नीति तथा कार्यक्रम सरकारले आज प्रस्तुत गर्दै
रासंसा/काठमाण्डौ, ज्येष्ठ १,
मुलुकमा सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। कार्यसूचीअनुसार आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। दोस्रो बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन पनि गरिनेछ। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले राष्ट्रपतिबाट प्रस्तुत भएको नीति तथा कार्यक्रम टेबुल गर्नेछन् भने ‘सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८१ जेठ १ गते गर्नुभएको सम्बोधनका लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ’ भनी धन्यवाद प्रस्ताव पारित गर्नेछन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीद्वारा लगानी सम्मेलनका लागि ल्याइएको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने कार्यसूची तय गरिएको छ। तर कार्यसूचीलाई अन्तिम रूप दिनका लागि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछाने संलग्न रहेको सहकारीको छानविन समिति गठन नभएसम्म संसद् अवरुद्ध गर्ने चेतावनी दिइरहेको छ। तर, सङ्घीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पूर्व निर्धारित कार्यक्रमबमोजिम नै कार्यक्रम तय गरेको छ।