प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय
रासंसा/काठमाण्डौ, आश्विन ०१,
मुलुकमा संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको नाम सिफारिस गरी पठाएको थियो । न्यायपरिषद्ले पठाएका नाममध्ये संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदका कारण आउँदो १९ असोजबाट अनिवार्य अवकाश हुँदै छन् । श्रेष्ठपछि दोस्रो वरीयतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् । संवैधानिक परिषद्ले सिफारिस गरेपछि उनको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।