नाका नखुल्दा गाउँ छोड्दै लप्चीवासी

Share to:

रासंसा/दोलखा, आश्विन ४,

मुलुकमा कोरोना संक्रमणको सुरुवातसँगै ०७६ पुसदेखि पूर्णरूपमा बन्द नाका अहिलेसम्म खुल्न सकेको छैन। २०७२ को भूकम्पपछि केही समय बन्द भएको नाका कूटनीतिक पहलपछि पासको व्यवस्था गरेर सीमावर्ती बासिन्दालाई किनबेचका लागि आउजाउ खुला गरिएको थियो। तर, कोरोना संक्रमणको सुरुवातसँगै नाका ठप्प भएका हुन्। कोरोना संक्रमणको सुरुवातसँगै ०७६ पुसदेखि पूर्णरूपमा बन्द नाका अहिलेसम्म खुल्न सकेको छैन। २०७२ को भूकम्पपछि केही समय बन्द भएको नाका कूटनीतिक पहलपछि पासको व्यवस्था गरेर सीमावर्ती बासिन्दालाई किनबेचका लागि आउजाउ खुला गरिएको थियो। तर, कोरोना संक्रमणको सुरुवातसँगै नाका ठप्प भएका हुन्। चिनियाँ नाका नखुल्दा दोलखाको बिगु गाउँपालिका–१ लप्ची बासीले गाउँ छाड्न थालेका छन्। चीनसँगको सीमा नाका ५ वर्षदेखि बन्द भएपछि स्थानीय आर्थिक स्रोत जुटाउन गाउँ छाड्न थालेका हुन्। नाका नखुल्दा चीनसँग सीमा जोडिएको लप्चीका बासिन्दाको मुख्य आर्थिक स्रोत चौरी, याक, चौरीको घ्यू, छुर्पीजस्ता कुरा फलाक र कुती पुर्‍याउन सकेका छैनन्। आफ्ना उत्पादन बिक्री गर्न नपाउँदा आर्थिक समस्या भएको स्थानीयले बताएका छन्। मुख्य आयस्रोत गुमेपछि वैकल्पिक आम्दानीको खोजीमा स्थानीयले धमाधम गाउँ छाड्न थालेका हुन्। नाका नखुल्दा २ दिनसम्म हिँडेर अन्नपातका लागि लामाबगर झर्नु परिरहेको छ। लामबगरबाट भरियाले बोक्दा किलोको १ सय ४० रुपैयाँ ढुवानी भाडा तिर्नुपर्ने स्थानीयको गुनासो छ। याक, चौंरीका लागि लामाबगरबाट बोकेर निकै महँगोमा नुन र ढुटोपिठो खुवाउनुपर्दा पाल्नसमेत समस्या भइरहेको स्थानीय बताउँछन्। अधिकांश स्थानीय राजधानी काठमाडौं पसिरहेका छन् भने केही समयअगाडि तातोपानी नाका खुलेपछि केही त्यतातिर लागेका छन्। पछिल्लो समय चीनसँगका अन्य नाका खुल्न थालेपछि याक, चौंरी चराएर बसे पनि लप्ची नाका खुलाउन कतैबाट पहल नभएपछि निराश बनेर गाउँ छाड्न थालेको स्थानीय तेम्बा शेर्पाले बताए। गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका निकायहरूमा पनि नाका खुलाउन सहयोग गरिदिन आग्रह गरेको थुन्डुप शेर्पाले बताए। २०८० असार २९ गते शुक्रबार लप्चीका थुन्डुप शेर्पासहितको ग्रुप गृहमन्त्रीसँग भेटघाट गरेर नाका खुलाइदिन माग गरेको उनले बताए। तर, कतैबाट पहल नभएपछि गाउँ छोड्नुको विकल्प नभएको उनले बताए। लप्ची नाका खोल्न पहल गरिदिन गृह मन्त्रालयमार्फत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए। स्थानीयले घिउ र याक, चौंरीका बाच्छा तिब्बतको ङ्यालम, कुती, फलाक बजार लगेर बेच्दै आएका थिए। नाका बन्द भएर कारोबार नै हुन नपाउँदा आम्दानी ठप्प भएकाले नयाँ व्यवसाय खोज्दै गाउँ छाड्नु परेको छ । ४८ परिवारका १ सय ५० जनाको बसोबास रहेको लप्चीमा ५ सयभन्दा बढी याक र चौंरी पालिएका छन्। ‘सीमापार गरेर चौंरी प्रवेश गरिहाले चिनियाँ भूभागबाट लखेट्ने गरेका छन्,’ शेर्पाले भने, ‘याक, चौंरीका बाँच्छा र घिउ बेचेर उपभोग्य वस्तु जोहो गर्ने हो, त्यो पनि ठप्प छ।’ चिनियाँ बजारमा घिउ प्रतिकेजी १६ सय रुपैयाँमा बिक्री हुने गरेको थियो। हाल लप्चीमा स्थानीयसँग ६ हजार किलो हाराहारी घिउ घरमै थन्किएको उनले बताए। हाल १७ परिवार याक, चौंरी रेखदेख गरेर बसेका छन्। स्थानीयको याक र चौंरी चरन क्षेत्र पनि चीनतर्फका खर्क हुन्। उनीहरूले याक, चौरी चराउन चरन क्षेत्र प्रयोग गरेबापत प्रतिचौपाया वर्षमा ७ सय ५० ग्राम घिउ चीनको स्थानीय सरकारलाई बुझाउने गरेका थिए। नाका बन्द भएपछि चिनियाँ चरन क्षेत्रमा याक, चौंरी लैजान नपाएको स्थानीय कर्मा वाइसर शेर्पाले बताए।

Like