सुर्तीजन्य पदार्थको बिक्रीमा तत्काल कार्यान्वयनमा काठमाडौं महानगरको प्रतिबन्ध नहुने
रासंसा/काठमाण्डौ, मार्ग २९,
मुलुकमा उत्पादन गर्ने उद्योगलाई मर्का पर्ने भन्दै महानगरको निर्णय कार्यान्वयन नगराउन उच्च अदालतले दियो अन्तरिम आदेश
काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नहुने भएको छ । शुक्रबार उच्च अदालत पाटनले यस विषयमा अन्तरिम आदेश जारी गरेपछि महानगरको प्रतिबन्ध तत्कालका लागि लागू नहुने भएको हो । ‘… बिक्री–वितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले निवेदकहरूले कानुनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपूरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको हुँदा यसमा सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा मिति २०८०÷१०÷१२ जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू–नगराउनू भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा छ । न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगलाई क्षति पुग्ने भन्दै निवेदकका पक्षमा अन्तरिम आदेश जारी गरेको हो । महानगरको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, पूर्णमान शाक्यसमेतका कानुन व्यवसायीले बहस गरेका थिए । श्रीराम टोबागो उद्योग प्रालिसमेतले दर्ता गराएको रिटमाथि यस्तो आदेश आएको हो । काठमाडौं महानगरपालिकाले १२ मंसिरमा सूचना निकाल्दै महानगरको जनस्वास्थ्य ऐनअनुसार प्लास्टिक प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागलगायत सूर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाएको थियो । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ मा पनि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन गर्न नहुने व्यवस्था गरेको छ । प्लास्टिक वा बट्टामा बिक्री हुने यस्ता पदार्थले मानव स्वास्थ्यका साथसाथै भूमि प्रदूषित हुने, ढल–नाला जाम हुने, सहरको सौन्दर्य बिगार्नेसमेतका असर गरेको हुँदा बिक्री–वितरणमा रोक लगाउनुपरेको तर्क महानगरको छ । महानगरका शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, सार्वजनिक शौचालय, छात्रावास, धर्मशाला, प्रतीक्षालयजस्ता स्थानमा समेत सुर्तीजन्य पदार्थको खुला रूपमा बिक्री–वितरण भइरहेको भन्दै महानगरले प्रतिबन्ध लगाएको थियो ।