परराष्ट्रमन्त्री साउदको भनाई मन्त्री हेरफेर भए पनि गठबन्धन पाँच वर्ष टिक्छ :
रासंसा/काठमाण्डौ, फाल्गुण १९,
मुलुकमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन्। ‘जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुन सक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुन सक्छ। तर, गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ,’ मन्त्री साउदले भने, ‘प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ।’ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको बताए। फरक प्रसंगमा मन्त्री साउदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले भारतबाट हुन सक्ने सहयोगका लागि विभिन्न भ्रमणका वेला गम्भीर रूपमा कुरा राखेको बताए। मन्त्री साउदले सिमराको रुट अत्यन्त व्यस्त भएकाले भारतसँग थप रुटको विषयमा कुरा भइरहेको बताए। साना विमानका लागि रुट पाइए पनि बोइङलगायत रुटका लागि सरकार लागिपरेको उनले स्पष्ट पारे। उनले विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि यसको मोडलका बारेमा चर्चा भइरहेको जानकारी दिए।