आज नेपाल गौरव यात्रा मनाइदै
रासंसा/काठमाण्डौ, ज्येष्ठ २६,
मुलुकमा हाम्रो समाजमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अस्तित्व तथा पहिचानलाई लज्जाको विषयका रूपमा लिइन्छ । यसलाई अनेकौँ लाञ्छित तथा घृणित दृष्टिकोणले हेरिन्छ । समाजले यसरी लज्जित तुल्याउने गरेको हुनाले आफ्नो पहिचान लज्जाको विषय नभएको सन्देश स्वरूप गौरव भन्ने शब्द प्रयोग हुन थालेको हो । विश्वभरी ईश्वी संवत्को जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २०औँ शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको थियो । यस महिनामा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन हुने गर्दछ ।यसै महिनाको अवशरमा मनाइने एक उत्सव गौरव यात्रा (प्राइड परेड) हो । यो एउटा उत्सवजनक र्यालि हो । नेपालमा २०७६ साल देखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धीका सार्वजनिक कार्यक्रम तथा उपस्थिति बृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा गौरव यात्राको आयोजना क्वयेर युथ ग्रुप (Queer Youth Group) ले गर्दै आएको छ । हामी मुनाफा वितरण नगर्ने कम्पनी हौँ । हामी सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत छौँ । गौरव यात्राको सुरुवात देखि क्वयेर राइट्स् कलेक्टिभ (Queer Rights Collective) को साथ थियो । यो एउटा फुक्का संजाल हो । २०७७ देखि क्याम्पेन फर चेन्ज (Campaign for Change) पनि जोडिन पुगेको छ । यस संस्थाले अन्तरलिङ्गी व्यक्तिहरूको हक अधिकारका निम्ति काम गर्दछ । स्टोनवाल विद्रोहको ५० औँ स्मरण दिवसको भोलीपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछी प्रत्येक वर्ष जून महिनाको दोस्रो शनिबारका दिन नेपालमा गौरव यात्रा आयोजना गर्ने निर्णय भयो । २०७७ र २०८७ सालमा कोभिड-१९ विश्वमहामारीका कारण अनलाइन माध्यमबाट गौरव यात्राको आयोजना भएको थियो । २०७९ सालमा हामीले पुनः दोस्रो पटक भौतिक उपस्थितिमा गौरव यात्रा मनायौँ । यसपाली यो छैँठौँ पटकको गौरव यात्रा हो । यस गौरव यात्राको पूरा नाम नेपाल सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको गौरव यात्रा हो । छोटकरीमा नेपाल गौरव यात्रा भन्ने गरेका छौँ । सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू भन्नाले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका आधारमा सिमान्तकृत वर्ग हो । यौन विशेषता (Sex Characteristics) का आधारमा सिमान्तकृत अन्तरलिङ्गी व्यक्ति (Intersex persons); लैङ्गिक पहिचान (Gender identity) का आधारमा सिमान्तकृत पारलैङ्गिक महिला (Trans woman) तथा पारलैङ्गिक पुरुष (Trans man) अर्थात् पारलैङ्गिक व्यक्ति (Transgender person) तथा गैर-द्वयसांखिक व्यक्ति (Non-binary person); एवं यौन अभिमुखिकरण (Sexual orientation) का आधारमा सिमान्तकृत समयौनिक (Homosexual), द्वियौनिक (Bisexual), सर्वयौनिक (Pansexual), अयौनिक (Asexual) लगायतका समूहहरूलाई बुझाउँदछ। सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूलाई एकमुष्ट क्वयेर (Queer) पनि भन्ने गरिन्छ । नेपालको कानूनी क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पनि भन्ने गरिएको छ । यस वर्ष मिति नेपाल संवत् ११४४ तछला २२ तदनुसार विक्रम संवत् २०८१ जेठ २६ गते बिहान १० बजे देखि बेलुकी ४ बजेसम्म कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रमको योजना अनुसार बिहान ११ बजे देखि अपरान्ह १२ बजेसम्म हामी रत्नपार्क अगाडीको शान्ति बाटिकामा भेला हुनेछौँ । अपरान्ह १२ बजे र्यालि हिँड्नेछ । शान्ति बाटिकाबाट र्यालि निस्किएर दाहिने मोडी भ्वताहिति जानेछ । त्यहाँबाट दाहिने मोडी दरबार हाइ स्कुल अगाडीबाट जमल आकासे पुल भएको चौबाटो पुग्नेछ । त्यहाँबाट दाहिने मोडी विश्वज्योती हल अगाडीबाट दरबारमार्ग तर्फ लाग्नेछ । दरबार मार्गबाट नागपोखरीको बाटो हुँदै नक्साल तर्फ लागी नारायण चौरमा पुगी र्याली समापन हुनेछ । नारायण चौरमा अपरान्ह १ बजे देखि दिउँसो ४ बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । त्यसमा गायन, नृत्य, कविता वाचन लगायत विविध प्रकृतिका प्रस्तुतीहरू रहनेछन् ।