतुको नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन, धान्य, पुत्रपौत्रादि अभिवृद्धि हुन्छन् । खराब सपना देखे, ग्रह जनित भयंकर पीडा भए देवीको महात्म्य श्रवण गर्नुपर्दछ । विशेषगरी बालबालिकामा परेको ग्रहजन्य दोष पनि दुर्गासप्तशतीको पाठ आराधनाले नष्ट भएर जान्छ । जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछन् त्यस्ता व्यक्तिका सारा बाधा निश्चय नै हटेर जानेछन् फल वर्णन गरिएको छ । अष्टमी, चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप नष्ट हुन्छन् भनी बताइएको छ । देवी माहात्म्य सुन्नाले मात्रै पनि सवै प्रकारका भय नाश हुन्छन् । दुर्गा सप्तशती परं कल्याणकारी भएकाले दुर्गा पाठद्वारा महामारी जनित समस्त उपद्रव तथा आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप नष्ट भएर जान्छन् भन्ने कुरा देवी माहात्म्यमा बताइएको छ । देवी माहात्म्यको पाठ मात्र गर्नाले पनि भूत, प्रेत पिशाच आदि नष्ट भएर जान्छन् । दुर्गादेवीको पूजा अर्चना, स्तुति पाठ, माहात्म्य श्रवण गर्नाले यो लोकको भुक्ति हुनुका साथै परलोकमा पनि मुक्ति प्राप्त हुने कुरा देवी माहात्म्यमा उल्लेख छ । शरद कालीन नवरात्र र वसन्तकालीन नवरात्रमा देवीको उपासना गर्नाले अभीष्ट सिद्धि हुन्छ । यसैगरी गुप्त नवरात्रमा देवीको स्तवन गरेमा मनोवाञ्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । दुर्गा कवच, कीलक र अर्गला स्तोत्र नित्य पाठ गर्नाले पनि दुर्गा पाठ बराबरको फल प्राप्त हुन्छ । समस्त पापबाट बाँच्न देव्याथर्वशीर्ष पाठ गर्नुपर्दछ । यसैगरी मन्त्र सिद्धिका लागि कुञ्जिका स्तोत्र पाठ पनि नवरात्रमा गर्नु गराउनु उपयुक्त मानिन्छ । भगवती देवी सम्पूर्ण मनोकामना सिद्ध गर्ने आद्य शक्ति हुन् । विधिपूर्वक देवीको आराधना नगरे फल प्राप्त नहुने भएकाले विधि विधानलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ । दुर्गा देवीले हामी सबैको कल्याण गरून् ।
विश्व शिक्षक दिवस
एउटा महान् शिक्षकको आफ्ना विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरूले प्रज्वलन गरेका उत्सुकता कतै गणितका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरू भने कतै कला र साहित्यका रूपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ । हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन सुरु गरिएको हो । आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरीय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् । २०२४ को नारा:Recognising and appreciating teachers’ voices and working towards a new social contract for education शिक्षकहरूको आवाजलाई मान्यता र प्रशंसा गर्दै र शिक्षाको लागि नयाँ सामाजिक अनुबन्ध तिर काम गर्दै अघि बढ्ने भन्ने अर्थ लाग्दछ । हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छ, शिक्षक अभावलाई सम्बोधन गर्न विश्वव्यापी एैक्यवद्धता भन्ने नाराका साथ विश्वभरिका १०० भन्दा बढी देशहरू र हजारौँ सङ्गठनहरूले विश्व शिक्षक दिवस मनाउदैछन् । आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई सम्झिन आवश्यक छ जसले हामीलाई कालो पाटीमा चक र डस्टर धस्दै वर्णमाला सिकाए । ‘क’ बाट कछुवा देखि ‘ज्ञ’ बाट ज्ञानीसम्म सिकाए । ‘A’ फर Apple बाट ‘Z’ फर Zebra सम्म सिकाए । त्यसपश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरूसँग शिक्षा लिएका छौँ, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरूलाई हार्दिक नमन ।

Like