स्याङबोचे विमानस्थलमा दुवै खुट्टा र दायाँ हात नभएका बेलायती नागरिकले गरे स्काइड्राइभ
रासंसा/सोलुखुम्बु, कार्तिक २६,
मुलुकमा दुवै खुट्टा र दायाँ हात नभएका बेलायती नागरिकले सोलुखुम्बुको स्याङबोचे विमानस्थलदेखि २३ हजार फिट उचाइसम्म उडेको हेलिकोप्टरबाट स्काइड्राइभ गरेका छन् । दुवै खुट्टा र एउटा हात नभएका व्यक्तिले विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको यति धेरै फिट उचाइको हेलिकोप्टरबाट गरेको उनको यो साहसिक स्काइड्राइभ नै पहिलो नयाँ विश्व कीर्तिमानी भएको हुन सक्ने हिमालयन स्काइड्राइभ कम्पनीले जनाएको छ । सन् २०१० मा अफगानिस्तानको युद्धमा आफ्नो दुवै खुट्टा र एउटा हात गुमाएर शारीरिक रूपमा अशक्त ३७ वर्षीय बेलायती नागरिक जोसनन्दो बोगीले गत मंगलबार र बुधबार दुईपटकसम्म सगरमाथा हिमाल क्षेत्रको स्याङबोचे विमानस्थलमा पुगेर २३ हजार फिट उचाइको हेलिकोप्टरबाट यस्तो साहसिक स्काइड्राइभ गरेका हुन् । बेलायतको प्याराबेलम कम्पनी र नेपालको हिमालयन स्काइड्राइभ कम्पनीको संयुक्त व्यवस्थापनमा बेलायती नागरिक जोसनन्दो बोगीले यो नयाँ विश्व कीर्तिमानी कायम गर्न सफल भएको हिमालयन स्काइड्राइभ कम्पनीका निर्देशक जिनेश सिन्धुकारले बताए । हिमालयन स्काइड्राइभ कम्पनीका निर्देशक सिन्धुकारले बेलायतबाट स्काइड्राइभ गर्न आएका उनलाई काठमाडांैदेखि सोलुखुम्बुको स्याङबोचे विमानस्थलसम्म पु¥याएर स्काइड्राइभ गराउने, स्याङबोचेदेखि फाप्लुसम्मको पदयात्रा भ्रमण सम्पन्न गरी काठमाडांैबाट स्वदेश पठाउनेलगायत सम्पूर्ण काम आफूहरूले गरिदिएको बताए । यसैगरी, हिमालयन स्काइड्राइभ कम्पनीका अर्का निर्देशक तान्जिन ग्याल्जेन लामाले दुवै खुट्टा र एउटा हात नभएर पनि गत २१ र २२ कात्तिकमा दुईपटकसम्म स्काइड्राइभ गरी यस्तो नयाँ कीतिमानी राख्न सफल बेलायती नागरिक जोसनन्दो शनिबार सगरमाथा क्षेत्रबाट काठमाडौं आइपुगेको बताए । उनको यो साहसिक नयाँ विश्व कीर्तिमानी स्काइड्राइभले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउन थप सहयोग पुगेको सिन्धुकारले बताए । उनको यो साहसिक स्काइड्राइभको व्यवस्थापन गर्न पाएकोमा आफूहरूलाई निकै गौरव लागेको सिन्धुकारको भनाइ छ । नेपाल आएर यस्तो साहसिक कीर्तिमान बनाउन सफल बेलायती नागरिकको सो नयाँ रेकर्ड’bout जानकारी गराउन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हिमालयन स्काइड्राइभका निर्देशक लामाले दुवै खुट्टा र दायाँ हात नभएका व्यक्तिबाट भएको यस्तो चुनौतीपूर्ण काम सफल गराउनु आफ्नो कम्पनीका लागि पनि एकदमै ठूलो कुरा भएको बताए । शारीरिक रूपमा अशक्त देखिएका मान्छेले चाह्यो भने जस्तोसुकै काम गर्न सक्दोरहेछ भन्ने आफूहरूले महसुस गरेको उनले बताए । हिमालयन स्काइड्राइभका निर्देशक लामाका अनुसार बेलायती कीर्तिमानी स्काइड्राइभर बोगीको यो दोस्रो र तेस्रो साहसिक स्काइड्राइभ हो । दुवै खुट्टा र दायाँ हात नभएका बोगीले नेपाल आएर गरिदिएको यस्तो साहसिक कार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा पुनः एकपटक नेपालको पर्यटनलाई बुम गराउने अपेक्षा गरिएको उनले बताए । बेलायतको सेना भएर अफ्गानिस्तान पुगेका बेला सन् २०१० को हमलामा परी आफू शारीरिक रूपमा अपाङ बनेका जोसनन्दो बोगीले नेपाल आउनुभन्दा अघि पहिलोपटक बेलायतमै स्काइड्राइभ गरेको र त्यसपछि सगरमाथा हिमाली क्षेत्रको स्याङ्बोचे विमानस्थमा पुगेर लगातार दुईपटक स्काइड्राइभ गरी यो नयाँ रेकर्ड कायम गरेको लामाले जानकारी गराए । मान्छेको जीवनमा आइपर्ने कनेक घटनाक्रमले शरीरका हातखुट्टाले साथ नदिए पनि आँट ग¥यो भने सहजै लक्ष्य प्राप्तिमा पुगिन सकिने रहेछ भन्ने उदाहरणीय व्यक्ति एवं कीर्तिमानी बोगी बनेको भन्दै लामाले भने, ‘हाम्रो कम्पनीलाई पनि यो काम सफल गराउनु एकदमै जोखिम र चुनौतीपूर्ण नै थियो ।’ उनको यो नयाँ कीतिमानीसँगै धन्न आफूहरूको व्यवस्थापन सफल भएको लामाको भनाइ छ । यसलाई आफूहरूले पनि एकदमै अनौठो र साहसिक कामका रूपमा लिएको उनले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको यति धेरै उचाइबाट नयाँ विश्वकीर्तिमान बनाउन सफल बेलायती नागरिक बोगीले पनि संसारभरका विभिन्न मुलुकमध्ये नेपालको हिमाली क्षेत्रको भ्रमण आफूलाई एकदमै स्मरणदायी र रमणीय भएको बताए । स्याङ्बोचेको स्काइड्राइभ सकेर काठमाडांै आइपुगेका बोगी शनिबार नै स्वदेश फर्किएका छन् । उनले अब आफ्नो यो साहसिक कार्यलाई बेलायत पुगेर विश्व रेकर्ड दाबी कायम गराउन गिनिजबुकमा नाम लेखाउने जानकारी गराए । बोगीले यो अवस्था भएका व्यक्तिहरूमध्ये नेपालमा आएर स्काइड्राइभ गर्ने आफू नै पहिलो कीर्तिमानी भएको दाबी गरेका छन् ।