हिन्दु-मुस्लिम मिलेर दसैं मनाए
रसंसा/गोरखा, कार्तिक ११,
मुलुकमा विजयादशमीका दिन बाजुराको कोटिला गाउँका तीन टोलका बासिन्दा टीका थलीमा भेला भए । हिन्दु–मुस्लिम मिश्रित बसोबास रहेको कोटिलामा विगतझैं यसपालि पनि सामूहिक रूपमा टीका–जमरा लगाएर दसैंलाई उत्सवका रूपमा मनाए । खुदाबक्स मियाँ विजयादशमीका दिन तीनवटै टोलमा पुगेर शाही परिवारका तीन थलीमा आयोजित सामूहिक टीका–जमरा ग्रहणमा सहभागी भए । ८४ वर्ष पुगेका उनी कोटिलाकै ज्येष्ठ उमेरका हुन् । उनलाई हिन्दु समुदायकाले टीका र जमरा लगाए, उनले पनि सबैलाई टीका–जमरा लगाएर शुभकामना दिए । उनी मात्रै होइन, युवा र बाला उमेरका मुस्लिम समुदायका व्यक्तिले पनि टीका थलीमा पुगेर शुभकामना साटासाट गरे । बाजुराको कोटिलामा आयोजित सामूहिक टीका–जमरा ग्रहणमा सहभागी हिन्दु–मुस्लिम समुदायका परिवार र गोरखाको पालुङटार–३ सिउडेनीमा दसैंका बेला हालिएको पिङमा रमाउँदै स्थानीय । ‘कोटिलामा हाम्रा चाडपर्व साझा हुन् । दसैंमा हाम्रो घरमा पनि हर्ष र खुसीयाली छाउँछ,’ स्थानीय सइजद मियाँले भने, ‘हामी सबै घरबाट उहाँहरूले आयोजना गरेका टीका थलीमा गयौं । टीका लगाइदियौं । दुवैतर्फका परिवार एकअर्काका चाडपर्वमा समान ढंगले सहभागी हुन्छौं ।’ सदियौंदेखि दुवैतर्फ आपसी सम्मान र भाइचारा कायम छ र यो परम्परा आगामी पुस्ताले पनि बिथोल्ने छैन ।’ आफूहरूले घरमा जमरा नराखे पनि टीकाका दिन मस्जिदमा बाजागाजासहित टीका लगाएको सइजदले बताए । मुस्लिम समुदायले मनाउने इद, बकरइदलगायतका पर्वमा आफूहरू पनि उत्साहपूर्वक सहभागी हुने गरेको स्थानीय नरेन्द्र शाहीको भनाइ छ । सद्भावका साथ हिन्दुहरू मुस्लिम समुदायको चाडमा सहभागी हुने र मुस्लिम हिन्दुको चाडपर्वमा सहभागी हुने परम्परा जस्तै रहेको सइजदले बताए । ‘कोटिला सद्भाव र एकताको नमुना गाउँ हो,’ मुस्लिम समुदायबाट एकमात्र सरकारी जागिरे सइजदले भने, ‘हाम्रा चाडपर्वमा उहाँहरू पनि उत्साहका साथ सहभागी हुनुहुन्छ । बूढीनन्दा नगरपालिकामा पर्ने कोटिला गाउँका दुई सयमध्ये २२ परिवार मुस्लिम समुदायका छन् । यहाँ दुवै समुदायबीच कुनै सामाजिक विभेद नरहेको वडाध्यक्ष गजेन्द्रबहादुर शाहीले बताए । ‘दुवै समुदाय घरभित्र आफ्नै धार्मिक आस्था र परम्परामा दृढ छन् । मुस्लिमले मस्जिदमा नमाज पढ्छन्, मदरसा चलेका छन् । हिन्दुहरूको आफ्नै रीतिरिवाज छ । तर, धार्मिक आस्थाले आपसी सद्भावलाई कहिल्यै असजिलो पारेको छैन,’ वडाध्यक्ष शाहीले भने, ‘धर्मकर्म, पूजापाठ, रहनसहन र खानपानको तौरतरिका आआफ्नै छन् । तर दुवै समुदायका बीच अटुट भाइचारा छ ।’ मस्जिद निर्माण गर्दा आफूहरू सहभागी हुने गरेको र मस्टाको मन्दिर बनाउँदा मुस्लिम समुदाय सहभागी हुने गरेको उनले बताए । शुक्रबार पनि उनी सिउडेनीमा हालेको लिंगेपिङमा मस्तसित मच्चिए । उनलाई पिङ हल्लाउन रविन नेपालीले सघाइरहेका थिए । ‘टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने चलन हिन्दु समुदायमा हुन्छ, हामी पनि सँगै पिङ खेलेर धर्ती छाड्छौं,’ उनले भने । विगतका केही वर्ष गाउँमा पिङ हाल्ने चलन घट्दै गएकामा भने करिमल्लालाई चित्त बुझेको छैन । गोरखा पालुङटार नगरपालिका–३ सिउडेनीका ७८ वर्षीय करिमल्ला मियाँलाई लिंगेपिङमा मच्चिन औधी खुसी लाग्छ । टोल–टोलमा राखिएका पिङ खेल्न मियाँ सकेसम्म छुटाउँदैनन् । ‘ऊबेलाको समय नै रमाइलो हुन्थ्यो, रोटेपिङ, लिंगेपिङ भन्थे, फूलपातीदेखि दसैंसम्म बाजा बजाएर नाचगान हुन्थ्यो, अहिले पहिलेको जस्तै रमाइलो दसैं छैन,’ उनले भने । पालुङटार–३ डुम्रीडाँडामा झन्डै ४० परिवार मुस्लिम समुदायको बसोबास छ । सोही संख्यामा विभिन्न जातजातिका बासिन्दा गुम्रीडाँडामा बस्छन् । यहाँका हिन्दु, मुस्लिम समुदाय आपसी सद्भाव साटासाट गरी चाडपर्व मनाउँदै आएका छन् । ‘हामी यहाँ हिन्दु–मुस्लिम बराबरी छौं, दुवै समुदायको चाडपर्व मिलिजुली मनाउँछौं,’ उनले भने । ‘दसैंका दिन छिमेकीको घरमा गयौं, आफ्नै घरमा पनि चेलीबेटी बोलाएर रमाइलो गर्यौं,’ जान भन्छन्, ‘फूलपातीका दिनदेखि नै हामी सबै परिवार जम्मा भएका छौं ।’ वैदेशिक रोजगारीको सिलसिलामा जापान रहेका शम्शेरदिन मियाँ पनि चार महिनाअघि इद मनाउन घर फर्किएका थिए । अब दसैंतिहार मनाएर मात्र जापान फर्कने उनको योजना छ । ‘इद मान्नका लागि गाउँ आएको थिएँ, दसैंतिहार पनि नजिकिएपछि रोकिए,’ उनले भने, ‘विदेशमा बस्दा चाडपर्वको निकै मिस हुन्छ, अब तिहार पनि आउँदै छ, देउसीभैंलो खेलेर मात्र फर्कने हो ।’ तीन दशकअघिसम्म दसैंमा गाउँका जिम्वाल र मुखियाको घरमा करिमल्ला दसैंको दिन पुग्थे । गाउँमा भोज चल्थ्यो । ‘जिम्वाल मुखियाकहाँ गएपछि केरा, दही, चिउरा खाएर रमाइलो गर्थ्यौं,’ उनले भने, ‘पञ्चायत गएपछि जिम्वाल मुखियाकहाँ जाने चलन पनि हट्दै गयो ।’ शुभकामना साटसाट गरी आसपी सद्भावका साथ दसैं मनाउने पुरानो चलन भने अझै कायम रहेको पालुङटार–३ कै जान मोहम्मद मियाँ बताउँछन् । दसैंका बेला उनको परिवारले कुमार कुँवरको घर पुगेर शुभकामना आदानप्रदान गरे । दसैं, तिहार, इदलगायतका चाडपर्व परिवार सँगै बसेर मान्न पाउँदा खुसी लाग्ने शम्शेरदिन बताउँछन् । दसैंका अवसरमा उनले फेसबुकमार्फत शुभकामना आदानप्रदान गरे । पिङ खेलेर रमाए । ‘सानैदेखि यही गाउँमा हुर्कियौं, दसैंतिहार औधी रमाइलो लाग्छ । दसैंका दिन छिमेकी नवराज रोकाको घरमा गएर मनायौं,’ उनले भने, ‘धर्म अलग भए पनि हामी नेपाली एकै हौं । इदमा हामीले उहाँहरूलाई बोलायौं, उहाँहरूको चाडपर्वमा हामी जान्छौं, विदेशमा बस्दा पनि चाडपर्वका बेला गाउँका यस्तै रमाइला कुरा सम्झिरहन्छु ।’ मेलापात, अर्मपर्मदेखि गाउँमा हुने सामूहिक कार्यमा सबै समुदायका व्यक्ति हातेमालो गरेर अघि बढेको पालुङटार–३ का अजुदिन मियाँ बताउँछन् । ‘विवाह व्रतबन्ध, मर्दापर्दा सबै सँगै हुन्छौं, हाम्रो यहाँ कुनै भेदभाव छैन,’ उनले भने, ‘समुदायका मान्छे नमिल्ने हो भने भारोपर्म नै चल्दैन, अहिले धान काट्ने बेला भएको छ, एउटा छिमेकीमा आज काट्यो, भोलि अर्कोको पालो गर्ने चलन छ ।’ पालुङटार–३ का वडाध्यक्ष रवीन्द्र अधिकारी गाउँमा हुने भोजभतेरदेखि, जनश्रमदानसम्म सुखदुःखमा सबैको हातेमालो हुने गरेको बताउँछन् । गोरखाको गोरखा नगरपालिका–१ र २, पालुङटार–३, सिरानचोक गाउँपालिका–३ मा मुस्लिम समुदायको बसोबास छ । यहाँ सबै समुदायका व्यक्ति बसेर चाडपर्वमा शुभकामना आदानप्रदान, सामूहिक भोजन, सांस्कृतिक कार्यक्रम आयोजना गरी खुसीयाली मनाउने गर्छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–५ गणेशपुरका ३० वर्षीय अजिज मलिकलाई दसैं सुरु भएपछि नवरात्रिको माहोलले लोभ्याउँछ । उनलाई नवदुर्गामा बज्ने धुनले बडो आनन्द मिल्छ । घटस्थापनापछि राति प्रायः उनी साथीभाइ सँगै हुन्छन् । दसैंका दिन साथीभाइ कहाँ टीका थाप्न जान्छन् । उनले यसरी दसैंमा टीका थाप्न थालेको पाँच वर्ष भयो । ‘आजकाल फोटोचाहिँ खिच्दिनँ, धेरैले देखाउनका लागि टीका लगाउँछन् भन्न थालेपछि मन कुँडियो,’ उनले भने, ‘हामी नयाँ पुस्ताका युवा हौं, सबै धर्म र पर्व आफ्नो जस्तै लाग्छन् । दसैंमा टीका नलगाए मनले मान्दैन ।’ धर्म फरक भए पनि नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायको भावनात्मक सम्बन्ध निकै बलियो रहँदै आएको सपना सुनाउँछिन् । ‘जसरी इदमा हामी मुस्लिम समुदायको घरमा गएर इच्छाएको परिकार खाँदै दक्षिणा लिएर आउँछौं, त्यसैगरी मुस्लिम दिदीबहिनी दसैंमा मेरो घरमा आएर जे पाकेको छ इच्छाअनुसार खाएर जान्छन् । उहाँहरूको धर्ममा टीका लगाउनु हुँदैन तर दसैं टीकाका दिन खुसी साट्न अवश्य आउनुहुन्छ ।’ नेपालगन्ज–३ एक्लैनीकी साहिदा बानो दसैंका दिन सबै काम छाडेर पनि इदमा आफ्नो घरमा आउने हिन्दु समुदायका साथीहरूको घरमा पुग्ने गरेकी छन् । नेपालगन्ज उपमहानगरपालिकाकी सपना भट्टराई यसपालिको दसैंमा पनि आफ्ना मुस्लिम साथीसंगीलाई घरमा स्वागत गरिन् । हरेक चाडका बेला उनका मुस्लिम साथीहरू कोसेली लिएर घरमा पुग्छन् । ‘एउटै समाजमा रहेकाले एकअर्काको चाडबाडमा रमाउनुपर्छ । दसैंतिहार जस्ता चाडबाडमा मुस्लिम साथीहरू मेरो घरमा आउँछन् । मिठोमसिनो जे पाक्छ खाएर जान्छन् । म पनि उनीहरूको इद, बकरइदमा जान्छु शुभकामना साट्छौं ।’ ‘चाडबाड भनेकै शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हो, धर्म फरक भए पनि हामीले हरेक चाडबाड मिलेर मनाउँदै आएका छौं,’ साहिदाले भनिन्, ‘यस्ता पर्वले नै आपसमा आत्मीयता बढाउन सद्भाव कायम राख्न टेवा पुग्छ ।’ हिन्दु–मुस्लिम समुदायको मिश्रित बसोबास रहेको नेपालगन्ज सहरमा दुवै समुदायका चाडपर्व मिलेर मनाउँदै आएका छन् । मुस्लिम समुदायले मनाउने इद, बकरइद तथा मोहरम र हिन्दुको दसैं र तिहार, होली जस्ता पर्वमा दुवै समुदायका व्यक्ति उत्तिकै आफ्नोपन महसुस गर्ने बताउँछन् । नेपालगन्जका बासिन्दा जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई दसैंको टीका–जमरा मात्रै लगाउँदैनन् यहाँको ओम शान्ति ब्रह्मकुमारी संस्थामा पुगेर ‘माता’को हातबाट टीका थाप्ने गर्छन् । यहाँका हिन्दु–मुस्लिमसहित सबै धर्मावलम्बीबीचको सद्भावले अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा पाएको पूर्वमन्त्री राई बताउँछन् । ‘सबैको आस्था, समुदाय, जात र संस्कार फरक छ । यो समाज वर्षौंदेखि मिलेर बसेको छ । यस्तो समाज अन्यत्र कमै हुन्छ,’ उनले भने, ‘धर्म, संस्कार आस्था नमिलेर केही हुँदैन । भावना मिलेपछि समाज कसैले बिथोल्न सक्दैन ।’ नेपालगन्जका व्यवसायी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरीले करिब तीन दशकदेखि दसैंतिहारमा साथीभाइकहाँ टीका थाप्ने गरेका हुन् । ‘एकअर्काको संस्कार परम्परा मान्नु भनेको आफ्नो धर्म त्याग्नु कदापि होइन,’ उनले भने, ‘एकअर्काको धर्म संस्कारमा सहभागी हुनु भनेको समाजमा शान्ति, मेलमिलाप कायम राख्ने एउटा प्रयास पनि हो ।’ नेपालगन्जका धर्मगुरुहरूको उदाहरणीय सम्बन्धले नेपालगन्जको सद्भावलाई थप बलियो बनाएको छ । ‘नेपालगन्ज सहरको सुन्दरता नै यहाँको सामाजिक सद्भाव हो । जो विश्वका अन्य सहरमा समेत चर्चामा छ,’ इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी भन्छन्, ‘यो कसैले चाहेर पनि भत्काउन/तोड्न सक्दैन ।’ प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरका मूल महन्त चन्दनाथ योगीले दसैंमा जहिले पनि सबैभन्दा पहिले इस्लाम धर्मगुरुको शुभकामना आउने गरेको बताए । ‘हाम्रो पर्वमा इस्लाम धर्मका मौलानाले सुरुमा शुभकामना दिनुहुन्छ, उहाँहरूको पर्वमा मैले नै शुभकामना दिने पहिलो हुन्छु । अन्तरधार्मिक सामाजिक सद्भाव समिति बाँकेका संयोजकसमेत रहेका योगीले भने, ‘सायद यस्तो सद्भाव विश्वमा कतै पाइँदैन होला ।’