एमाले बागमती प्रदेश अधिवेशनको आज मनोनयन दर्ता
रासंसा/काठमाण्डौ, आश्विन १०,
मुलुकमा नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत आजबाट निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ। अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्ने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ। मंगलबारको बन्द सत्रले राजनीतिक सांगठनिक तथा आगामी कार्ययोजना प्रतिवेदन प्रतिवेदन पारित गरेको छ । अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ। एमालेले बागमतीमा निर्वाचनबाटै नेतृत्व चयन गर्ने सम्भावना देखिएको छ। निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु हुने भएको एमालेले जनाएको छ। निर्वाचन कार्यक्रम केन्द्रीय कार्यालय च्यासलमा हुने अध्यक्ष मण्डलका सदस्य एव स्थायी समिति सदस्य शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बुधबार बिहान ८ बजे मतदाता नामावाली प्रकाशन हुनेछ। ९ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। ४ बजे उम्मेदवारीको नामावली प्रकाशन र ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ। साँझ ६ बजेदेखि विद्युतीय मेसिनमा नामावली राख्ने गरी तालिका तय भएको छ। निर्वाचन बिहीबार ११ बजेबाट मतदान हुनेछ। ‘विभिन्न चरणमा छलफल र सहमतिको प्रयास जारी छ। सहमति हुँदा नयाँ नाम पनि आउन सक्ला।’बागमती प्रदेशका निवर्तमान एक पदाधिकारीले भने,‘तर निर्वाचन हुँदा रामेछापका कैलाश ढुंगेल र मकवानपुर कृष्णप्रसाद दाहालबीच मुख्य प्रतिस्पर्धा हुने देखियो। निर्वाचन हुने संकेत पाएपश्चात अन्य नेताहरु ब्याक हुन थाल्नुभएको छ। हेरौं आज उम्मेदवारी दर्ताको कार्यतालिका पनि आइसकेको छ। ’ अधिवेशनमा १ हजार १७४ प्रतिनिधि चयन भएका छन्। बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, केशवराज पाण्डे, सानु श्रेष्ठ, रचना खड्का, कृष्णभक्त पोखरेललगायतले दाबी गरेका छन्। निर्वाचन भएको खण्डमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच मुख्य प्रतिस्पर्धा हुने नेताहरुले बताएका छन्। सहमतिको प्रयासमा केन्द्रीय कमिटीका पदाधिकारी नै खटिएका छन्। केन्द्रीय सदस्य ढुंगेलले सकेसम्म सहमतिमै नेतृत्व चयन हुने बताए। ‘सहमतिबाट नै नेतृत्व चयन हुने प्रयास भइरहेको छ। सहमति नभएको खण्डमा एमालेले लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउँछ। आकांक्षीको उम्मेदवारी दर्ता हुन्छ, स्वस्थ प्रतिस्पर्धा हुन्छ। निर्वाचनमार्फत प्रतिनिधिले नेतृत्व चयन गर्नेछन्।’बागमती प्रदेशका पूर्वअर्थमन्त्री ढुंगेलले अन्नपूर्णसँग भने,‘साथीहरुले नेतृत्वमा आउनुपर्छ भनिरहनुभएको छ। सहमति भएको खण्डमा सहमतिबाटै र निर्वाचन भएको खण्डमा पनि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएर प्रदेशको नेतृत्व लिने मनस्थिति बनाइसकेको छु। स्वस्थ प्रतिस्पर्धामा भाग लिएर निर्वाचित हुन्छु।’ यस अघि एमालेले लुम्बिनी प्रदेशमा पनि सचिव निर्विरोध र अन्य मुख्य पदमा निर्वाचनबाटै मुख्य नेतृत्व चयन गरेको थियो।