इतिहास ब्युँत्याउने लक्ष्य साफ यु–२० च्याम्पियनसिप नेपाल
रासंसा/ललितपुर, भाद्र १२,
मुलुकमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको त्यही मैदान हो, जुन मैदानमा नेपालले सन् २०१५ मा साफको उमेरसमूहको प्रतियोगितामा डेब्यु मात्रै गरेन उपाधि नै जितेको थियो। त्यो पनि भारतलाई नै पराजित गरेर। एन्फा एकेडेमीले उत्पादन गरेका अधिकांश खेलाडी सम्मिलित नेपाली टोली त्यति बेला मैदान उत्रिएको थियो। ती खेलाडीलाई दशरथ रंगशालाको जस्तो घाँसे मैदानमा खेलेको अनुभव थिएन। थियो त, टर्फमा लामो समय खेलेको अनुभव। त्यही अनुभवले नेपाललाई च्याम्पियन नै बनाइदियो। ‘सुरुआतदेखि नै यहीं प्रशिक्षण गर्यौं, यही खेल्यौं। हाम्रा खेलाडीसँग रंगशालामा खेलेको अनुभव छैन। अझ ठूलो संख्यामा दर्शक फेस गर्न गाह्रै हुन्छ। त्यही भएर फाइनल खेल्न यहीं सजिलो हुनेछ,’ उनले भने। अञ्जन विष्ट र सुनील बलको उत्कृष्ट प्रदर्शनसँगै नेपालले उमेरसमूहमा साफको पहिलो संस्करणको सेमिफाइनलमा अफगानिस्तानलाई ३–२ ले हराउँदै उपाधि भिडन्त तय थियो । भारत भने बाङ्लादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा पुगेको थियो। अहिले अफगानिस्तान दक्षिण एसियाली फुटबल खेल्दैन। अर्कोतर्फ सन् २०१९ देखि २०२३ सम्म लगातार उमेरसमूहको उपाधि जित्दै आएको भारतलाई यसपल्ट बाङ्लादेशले ९ वर्षअगाडि भएको पेनाल्टी सुटआउटको नतिजा उल्टाउँदै घर फर्काइसकेको छ। त्यसैले सन् २०१७ मा साफ यु–१८ जितेको नेपाल र उपविजेता बाङ्लादेश पुनः उपाधि जित्ने लक्ष्यमा उभिएका छन्। नेपाल इतिहास ब्युँत्याउन चाहन्छ भने बाङ्लादेश इतिहास बनाउन। करिब नौ वर्षअघि जस्तै वातावरण अहिले पुनः घरेलु टोली नेपाललाई साफ यु–२० च्याम्पियनसिपमा जुरेको छ। दशरथ रंगशाला खेल्न अयोग्य भएपछि नेपाल र बाङ्लादेशबीच आज तय भएको फाइनल पनि यही मैदानमा हुनेछ। यो मैदानमा करिब ४५ दिनको तयारी गरेकाले इतिहास ब्युँत्याउन सहज हुनेमा आशावादी देखिन्छन्, नेपाली यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ। ‘यसअघि दुईपल्ट फाइनल पुगेर उपाधि जितिसकेका छौं। तेस्रोपल्ट पनि जितेर सबैलाई खुसी बनाउन चाहन्छौं,’ श्रेष्ठले भने। यसपल्ट प्रशिक्षक श्रेष्ठले सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका समीर तामाङ, नीराजन धामी र अविनाश स्याङ्तानलाई आक्रमणमा उतारेका छन्। तर, अपराजित रहँदै फाइनलमा पुगे पनि प्राप्त अवसरमा गोल गर्न भने उनीहरू असफल भएका छन्। तीन खेल खेलिसक्दा नीराजनले तीन र समीरले एक गोल गरेका छन्। अविनाश भने गोलविहीन छन्। कप्तान कुशल देउवा फिनिसिङमा चुकिरहेको स्विकार्छन्। ‘समीर राम्रो खेलाडी भएकाले विपक्षीले निगरानी गरिरहेका छन्। त्यही भएर उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। फाइनलमा योजना बनाएर खेल्छौं,’ उनले भने। ‘यहीं फुटबल खेलेर हुर्केका हुन्, त्यसैले नेपाली टोली बलियो छ। तर, भोलि नयाँ दिन र नयाँ खेल हो,’ उनले भने। नेपाली टोलीको जस्तै समस्या बाङ्लादेशले पनि सामना गरिरहेको छ। सबै खेलाडीसँग घरेलु लिग खेलेको अनुभव छ। तर, त्यो अनुभव उनीहरूले देखाउन सकेका छैनन्। तीन खेल सकिँदा १७ वर्षे सेन्ट्रल फरवार्ड मिराजुल इस्लामले दुई गोल गरेका छन्। उनीबाहेक मोहम्मद रब्बी हुसेनबाट पनि टोलीले अत्यधिक आशा गरेको थियो। तीनपल्ट उपाधि जित्न चुक्दा बाङ्लादेशलाई नमेटिने घाउ लागेको छ। त्यो घाउ मेटाउन बाङ्लादेश तेस्रोपल्ट काठमाडौं आएको हो। बाङ्लादेशले श्रीलंकालाई २–० ले हराउँदै सुखद सुरुआत गरेको थियो। तर, घरेलु टोली नेपालविरुद्ध भने बाङ्लादेशले लय कायम राख्न सकेन र २–१ ले नतिजा सुम्पियो। यद्यपि, नेपालले उद्घाटन खेलमा श्रीलंकालाई १–० ले पराजित गरिसकेको हुँदा बाङ्लादेशलाई अन्तिम चारमा पुग्न कठिन भएन। तर, अर्को समूहबाट भारत समूहविजेता बन्नुले बाङ्लादेशको यात्रा यहींसम्म रहने त होइन भन्ने संशय थियो। तर, ९० मिनेटभर दबदबा कायम राखे पनि फिनिसिङमा चुकेको भारत पेनाल्टी सुटआउटमा बाङ्लादेशसँग पराजित भयो। यो नतिजाले बाङ्लादेशी खेलाडीको मनोबल बढाएको छ। त्यसैले उपाधि जितेर फर्किनेमा आशावादी रहेको मुख्य प्रशिक्षक मरूफुल हक बताउँछन्। तर, आशा निराशामा परिणत भएको छ। त्यसमाथि नियमित कप्तान तथा गोलकिपर मेहदी हसन घाइते छन्। त्यसैले उनको स्थानमा भारतविरुद्ध दुई पेनाल्टी रोकेर नायक बनेका मोहम्मद आसिफले पोस्ट सम्हाल्नेछन्। कप्तानी ‘आर्मब्यान्ड’ भने मोहम्मद असरफुल आसिफलाई दिइएको छ। तर, प्रशिक्षक मरूफुललाई उपलब्ध खेलाडीमै विश्वास छ।