क्रिप्टो र विदेशी मुद्राको क्यासिनोभित्र अनलाइन जुवा, अवैध कारोबार
रासंसा/काठमाण्डौ, फाल्गुण १८,
मुलुकमा काठमाण्डौको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा रहेको क्यासिनो प्यालेसमा अनलाइन जुवाका साथै क्रिप्टो कारोबार तथा विदेशी मुद्राको समेत अवैध कारोबार हुने गरेको दाबीसहित प्रहरीले मुद्दा दायर गरेको छ । अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका तीन कर्मचारीमाथि अनुसन्धान गर्ने क्रममा क्रिप्टो र विदेशी मुद्राको समेत अवैध कारोबार हुने गरेको पुष्टि भएको हो । क्यासिनोमा आबद्ध अन्य भारतीय सञ्चालकहरू अशोककुमार क्षेत्रापाल, बलदेवराज अरोरा, मुकेश गुलाटी र पानदुरांग नायकविरुद्ध मुद्दा दायर भएको हो । फरार रहेका उनीहरू क्यासिनो प्यालेस सञ्चालन गर्ने कम्पनी एटलान्टिक रिक्रियसन प्रालिका सञ्चालक हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत १८ माघमा सो क्यासिनोमा छापा हानी तीन कर्मचारीलाई पक्राउ गरेको थियो । बजार व्यवस्थापक ऋषव पावा, व्यवस्थापक गौरव चोप्रा र बजार प्रतिनिधि गुलाब सिंहलाई अनलाइन जुवामा प्रयोग गरिएका सामग्रीसहित पक्राउ गरेको थियो । बयानको क्रममा उनीहरूले सञ्चालककै निर्देशनअनुसार अनलाइन जुवा खेलाउने गरिएको बताएका छन् । सो क्यासिनोका मुख्य सञ्चालकद्वय जनकपुरका विनयबहादुर साह र भारतीय नागरिक तरुण खत्तेरसहित नौजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ । अनलाइन जुवाको कसुरमा मुलुकी अपराध संहिता तथा क्रिप्टो र विदेशी मुद्राको अवैध कारोबारको कसुरमा नेपाल राष्ट्र बैंक ऐनअनुसार मुद्दा दायर भएको हो । क्यासिनोमा आबद्ध अन्य भारतीय सञ्चालकहरू अशोककुमार क्षेत्रापाल, बलदेवराज अरोरा, मुकेश गुलाटी र पानदुरांग नायकविरुद्ध मुद्दा दायर भएको हो । फरार रहेका उनीहरू क्यासिनो प्यालेस सञ्चालन गर्ने कम्पनी एटलान्टिक रिक्रियसन प्रालिका सञ्चालक हुन् । पक्राउ परेका बजार प्रबन्धक पावाले सञ्चालकरूकै निर्देशनमा आफूहरूले अनलाइनमार्फत २४सै घन्टा जुवा खेलाउने गरेको बयान दिएका छन् । जब कि लाइभ जुवा खेलाउन मात्र सो क्यासिनोले अनुमति लिएको थियो । नेपालमा अनलाइन जुवा प्रतिबन्ध छ । त्यस्तै, उनको मोबाइलमा बाइनान्स एप पनि भेटिएको प्रहरीले जनाएको छ । जसमा ४० लाख १४ हजार रुपैयाँबराबरको कारोबार गरेको उनले स्वीकार गरेका छन् । अन्य मोबाइलमार्फत पनि क्रिप्टोको सो क्यासिनोबाट ठूलो कारोबार भएको हुन सक्ने प्रहरी आशंका छ ।
