परराष्ट्र मन्त्रालयको संदेश, बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू सुरक्षित छन्

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ४,

मुलुकमा परराष्ट्र मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू सुरक्षित भएको जानकारी दिएको छ। आरक्षण विवादले बंगलादेशमा हिंसा चर्किएपछि शुक्रबारसम्म कम्तीमा ३९ जनाको मृत्यु भएको छ। ‘बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरूपमा सचेत छ। हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ,’ विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ। राजधानी ढाकासहित आसपासका क्षेत्रमा विरोध प्रदर्शन चर्किएको त्यहाँका एजेन्सीहरूले उल्लेख गरेका छन्। परराष्ट्र मन्त्रालयले बंगलादेशमा अध्ययनरत विद्यार्थीहरू नेपाली दूतवासको सम्पर्कमा रहेको र सबै सुरक्षित रहेको जानकारी दिएको हो। बंगलादेशमा नेपालीहरूलाई कुनै सहयोगको आवश्यकता परे सरकारले सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ। सरकारले ढाकास्थित नेपाली राजदूतावासका द्वितीय सचिव योजना बम्जनलाई +८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई + ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न भनेको छ।

Like