देश-विदेशका प्रतिक्रियावादी शक्तिले आक्रमण गर्दा पनि जनताले एमालेलाई लोकप्रिय बनाए : ओली

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २६,

मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सबै शक्ति एकजुट भएर एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ताले जोगाएको बताएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश-विदेशका प्रतिक्रियावादी शक्ति एकजुट भएर आक्रमण गर्दा पनि लोकप्रिय पार्टी बनाएको भन्दै जनतालाई धन्यवाद दिएका हुन्। उनले रामेछापका तीनलालको योगदानको समेत चर्चा गरे। ओलीले पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी स्थापना गर्दा खेलेको भूमिकाको प्रसंशा गरे। उनले भने, ‘तीन लाल स्मृति पार्कमा उभिएर म आजको यात्रा हाम्रा ऐतिहासिक धरोहर तीन लालमा समर्पित गर्दछु।’ उनले नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टी र राष्ट्रिय शक्तिको रूपमा उठाएको भन्दै कार्यकर्ता प्रति आभार व्यक्त गरे। ओलीले भने,‘ तीन वर्ष अगाडि कम्युनिष्ट पार्टीको खोल ओडेका, बाघको छाला लगाएका तर स्यालहरुले, त्यस्ताले पार्टी सिद्ध्याउन खोजे, पार्टी कब्जा गरे र हामीलाई त पार्टीको साधारण सदस्यबाट नै निकालिदिए। तर जनताले देशको सबैभन्दा लोकप्रिय पार्टी बनाए।’ संकल्प यात्रामा नागरिकबाट अथाह साथ, समर्थन र उत्साह पाएको बताउँदै उनले एमालेमा देश बनाउने संकल्प थप जागेको धारणा राखे। ‘यो जाँगरलाई देश बनाउने अठोट र संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु’, ओलीले भने,‘देशको अवस्था नराम्रो भएकोले राम्रो अवस्थामा नबदली हुँदैन। यसको लागि नागरिकको साथ र सहयोग आवश्यक छ।’ प्रमुख पार्टी हुनको लागि, सरकारमा जानको लागि वा मन्त्री हुनको लागि मात्र एमाले नबनेको उनले स्पष्ट पारे। अहिले अर्थतन्त्र ओरालो लागेको र युवा पलायन बढेको भन्दै ओलीले चिन्ता व्यक्त गरे। ‘सरकार कर्मचारीलाई तलब खुवाउन समेत ऋण काढ्ने अवस्थामा पुगेको छ। सरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको छ। यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ।’,ओलीले भने, ‘यो वर्तमान गठबन्धनले राष्ट्रियताको संरक्षण र विकास गर्छ भन्ने कुरा त झन् सोच्दै नसोचे हुने हुन्छ।’ पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक बृद्धिदर ह्वात्तै घटेको दाबी गरे। सरकारले ल्याएको बजेटले देशलाई अधोगतितिर धकेल्नेबाहेक केही काम नगर्ने उनको भनाई छ। अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीको भनाई छ। राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्र निर्माण र सुशासन कायम गर्न एमालेले बहुमत ल्याउनुपर्ने आवश्यक रहेको धारणा राखे। त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएको उनले स्पष्ट पारे। उनले अरु कसैले देश नबनाउने भएकाले आफैं एकजुट भएर देश बनाउन लाग्नुपर्ने बताए। नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ। उक्त अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो। संकल्प यात्रामा एमाले अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारीसहितको नेतृत्व सहभागी छ। निर्वाचनको समयमा रामेछापमा नआएका एमालेका शीर्ष नेतृत्वले पनि पुष्पलालको जिल्लामा पुगेर अन्तर्क्रिया गरेका छन्। एमालेले कम्युनिस्ट नेताको नाममा सुरु भएको लोकमार्ग निर्माणमा तीव्रता, तराईलाई गाउँबस्तीसँग जोड्ने, बढ्दो बसाईसराइलाई कम गर्ने, विकासका गतिविधिलाई बढावा दिने र जनतासँग सम्बन्ध स्थापित गर्ने गरी अभियान सुरु गरेको हो। जनतासँग प्रत्यक्ष जोडिने र संगठन चलायमान बनाउने एमालेको रणनीति छ। ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने दाउ रहेको एमाले नेताहरू बताउँछन्। बैतडीको झुलाघाटबाट सुरु भएको लोकमार्ग पाँचथरको चिवाभञ्ज्याङमा टुंगिनेछ। यो अभियान विभिन्न जिल्लामा जनतासँग भेटघाट, आमसभा गर्दै पुस २ गते १९औं दिनमा समापन हुँदैछ।

Like