स्वदेशमा सम्पत्तिको, विदेशमा ज्यानको विवाद
रसंसा/महोत्तरी, मंसिर ९,
मुलुकमा वैदेशिक रोजगारीमा श्रीमान् गुमाएका महिला एकातिर शोक सहिरहेका छन् भने अर्कोतिर मृतकका नाममा पाइने राहत, बिमा र क्षतिपूर्ति रकमलाई लिएर परिवारभित्रै कलह उत्पन्न भएपछि असुरक्षितसमेत छन् भने तेइस वर्षकी रानी पासवानले यो उमेरमा जे जस्ता कहालीलाग्दा घटना भोगिन्, त्यसको वृत्तान्त एकैछिनमा भन्न उनी सक्दिनन् । १९ वर्षमा महोत्तरीको भंगाहा–७ का छोटे पासवानसँग विवाह गरेको चार वर्ष नबित्दै २ छोरीकी आमा भइसकेकी थिइन् । डेढ लाख कर्जा लिएर २०७८ चैतमा वैदेशिक रोजगारीका लागि साउदी अरब उडेका उनका श्रीमान् ९ महिनापछि बाकसमा फर्किए । उनले सुनाइन्, ‘त्यसपछि मेरा झनै धेरै दुःखका दिन सुरु भए ।’ १८ जनाको संयुक्त परिवारभित्र उकुसमुकुसमा दिन काटेकी रानीलाई पति मृत्युको शोक छँदै थियो, त्यसपछिका दिनमा परिवारले गर्ने व्यवहारले थप प्रताडित बनायो । भन्छिन्, ‘श्रीमान् नभएपछि परिवारमा सबैले हेप्ने रहेछन् ।’वैदेशिक रोजगारीमा श्रीमान् गुमाएका महिलाले एकातिर शोक सामना गरिरहेका हुन्छन् भने अर्कोतिर परिवारकै सदस्यबाट हुने हेलाहोचो र अपमान । धेरैजसो यस्तो अपमान र हेपाइमा वैदशिक रोजगारीमा मृत्यु हुनेका पारिवारिक सदस्यले पाउने क्षतिपूर्ति र बिमाको रकम कसले लिने भन्ने स्वार्थ पनि मिसिएको हुन्छ । जस्तो कि रानीले नै सुनाइन्, ‘श्रीमान्को शव लिन काठमाडौं जान पनि परिवारले मलाई दिएन । उताबाट क्षतिपूर्ति रकम आउँछ भन्ने थाहा पाएकाले मेरो हातमा पैसा नपरोस् भनेर रोकिएको रहेछ ।’ मृत्युपछि प्राप्त हुने बिमा रकम र वैदेशिक रोजगार बोर्डले दिने क्षतिपूर्तिे रकम हातमा पर्न नदिन परिवारले खेल्ने ‘राजनीति’ मधेशका गाउँ गाउँमा भेटिन्छन् । रानीले सुनाइन्, ‘विदेशबाट आएको ४ लाख रुपैयाँ जेठाजुले शवसँगै हातमा लिएर आए । जब मेरो हातमा बोर्डबाट ७ लाख रुपैयाँ आयो, त्यसपछि परिवारमा झगडा सुरु भयो ।’ रानीका अनुसार श्रीमान्को मृत्युपछि बिमाबाट आएको १४ लाख रुपैयाँ बुझे पनि उनीमाथि परिवारले ज्यानै लिनेसम्मको हर्कत गर्यो । उनले भनिन्, ‘कलह बढ्दै गएर ज्यानै लिने खतरा भएपछि ३ र २ वर्षकी छोरीसहित माइतीमा आएर बसें ।’ रानीकी आमा विनोदकुमारी देवीले भागाभाग गरेर ज्यान बचाएर आएकी छोरीलाई यही अवस्थामा घर पठाउन सक्ने अवस्था नरहेको बताइन् । सात महिनायता रानी सुगास्थित माइतीमै छिन् । विनोदकुमारीले भनिन्, ‘बुहारीलाई राम्रो गरे हामी ज्वाइँकै घरमा छोरी पठाउन चाहन्छौं ।’ रानीका समस्या यत्तिमै सकिएन । क्षतिपूर्ति रकम राख्न ससुरा रामसेवक पासवानको समेत हस्ताक्षर रहने गरी संयुक्त खाता खोलियो । माइतीसँग सल्लाह गर्न नसकोस् भनेर उनको मोबाइल खोसिदिए । घरबाट निस्कन दिएनन् । पैसा निकालेर दिन दबाब दिए । असुरक्षित महसुस भएपछि रानी प्रहरी चौकीमा पनि पुगिन् । तर, त्यसपछि उनको घरसँग झनै दूरी बढ्यो । दुई छोरीको जन्मदर्ता र रानीको नागरिकतासहित विवाह दर्तासमेत परिवारले खोसर राखेका छन् । कागजपत्रकै अभावमा रानीले विधवा भत्ता र बालबालिकाले वैदेशिक रोजगार बोर्डबाट पाउने शैक्षिक छात्रवृत्तिको रकममा समेत दाबी गर्न सकेकी छैनन् । रानीका जेठाजु ललन पासवानले भने सबै गरेर २५ लाख क्षतिपूर्ति, राहत र बिमा रकम आएको बताए । उनले भाइ विदेश उड्दा लिएको २ लाख कर्जा अहिले बढेर २ लाख ७० हजार भएको र उक्त कर्जासमेत नतिरी रानी घरबाट हिंडेको बताए । उनले लगाएको कुटपिट र ज्यान मार्ने धम्कीको आरोप निराधार भएको बताउँदै उनले भने, ‘जन्मदर्ता र विवाह दर्ताको कागज उसैले हराएको हो । अरू आरोप सबै झूटो हो ।’ रानीले भोगेको व्यथा मधेशको साझा कथा हो । ६ वर्ष पहिले महोत्तरीको बर्दिवास–१२ स्थित विजलपुराका धनवीर महतोसँग विवाह गरेकी धनुषा लक्ष्मी निवासकी विमला कुशवाह पनि अहिले रानीजस्तै माइतीमा बसिरहेकी छन् । उनको कथा पनि रानीको भन्दा फरक छैन । छोटेको मृत्युपछि क्षतिपूर्ति रकम लिन पहल गरिदिएका भंगाहा–७ का वडाध्यक्ष नरेश साह सोनारले रानीको बसाइ परिवारमै होस् भनेर निकै प्रयास गरे पनि सम्भव नभएको बताए । ‘नियम–कानुन बेग्लै हुन्छ,’ उनले भने, ‘परिवारलाई धोका दिएर गएकाले समाजमा मिलाउने हिसाबले कुरा गरिरहेको छु तर रानीले मानिरहेकी छैनन् ।’ २०७६ फागुनमा उनका श्रीमान् धनवीर वैदेशिक रोजगारीका लागि मलेसिया पुगे । २०७९ फागुनमा स्वदेश फर्किने योजना थियो । तर, कार्तिक २९ गते उनको मृत्यु भएको खबर आयो । ‘उहाँसँग कुरा नभएको दुई दिन भएको थियो,’ विमलाले भनिन्, ‘एक्कासि परिवारमा कुनै दुर्घटनामा घाइते भएको भनेर रुवाबासी सुरु भयो । तर परिवारलाई थाहा भए पनि मलाई पछि थाह भयो, उनको त मृत्यु नै भैसकेको रहेछ ।’ विमलाका दाजु सन्तोष महतोले क्षतिपूर्ति रकमका पछि सबै परिवार लागिपरेकाले बहिनीको ज्यान बचाउन आफैंसँग राखेको बताए । ‘बुहारी उनीहरूकै हो,’ सन्तोषले भने, ‘पैसा पनि उनीहरूकै हो, तर पैसा दिएपछि त्यही घरमा बहिनीले बस्न पाउँछे भन्ने विश्वास हामीलाई छैन ।’ मृत्युको पुष्ट खबर आफूले पाउनुअघि नै धनवीरको शव गाउँमा ल्याइएको विमलाले बताइन् । सद्गतपछि सुरु भयो, परिवारभित्रै कचिंगल । यसको कारण केही थिएन, मृत्युपछि प्राप्त हुने बिमा रकम र सरकारले दिने राहत रकम कसले लिने भन्ने विवाद । उनले सुनाइन्, ‘मृत्युपछि आएको पैसाको विषयमा भएको छलफल बिस्तारै झगडामा बदलियो अनि त म माइतीमा आएर बस्न बाध्य भएँ ।’ उनका अनुसार बिमा र राहत रकमबाट घरको सबै कर्जा तिर्नुपर्ने बताएपछि कलह सुरु भएको थियो । विमलाले आफ्नो तर्क सुनाइन्, ‘मैले बच्चा हुर्काउन र पढाउन बचत गर्नुपर्ने भएकाले पैसा दिन नसक्ने बताएँ । त्यसपछि परिवारमा बस्न नसक्ने अवस्था भयो ।’उनले देवर नन्दले पैसा मागेको र नदिए निकै अप्ठ्यारो पर्ने भनी धम्क्याएपछि माइती पुगेको बताइन् । ५ वर्षकी छोरी आशिकालाई लिएर ८ महिनायता उनी माइतीमै छिन् । धनवीरका परिवारले भने बुहारीलाई कुनै तनाव नदिएको दाबी गरे । ससुरा पीताम्बर महतोले हातमा पैसा पाएपछि बुहारी आफैँ परिवर्तन भएको आरोप लगाए । पीताम्बरले छोराले भनेरै आफूले पक्की घर बनाउन १५ लाख कर्जा दिएको र अहिले सोही कर्जा तिर्न मासिक २५ हजार किस्ता तिरिरहेकाले आफूले बुहारीबाट आर्थिक सहयोग मागेको बताए । धनवीरकी दिदी रीताकुमारी माइती नजिकैको बिजलपुराको स्वास्थ्य चौकीमा काम गर्ने भएकाले अहिले माइतीमै छिन् । भाइको मृत्युपछि आफूले झन्डै मानसिक सन्तुलन गुमाएको बताउँदै त्यतिबेला आफूले भाइबुहारीलाई के के भने भनेर होस नभएको बताइन् । उनले आफूले बुहारीसँग पछि माफी पनि मागेको बताउँदै भनिन्, ‘घर–जग्गा, सम्पत्ति सबै तिम्रै भएपछि ऋण पनि तिम्रै हो भन्दा उनी घर छोडेर हिँडिन् ।’ परिवारले ५ लाख रुपैयाँ माग गरिरहेको बताउँदै १० र ३ वर्षका दुई छोरी र ११ वर्षको एक छोरा हुर्काउने दायित्वका लागि पनि आफूले परिवारले भनेजति पैसा दिन नसक्ने सुनाइन् । भनिन्, ‘श्रीमान्ले कमाएर सन्तानकै लागि भनेर पक्की घर बनाए । तर, उनी आफैं बस्न पाएनन् । अब यो घर म कसोगरी छाडेर जाऊँ ? श्रीमान्को मृत्युपछि परिवारमा कलह सुरु भए पनि उनी भिन्न भएर छुट्टै भान्सा गरेर बसेकी छन् । उनले क्षतिपूर्ति रकममा परिवारको दाबी अहिलेसम्म कायमै रहेको बताउँदै भनिन्, ‘पैसाकै कारण ससुरा, जेठाजु र जेठानीसँग बोलचाल बन्द भएको छ ।’ घरमा पारिवारिक किचलो सुरु भएपछि जनकपुरस्थित माइतीबाट आफूलाई बोलाए पनि तीन बच्चाको हक र अधिकारका लागि आफू सहेरै भए पनि घरमै बसिरहेको उनले बताइन् । रानी र विमलाको जस्तै तर थोरै फरक कथा पिपरा–९ की २८ वर्षीया निलमदेवी दासको पनि छ । वैदेशिक रोजगारीमा साउदी अरब गएका उनका पति वीरेन्द्र दासको गत जेठमा मृत्यु भयो । त्यसपछि सुरु भयो परिवारमा किचलो । मृत्युपछि प्राप्त हुने क्षतिपूर्ति रकममा परिवारले दाबी गरेका कारण दिनरात घरमा मानसिक तनाव हुने गरेको उनले बताइन् ।निलमका अनुसार श्रीमान्को मृत्युपछि आउने रकम श्रीमतीले बुझेपछि उसले अर्को बिहे गर्छे भन्ने आरोप सुन्नुपरिरहेको छ । ‘छिमेकीले समेत अर्को बिहे गर्ने होला कि भनेर सोध्छन्,’ उनले भनिन्, ‘सबैले ठानेका छन् यो पैसा लिएर भाग्छे, परिवारले पनि त्यही ठानेको छ तर म यही परिवारमा बसेर आफ्ना छोराछोरीको जिम्मेवारी निभाउन चाहन्छु ।’ सामी परियोजनाको महोत्तरी कार्यालयका अनुसार जिल्लाबाट वैदेशिक रोजगारीमा गएका मध्येबाट महिनामा ३ देखि ५ जना मानिसको मृत्यु हुन्छ । उक्त परियोजनाको महोत्तरी प्रमुख रामभजन महतोले यस्तो घटनामा क्षतिपूर्ति रकम पाउने महिला र बालबालिका पारिवारिक हिंसामा पर्ने गरेकाले आफूहरूले क्षतिपूर्ति रकम दिलाउन र पीडितलाई न्याय दिलाउन सहयोग गरिरहेको बताए । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशबाट १ लाख ४६ हजार मानिस वैदेशिक रोजगारीमा गएका छन् । विभागका निर्देशक कविराज उप्रेतीले चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिनामा मधेश प्रदेशबाट २६ हजार ७ सय ७२ मानिस श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको जानकारी दिए । तीमध्ये महोत्तरीबाट ४ हजार ६६ श्रमिक वैदेशिक रोजगारीमा छन् । यो संख्याले महोत्तरीमा वैदेशिक रोजगारीमा आश्रित परिवारको संख्या मात्र बुझाउँदैन, यसबाट आइपर्ने समस्या कति बृहत् छन् भनेर देखाउँछ । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले वैदेशिक रोजगारीमा मृत्यु हुने परिवारले पाउने क्षतिपूर्ति रकम मृतककी श्रीमतीले लिएपछि परिवारका अन्य सदस्यले महिलामाथि घरायसी हिंसा गर्ने घटना महोत्तरीमा व्याप्त रहेको बताए । यस्ता कैयन् घटनामा पीडितहरू न्यायको अपेक्षा राख्दै जिल्ला प्रशासनमा आइरहेको उनले बताए । प्रजिअ गेलालले महिलामाथि क्षतिपूर्ति रकमकै कारण सामाजिक, सांस्कृतिक, आर्थिक र शारीरिक हिंसा हुने गरेको तथा कतिपय परिवारबाट समेत विस्थापित हुनुपरेको बताए । उनले भने, ‘पीडितलाई संरक्षण गर्दै न्याय दिन स्थानीय तह, जनप्रतिनिधि र सम्बन्धित सरोकारवाला सबैले चासो राख्नुपर्ने भइसकेको छ ।’ प्रजिअ गेलालले मृतककी श्रीमती र परिवार दुवैतर्फबाट रकममा दाबी आएपछि क्षतिपूर्तिको ठूलो रकमको भुक्तानी नै गर्न समस्या भएको बताए । उनले यस्तो रकम ४ करोडभन्दा धेरै रहेको बताए । ‘क्षतिपूर्ति लिने पहिलो हकवाला मृतककी श्रीमती हुन्छिन्,’ उनले भने, ‘तर परिवारले दाबी गरेपछि सहमति गरेर आउनूस् भनेर पठाउँछौं, परिवार बुहारीलाई रकम दिन सहमत नहुँदा भुक्तानी नै रोकिएको पनि छ ।’