उपाधी जित्नबाट चुकेपछि दीपा भावुक बनिन
रासंसा/काठमाण्डौ, फाल्गुण १८,
मुलुकमा वाफ वुमेन्स च्याम्पियनसिपको उपाधी जित्नबाट नेपाल चुकेपछि खेलाडीहरू भावुक बनेका छन्। साउदी अरबमा नेपाली दर्शकको भरपुर साथ र उच्च मनोबलले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरेको नेपाली खेलाडी प्रतियोगितामा पराजित भएपनि सबैको मन जित्न भने सफल भएका छन्। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिपमा सहभागीता जनाउँदै फाइनलसम्मको यात्रा तय गरेको नेपाली महिला टोलीको प्रदर्शनले विश्व फुटबल जगतलाई आफूतिर तान्न सफल भयो। जारी प्रतियोगिताका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपाल उपाधी जित्नबाट भने बञ्चित भयो। निर्धारित ९० मिनेटको खेलमा ५ पटकको विजेतासँग जुझेर २–२ को बराबरीमा खेललाई ल्याएको नेपाली टोली पेनाल्टी सुटआउटमा भने चुक्यो र उसको सपना अधुरै रह्यो। उपाधिको नजिक पुगेर पनि जित्न नसकेपछि नेपाली टिमकी दीपा शाही निकै भावुक बनिन्। नेपालका लागि दीपासहित गीता राना र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन्। उपाधी गुमाउनुपरेको पीडाका कारण राम्रोसँग बोल्न समेत नसकिरहेकी दीपाले नेपालकी स्ट्राइकर सावित्रा भण्डारीलाई मिस गरेको बताइन्। खेलपछि कुराकानी गर्ने क्रममा उनको गहभरी आँशु सबैले सहजै देखे। आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’ भारी स्वरमै उनले भनिन्, ‘हामीले ९० मिनेट फाइट गयौँ। खेलमा सबैभन्दा धेरै सावित्रा दिदीलाई मिस गयौँ। उनको उपस्थिति भएको भए सायद आज उपाधी हाम्रो हुन्थ्यो होला।’