बाढीले क्षति गरेको मुस्ताङको कागबेनीमा शनिबार श्रमदान गर्दै सरकारी कर्मचारी र जिल्लावासी, एकजुट सहयोगी मनहरु
मिन बहादुर कुँवर/कास्की, भाद्र ३,
मुलुकमा अघिल्लो आइतबार रात पर्न थाल्दै गर्दा कागबेनीको बस्ती बगर बन्यो। मुक्तिनाथ क्षेत्रबाट बगेर आएको झोङखोलाले हिमालपारिको जिल्ला मुस्ताङको वारागुँ मुक्ति क्षेत्र गाउँपालिका–४ को कागबेनी बजारलाई क्षणभरमै बगर बनाइदियो। बेलुकीको खाना खाने तरखरमा रहेका गाउँलेको उठिबास लाग्यो। खाँदाखाँदैको खाना छाडेर ज्यान जोगाउन गाउँलेको दौडधुप चल्यो। प्राकृतिक विपद्को मारमा परेको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा पर्ने कागबेनी यति बेला पीडामा छ। पीडामा रहेको कागबेनीलाई उठाउनका लागि अहिले सिंगो जिल्ला दिनरात नभनी खटेको छ। सरकारी कार्यालयदेखि निजी क्षेत्रका कर्मचारी, स्थानीयवासी, गाउँले, आसपासका गाउँका बासिन्दा अहिले कागबेनीलाई पहिलेकै स्वरूपमा फर्काउने पहलमा जुटेका छन्। जिल्लाभित्रका मात्र नभई बाहिरबाट गएर बसेका नागरिक पनि अहिले कागबेनीलाई उठाउने प्रणमा छन्। लेदो र गेग्रान सहितको बाढीले यतिसम्मको क्षति गर्यो की घरको दोस्रो तलासम्म खोलाको बहाव पस्यो। खोलाले बगाएर ल्याएको लेदो र गेग्रान कोठाभरि थुप्रियो। बगेर जाने संरचना त बगे नै, नबगेका घरभित्र गेग्रान थुप्रियो। बाढीले घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी गरी ३१ वटा संरचना बगायो। ‘म पनि अहिलेसम्म दुई दिन काममा जुटिसके। अझै केही दिन कागबेनीमा काम गर्न जाने हो। कागबेनीका गाउँलेको उठिबास लागेको छ। कागबेनी पुगेर घरभित्र थुप्रिएको लेदो सफा गर्ने हो। सकेको सहयोग गर्नका लागि अहिले हामी स्थानीय मात्र नभई सबैतिरबाट मान्छे जुटेका छन्,’ वारागुँ मुक्ति क्षेत्र गाउँपालिका–४ की वडा सदस्य समेत रहेकी फुलमाया विकले भनिन, ‘हिजो पनि गएर दिनभर काम गरेर फर्केकी हुँ। लेदो र गेग्रानले डुबेको घरका कोठा सफा गरेर फर्कियौ। घरभित्र माटोले पुरेको छ। कतिपयको घरको त दोस्रो तलासम्म पनि लेदो छिरेको छ।’ कागबेनीको पीडामा अहिले जिल्लावासी मात्र नभई त्यहाँ कार्यरत सरकारी कर्मचारी पनि श्रममा खटिएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार शनिबार जिल्लामा कार्यरत ११५ जना सरकारी कर्मचारी, तिन वटै सुरक्षा अंगका ६० जना सुरक्षाकर्मी गरेर १७५ जनाले श्रम गरेका थिए। तीन वटा समूह बनाएर कागबेनीका काम गर्न कर्मचारी परिचालित भएको उनले बताए। उनका अनुसार अहिले कागबेनी क्षेत्रका मात्र नभई जिल्लाका अन्य गाउँपालिकाबाट पनि सहयोगी हातहरू कागबेनीमा खटेका छन्। ‘सामूहिक काम हो। अहिले कागबेनीका बासिन्दालाई अप्ठेरो आइपरेको छ। यस्तो अप्ठ्यारो कुनैपनि बेला जहाँ कहीँ पनि पर्न सक्छ,’ उनले भनिन्, ‘सामूहिक हातको भरमा अहिले कागबेनी उठ्दैछ।’ लेदो र गेग्रानले पुरिएको कोठा चोटा सफा गर्ने, लेदो फाल्ने हो। पुरिएका सामानलाई निकालेर सफा गर्ने हो।’ ‘कागबेनीको मानवीय पीडामा कर्मचारी पनि साथमा छौ भन्ने पनि देखाउन चाह्यौ। सबै सरकारी कर्मचारीलाई समूहमा बाँडेर परिचालन गरियो, नियमित खटिने बाहेकका सुरक्षाकर्मी पनि खटिए,’ केसीले भने, ‘यो बेला स्थानीयको भरमा मात्र हुँदैन। सबैले हातमा हात मिलाउन चाहेका हौ। त्यही अनुसार जिल्लामा कार्यरत कर्मचारीलाई परिचालन गरेका हौ। सकेको सहयोग कर्मचारीले गर्नुभयो।’ विपद्को बेला सुरक्षाकर्मी बाहेक कर्मचारी परिचालन हुने चलन कम भएपनि मुस्ताङमा भने यो काममा सबैको साथ पाएको उनले बताए। ‘कर्मचारी प्रति जिल्लावासीको सकारात्मक धारणा बनाउन खोजेका हौ। अर्को शनिबार पनि कर्मचारी खटिने योजना छ,’ उनले भने। प्रजिअ केसीका अनुसार घरको दोस्रो तलासम्म गेग्रानको थुप्रो छ। जुन स्थानीयको भरमा मात्र निकाल्ने हो भने सफा भइसक्न महिनौँ लाग्छ। त्यसैले कागबेनीको बासिन्दासँग कर्मचारी पनि साथमा रहेको भन्ने देखाउन शनिबार श्रममा खटिएको उनले बताए। ‘घरेलु औजारको भरमा खनखोरस गर्यौ। जे जति सकिन्छ, त्यो पन्छायौँ,’ उनले भने, ‘कम्तीमा घरभित्र थुप्रिएको लेदो हटाउन त सकियो।’ प्रजिअ केसीका अनुसार कागबेनीबाट विस्थापित भएका करिब ६० जना स्थानीय आफन्तको घरमा बसेका छन्। उनीहरूलाई खानपिनको व्यवस्था गाउँपालिकाले गरेको छ। बाढी आउँदा त्यहाँ करिब एक सय जना जति मजदुर बस्दथे। बाढीले ती मजदुरलाई बढी समस्या पारेको थियो। सडक र खेतबारीमा काम गर्नका लागि बाहिरी जिल्लाबाट गएका ती मजदुरमध्ये धेरैलाई ठेकेदारले व्यवस्थापन गरेको उनले बताए। गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङ पनि पुर्नस्थापना भन्दा पनि घरभित्र थुप्रिएको गेग्रान हटाउन सकस भएको बताउँछन्। ‘कोठाभित्र थुप्रिएको गेग्रान फाल्न एक्स्काभेटर लगाएर भएन। अहिले गाउँलेको सहयोगमा घरको कोठा सफा गर्ने काम भइरहेको छ,’ उनले भने। उनका अनुसार अहिले कागबेनीमा जिल्लाभरबाट सहयोग जुटेको छ। सरकारी कार्यालयदेखि गाउँ गाउँ सहयोगी हातहरू जुटेको उनले बताए। ‘सडक आयोजनामा खटिएका मजदुरलाई ठेकेदारले नै व्यवस्थापन गरेका छन्। अरु काममा खटिने मजदुर केही घर फर्किसकेका छन्, थोरै संख्यामा मात्र अप्ठेरोमा परेका मजदुरलाई स्थानीय तहले सघाएका छन्,’ उनले भने। प्रजिअ केसीका अनुसार विस्थापित गाउँलेहरू तत्काल घर फर्किने अवस्था छैन। बाढीमा घर नबगेको भएपनि घरभित्र थुप्रिएको गेग्रान हटाउन सकस रहेको उनले बताए। ‘गेग्रान फालेपछि बल्ल बस्न लायक हुनेछन्, त्यो दिन निकै नै पर छ,’ उनले भने। ‘एउटै गाउँबाट १५० जनासम्म सहयोगी मनहरु कागबेनीमा जुटेका छन्। सरकारी कर्मचारीको पनि सहयोग मिलेको छ,’ उनले भने, ‘घरभित्र थुप्रिएको लेदो हटाउन अहिले सर्वत्र सहयोग मिलेको छ। खोलाको बहाव पन्छाउन उपकरण प्रयोग गरिएको छ। तर, घरभित्रको गेग्रान फाल्न गाउँलेहरु लागिपरेका छन्।’ प्रवक्ता गुरुङका अनुसार गाउँलेले लेदो मात्र फाल्न सघाएका छैनन् की सकेको आर्थिक सहयोग पनि गरेका छन्। ‘भौतिक सहयोग गर्न आफै खटिएका छन्, त्यसबाहेक आमा समूह, क्लबहरू, टोल टोल मिलेर तेल, चामल, दाल लगायतको खाद्यान्न सहयोग पनि गरेका छन्,’ उनले भने, ‘पहुँचको समस्या भएकोले बाहिरी जिल्लाबाट सहयोग भित्रिन सकेको छैन। तर, जिल्लाभित्रैको सहयोग अहिले लागिपरेको छ।’ विभिन्न गाउँबाट घरेलु औजार लिएर सहयोग गर्न स्थानीयवासी कागबेनी झरिरहेको उनले बताए । ‘सबैको साथले कागबेनी उठ्ने प्रयासमा छ,’ उनले भने।