सुर्खेत र दैलेखमा बालकुमारी घटनाले सरकारी गाडी चलेनन्
टिकाराम सिङ/सुर्खेत, पौष १६,
मुलुकमा ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा प्रहरीको गोली लागेर दुई युवकले ज्यान गुमाएकाे घटनामा सुर्खेत र दैलेखमा आन्दोलन चलिरहेको छ। आन्दोलनको पहिलो निशाना नै सरकारी गाडी भएकाले हाल सुर्खेत र दैलेखमा सरकारी गाडी चल्न सकिरहेका छैनन्। प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा, परिवारका सदस्यलाई रोजगारीदेखि उचित क्षतिपूर्ति समेत माग गर्दै आइतबार सुर्खेतसहित दैलेखमा सरकारी गाडी पूर्ण रुपमा बन्द आह्वान गर्दै १२ बजेदेखि १ बजेसम्म सार्वजनिक गाडीसमेत बन्द गरे। पूर्व निर्धारित कार्यक्रम भन्दै सरकारी गाडी पूर्णरुपमा बन्द घोषणा गरिएको छ। पिडित आफन्त तथा युवाहरूले शनिबार र आइतबार वीरेन्द्रनगर र दैलेखमा यातायात ठप्प पारेका थिए। सोमबार पनि थप कार्यक्रमहरु गरिने जनाइएको छ। श्रोतका अनुसार केही दिन सरकारी गाडी हिँडेमा असुरक्षा हुने देखिएको छ। सयौंको संख्यामा सहभागी युवाहरुले वीरेन्द्रनगरको ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए। त्यस्तै दैलेख बजारमा पनि बन्द आह्वान गरिएको थियो। सरकारले माग पुरा नगरुन्जेलसम्म आफूहरूको आन्दोलन नरोकिने आन्दोलनका अगुवा नविन योगीले बताए। आन्दोलनका कारण वीरेन्द्रनगरसहित आसपास चल्ने सवारी साधनहरु ठप्प भएका थिए। बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। साथै भौतिक मन्त्री प्रकाश ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो।