छठको दोस्रो दिन खरना विधि सम्पन्न
रासंसा/काठमाण्डौ, मार्ग २,
मुलुकमा छठको दोस्रो दिन आज खरना विधि सम्पन्न भएको छ।चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन्। बर्तालुले आज छठको दोस्रो दिन बिहानदेखि उपवास बसी खरना विधि गरेर भगवान्लाई चढाइएको खीर सेवन गरेपछि अब एकपल्ट चौथो दिन उदयमान सूर्यको पूजा गरी अघ्र्य दिएपछि मात्र भोजन गर्नुपर्ने हुन्छ।यस अवधिमा बर्तालु पानी खाँदैनन्।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ।यस पर्वको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि विधिवत्रुपमा पर्व समापन हुनेछ। बर्तालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेदको रुपमा चढाउनुपर्ने हुन्छ । खरनामा छठपर्वको मुख्य दिन चढाउने अघ्र्य जति स्थानमा केराको पातमाथि नैवेद चढाउनुपर्ने हुन्छ।खरनामा नैवेदमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी राखिन्छ । नैवेदलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ।नैवेदलाई उत्सर्ग गरिसकेपछि बर्तालु र परिवारजनले प्रसाद ग्रहण गर्ने गर्छन्।यसरी खरना विधि सम्पन्न हुन्छ।