पूर्व राज्यमन्त्री रायको हत्या विश्वासपात्रले नै गरेको भन्दै दुई अभियुक्त सार्वजनिक

Share to:

रासंसा/रौतहट, श्रावण १४,

मुलुकमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै विश्वासपात्रबाट भएको प्रहरी अनुसन्धानले देखिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमवार रायको हत्यामा संलग्न रहेका दुई जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवामा सोमबार पत्रकार सम्मेलन गर्दै एसपी सिंहले राम उजैन राय र चन्द्रनगर गाउँपालिका १ का ४६ वर्षीय वीरेन्द्र रायलाई पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको छ । वीरेन्द्र राय र पूर्व राज्यमन्त्रीबिच जग्गाको विवाद रहेको तथा वीरेन्द्र रायले नै हत्या गर्न लगाएको अनुसन्धानबाट देखिएको एसपी सिंहले जानकारी गराएका छन् । अभियुक्तमध्ये एक जना पूर्व राज्यमन्त्री रायको विश्वासपात्र भएको प्रहरीको दाबी छ ।विगत १० वर्षदेखि पूर्व राज्यमन्त्री रायको घरमा भान्सा लगायत आवश्यक अन्य काम गर्दै आएका २५ वर्षीय राम उजैन रायले हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिन आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्र कुमार सिंहले जानकारी गराएका छन् । वीरेन्द्र राय र पूर्व राज्यमन्त्री राय सँधियार भएको तथा वीरेन्द्रको दृष्टिमा पूर्व राज्यमन्त्री रायले आफ्नो जग्गा मिचेको देखिएको छ । वीरेन्द्र रायले आफूलाई पूर्व राज्यमन्त्रीको अगाडि बोल्न तथा आफ्नो कुरा राख्न सक्ने हैसियत नभएकोले हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीको दाबी छ। वीरेन्द्र रायको उक्साहटमा राम उजैन रायले गत साउन ७ गते राति पूर्व राज्यमन्त्री राय निदाइसकेको मौका छोपी फर्सा (दबिया) ले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि राम उजैन रायले नै पौने १ बजे राति इलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुरलाई पूर्व राज्यमन्त्री रायको हत्या भएको जानकारी गराएका थिए । दश वर्षभन्दा लामो समयदेखि विश्वासपात्रको रुपमा काम गरिरहेका राम उजैन रायलाई प्रलोभनमा पारेर हत्या गर्न लगाएको देखिएको प्रहरीको भनाइ छ । पूर्व राज्यमन्त्री रायको हत्या गरेमा दुई लाख रुपैया नगद दिने तथा व्यवसाय गर्न फर्मसमेत बनाइदिने प्रलोभन दिएको र सोही प्रलोभनमा परेर विश्वासपात्र राम उजैनले पूर्व राज्यमन्त्रीको हत्या गरेको बयान राम उजैन रायले प्रहरी समक्ष दिइसकेको प्रहरीको दाबी छ । घटना भएको राति ९ बजेतिर तिन जना नचिनेको मानिस आएको र आफूलाई सुत्न पठाएको बताउँदै मध्यरातमा उठेर हेर्दा पूर्व राज्यमन्त्री रायको हत्या भएर मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको बयान राम उजैन रायले दिएका थिए । घटनाका दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट दश दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी गराएका छन् ।

Like