भर्ना खर्च नहुँदा एमबीबीएस छात्रवृत्ति पाए पनि पढ्न पाएनन्
रासंसा/कैलाली, माघ २१,
मुलुकमा रोहित नेपालीले भारतको पन्जाबमा चौकीदारीबाट गरेको कमाइ घर पठाएपछि बल्ल घरमा चुलो बल्छ । कैलालीको गौरीगंगा नगरपालिका–६ कठौतिया वनबेहडा घरभएका राहुल ६ सन्तानमध्ये माइला हुन् । दुई कठ्ठा ऐलानी जग्गामा उनको आठ जनाको परिवार छ । अत्तरियाकै दुर्गालक्ष्मी नमुना माविमा विज्ञान विषय लिएर १२ कक्षामा पनि ए ग्रेड ल्याउन सफल भए । सरकारी विद्यालयमा राम्रो पढाइ नै हुँदैन भन्ने भाष्य राहुलले गलत सिद्ध गरिछाडे । पढाइमा अब्बल राहुललाई एसईई गर्दा डाक्टर बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । घरको कमजोर आर्थिक अवस्था, बुवाले भारतमा चौकीदारी गरेर पठाएको पैसाले परिवारको छाक टार्नुपर्ने परिस्थितिले उनी त्यो सपना देख्न पनि डराउँथे । तर, एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएपछि उनमा आँट भरिएर आयो । राहुलले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले गत कात्तिकमा लिएको प्रवेश परीक्षा उत्तीर्ण गरे । तर, आर्थिक अभावमा उनी भर्ना हुनबाटै वञ्चित भएका छन् । सानैदेखि पढाइमा मेधावी राहुलले गोदावरी नगरपालिकास्थित समैजी माध्यमिक विद्यालय मजगाउँबाट एसईईमा ए प्लस ल्याए । एमबीबीएस प्रवेश परीक्षा तयारीका लागि सहरमा बस्न आर्थिक अवस्था थिएन । त्यसैले घरमै बसेर उनले परीक्षा तयारी गरेका थिए । ‘प्लस टुमा फिजिक्स पढाउने शिक्षक अनिल ओझाले केही बुक दिएर धेरै सहयोग गर्नुभयो,’ उनले भने, ‘परीक्षा दिने बेला नै हो पहिलो पटक मैले काठमाडौं देखेको ।’ उनको नाम युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भयो । त्यहाँ भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ सम्म तोकिएको थियो । तर, पैसाको जोहो गर्न सकेनन् । कलेजमा ४६ लाख कुल शुल्कमध्ये १५ लाख रुपैयाँ भर्ना हुने बेलै बुझाउनु पर्ने भनिएको थियो । त्यति पैसा जुटाउन सक्ने उनको परिवारसँग कुनै उपाय भएन । उनले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका कर्मचारी, मन्त्री सबैसँग हारगुहार गरे । आफ्नो भर्ना छुट्न थालेको जानकारी पनि गराए । प्रवेश परीक्षामा उनको नाम निस्कियो तर छात्रवृत्ति पाउने सूचीमा परेन । शुल्क तिरेर पढ्न पाउने सूचीमा नाम निस्किएपछि उनलाई झन् उकुसमुकुस भयो । किनकि परिवारको आर्थिक हैसियत राम्रो थिएन । त्यसैबीच उनले सुदूरपश्चिम प्रदेश सरकारले एमबीबीएस छात्रवृत्ति दिन्छ भन्ने थाहा पाए । मंसिरमा उनी सामाजिक विकास मन्त्रालयले लिएको छात्रवृत्ति छनोट परीक्षामा सहभागी भए । पुसमा नतिजा प्रकाशित हुँदा राहुल पनि छानिए । मन्त्रालयले माघ ३ गते ‘जो जससँग सम्बन्धित छ’ ब्यहोराको पत्र लेख्दै उनी छात्रवृत्तिमा छनोट भएको ब्यहोरा उल्लेख भएको पत्र राहुलको हातमा थमायो । उनी त्यही पत्र लिएर भैरहवा पुगे । तर, कलेजले मानेन । ‘पत्रमा शुल्कसम्बन्धी कुरा लेखिएको छैन भन्दै फर्कायो,’ राहुलले भने, ‘त्यहीदिन भर्नाको अन्तिम थियो । त्यसपछि त मलाई डाक्टर पढ्ने सपना चकनाचुर भएजस्तै लाग्यो ।’ त्यही कारण राहुललाई कुनै सहयोग गर्न नसकिएको उनले बताए । प्रदेश सरकारको छात्रवृत्तिले विपन्न परिवारका विद्यार्थीलाई तत्काल राहत नपुर्याउने अवस्था रहेको उनले स्वीकारे । ‘कलेजले तीन किस्तामा शुल्क माग्छन्, हाम्रो निर्देशिकामा पूर्ण छात्रवृत्ति रकम पाँच किस्तामा दिने व्यवस्था छ,’ उनले भने, ‘विद्यार्थीले रकम त पाउँछन् तर उधारो छात्रवृत्तिजस्तो भएको छ । तत्काल शुल्क तिर्न नसकेर भर्नाबाटै वञ्चित हुनेका लागि अर्को वर्ष पैसा दिने कुराको कुनै अर्थ हुँदैन ।’ यता मन्त्रालयको उच्च शिक्षा महाशाखाका शाखा अधिकृत गोपालदत्त जोशी मन्त्रालयको एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका ०७४, चौथो संशोधनले नै तत्काल रकम दिने व्यवस्था नगरेको बताए । उनले भने, ‘यसपाली नाम निस्केर पढाइ सुरु गरेकालाई आगामी वर्षदेखि पाँच किस्तामा रकम उपलब्ध गराउने व्यवस्था छ ।’ गत वर्षसम्म मन्त्रालयले सम्बन्धित कलेजसँग सम्झौता गरेर रकम उपलब्ध गराउने गरेको थियो । यस वर्षदेखि सम्बन्धित विद्यार्थीलाई नै रकम उपलब्ध गराउने गरी निर्देशिका संशोधन गरिएको शाखा अधिकृत जोशीले बताए । प्रदेश सरकारले हरेक वर्ष नौ जनालाई एमबीबीएस छात्रवृत्ति दिने गरेको छ । राहुललाई अझै भर्ना पाइहाल्छु कि भन्ने आश मरेको छैन । फागुन पहिलो सातादेखि पढाइ सुरु भएपछि कलेजहरूले सिट खाली हुने अवस्थामा भर्नाको ‘र्यापअप म्याचिङ लिस्ट’ निकाल्छन् । उनी अब त्यसकैको पर्खाइमा छन् । त्यस अवस्थामा पैसा पाए आफू भर्ना हुन सक्छु कि भन्ने लागेको राहुलले बताए । ‘आशा छ त्यसबेला पनि मेरो नाम कतै न कतै आउँछ होला तर त्यसबेला पनि पैसा पाउँछु कि पाउन्न कुन्नि,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयमा हारगुहार गरिरहेकै छु ।’