मुख्य दल काठमाडौंका मेयरको मर्यादाक्रम घटाउन एकमत
रासंसा/काठमाण्डौ, कार्तिक १४,
मुलुकमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले काठमाडौं महानगरपालिका प्रमुख (मेयर)को मर्यादाक्रम घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ मा महानगरपालिका प्रमुखको मर्यादाक्रम तल झारिएको छ । हाल काठमाडौं महानगर पालिका प्रमुखको मर्यादाक्रम १०औं स्थानमा छ । काठमाडौंबाहेक अन्य महानगरपालिका प्रमुखलाई भने हाल ११औं स्थानमा राखिएको छ । तर, प्रस्तावित विधेयकमा भने सबै महानगरपालिका प्रमुखको मर्यादाक्रम १७ नम्बरमा राखिएको छ । प्रस्तावित विधेयक राष्ट्रियसभा र प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित भए काठमाडौंसहित देशैभरिका महानगरका मेयरको मर्यादाक्रम एकै लहरमा रहनेछ । हाल मुलुकभर ६ महानगरपालिका छन् । हाल काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रम रहेको १०औं नम्बरमा नेपाल सरकारका सहायकमन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्यन्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति, संविधान सभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारको मुख्यसचिव र प्रधानसेनापति छन् । यो विधेयकको प्रतिवेदन मंगलबार राष्ट्रिय सभाको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ । हालको मर्यादाक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुखलाई पनि अन्य महानगरको उपप्रमुखभन्दा अगाडि राखिएको छ । काठमाडौं महानगरका उपप्रमुखलाई उपमहानगरपालिकाको प्रमुखको लहरमा राखिएको छ । हालको मर्यादाक्रमको १३औं लहरमा यो कुरा उल्लेख छ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक गत ५ चैत २०७९ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । यो विधेयक राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यले सामूहिक रूपमा ल्याइएको हो । तर, गैरसरकारी विधेयकका रूपमा यसलाई अघि बढाइएको हो । विधेयकमाथिको छलफल प्रारम्भ गर्दै सोमबारको बैठकमा सभापति राईले भनिन्, ‘यसमा एक प्रकारको राष्ट्रिय सहमति छ, यो सरकारले नै ल्याउनुपर्ने विधेयक हो । तर, गैरसरकारी विधेयकका रूपमा आए पनि अगाडि बढाउने राजनीतिक वातावरण बनेको छ ।’ विधायन व्यवस्थापन समितिकी सभापतिमा जयन्तीदेवी राई छिन् । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै राजनीतिक दलका शीर्ष नेताहरू, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहमन्त्रालयका अधिकारीहरूको सहमतिमा विधेयक अगाडि बढाइएको हो । बैठकमा राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सबै महानगर प्रमुखलाई एउटै लहरमा राख्नुपर्ने बताएका थिए । ‘कुनै महानगर प्रमुख अगाडि र कुनै पछाडि हुनुहुँदैन, महानगर भनेपछि सबै एउटै हो, सबैलाई एउटै लहरमा राख्नुपर्छ,’ उनले भने । बैठकमा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले पनि ‘सबै महानगर प्रमुखलाई एउटै मर्यादाक्रममा राख्नुपर्छ भनेका थिए ।