३ करोड ८५ लाख बराबरको कोकिनसहित ठमेलबाट दुई विदेशी नागरिक पक्राउ

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ४,

मुलुकमा लागु औषध नियन्त्रण ब्युरोले ३ करोड ८५ लाख बराबारको लागु औषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । उनीहरुकाे साथबाट तौल १ केजी १०० ग्राम कोकिनको बरामद गरिएकाे छ । बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८५ लाख हुन आउने प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अनसारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुला रहेका छन् । नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका थिए । उनलाई काठमाडौँ-२६, ठमेल स्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर बसिरहेको अवस्थामा पक्राउ गरेको हाे । पक्राउ गरी सोधपुछ गर्दा उक्त लागु औषध कोकिनका क्याप्सुलहरू कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर नेपाल ल्याएको बताएका छन् । नसिमुद्दिनले उक्त लागु औषध कोकिनसहितका जुसका बट्टाहरू काठमाडौँ-९ पिङ्गलास्थान स्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबडोफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । ओबडोफुला साउन १ गते नै कतार एयरलाइन्सबाट नेपाल आएका थिए । उनीहरुलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ।

Like