दुई देशका संयन्त्रहरू सक्रिय बनाएर समस्या समाधान गर्ने वार्तासहित न्युयोर्कमा ओली–मोदी द्विपक्षीय भेट
एजेन्सी, आश्विन ७,
मुलुकका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान भएको साइडलाइन भेटवार्ता न्युयोर्क लोते प्यालेसमा भएको थियो । बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भेटवार्ता राम्रो भएको उल्लेख गरे । भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृतकुमार राईको सहभागिता रहेको थियो । उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको भेटवार्तामा सहभागी रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् । बैठकपछि कान्तिपुरसँग कुराकानी गर्दै उनले भनिन्,‘मोदीजी छिट्टै नेपाल भ्रमण गर्छु भन्नुभएको छ । साथै, द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर तमाम समस्यालाई समाधान गर्ने सहमति पनि बैैैठकका दौरान भएको छ ।’ बैठकपछि परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले दुई मुलुकबीचको विश्वासको वातावरणलाई थप बलियो बनाउन द्विपक्षीय भेटवार्ताले थप सहयोग गरेको जानकारी दिए । भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस. जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो ।
चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो । यस अघि ओली पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गरेरै मोदीसँग भेटवार्ता गरेका थिए ।