राष्ट्रपतिले बोलाएको सर्वदलीय आज बैठक बस्दै
रासंसा/काठमाण्डौ, भाद्र ५,
मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्य गर्ने र समसामयिक राजनितिक विषयबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक आज बस्दै छ। राष्ट्रपति पौडेलले पछिल्लो समय सदनमा भएको अवरोधबारे चासो लिँदै आएका छन्। उनले सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत पटक-पटक छलफल गरिसकेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेयता संसद् अवरोध गर्दै आएको छ । विमानस्थलबाट बाहिरिदै गरेको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको छ। संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग राष्ट्रपति पौडेलले आज छलफल गर्न लागेका हुन्। छलफल बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको छ। बैठकमा सदन सुचारु गर्नेबारे र समसामायिक राजनितिक विषयमा छलफल हुने छ। यद्यपी हिजो साँझ बसेको बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेका छन्।प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।