नेपालको कानून दैवले जानून भने झैँ ललिता निवास प्रकरणमा पूर्ब प्रधानमन्त्री द्वय नेपाल र भट्टराईलाई सोधपुछसमेत नगरिने

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २,

मुलुकमा सर्वोच्चले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने ‘निर्णयाधिकारी’ लाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । तर, प्रधानमन्त्रीकै नेतृत्वमा संगठित रूपमा बसेको बैठकले यी/यी मानिसलाई अनुसन्धान गर्लास् भनेर प्रहरीलाई धम्क्याउने काम गर्‍यो, मुलुकमा कानुनी शासन छैन भन्ने यसबाटै स्पष्ट हुन्छ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई ‘सामान्य सोधपुछ’ समेत नगरी उन्मुक्ति दिने प्रयास भएको देखिन्छ । उनीहरूलाई अनुसन्धानको दायराबाहिर राखेर सीआईबीले सम्भवतः आइतबार प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउँदै छ । दुवै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारका घटक हुन् । ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्बाट भएका निर्णयमा संलग्न भएकामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दलको दबाबमा नेपाल र भट्टराईसँग बयान नलिई अनुसन्धान टुंग्याउन लागिएको हो । गत साउन २१ मा सर्वोच्च अदालतले सरकारी जग्गा व्यक्तिका नाममा लैजान मन्त्रिपरिषदबाट भएका निर्णयका ‘निर्णयाधिकारी’ लाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । लगत्तै सीआईबी निर्णय प्रक्रियामा सामेल प्रधानमन्त्री तहसम्मै बयान लिन जुटेको थियो । गत सोमबार सत्ता गठबन्धनको बैठक बसी सर्वोच्चको आदेशमाथि शीर्ष नेताहरूले असन्तुष्टि व्यक्त गरेका थिए । सत्तारूढ नेताहरूले ‘न्यायिक सक्रियता’ देखाएको भन्दै प्रश्न उठाएपछि सीआईबी दबाबमा परेको हो । गत २०७८ पुसमा पनि सीआईबीले किर्तेका दफा लगाएर ललिता निवास प्रकरणका आरोपितविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेकोमा राजनीतिक दबाब र प्रभावका कारण मुद्दा नचलाई थप अनुसन्धानका नाममा प्रतिवेदन सीआईबीमा फर्काइएको थियो । त्यस बखत शेरबहादुर देउवा प्रधानमन्त्री थिए । मुद्दा अघि नबढाउन प्रधानमन्त्री देउवा र त्यसबेलाका महान्यायाधिवक्ता खम्मबहादुर खातीले ‘भूमिका खेलेको’ त्यसबेलाका जानकार एक उच्च सरकारी अधिकारी बताउँछन् । त्यसपछि अनुसन्धान फाइल सीआईबीमा बेवारिस थियो । ‘बाहिर सरसर्ती हेर्दा सीआईबीले अनुसन्धान गरेन भन्ने देखिन्छ । तर, सारमा प्रधानमन्त्रीसहितको सत्ता गठबन्धन बैठकले पूर्वप्रधानमन्त्रीहरूमाथिको अनुसन्धान नगर्ने गरी आधार खडा गरेपछि उनीहरूमाथि अनुसन्धान हुन नसक्ने भयो,’ उच्च स्रोतले जनायो । त्यसको करिब डेढ वर्षपछि दाहाल नेतृत्वको सरकारले गत असारमा उक्त प्रकरणको अनुसन्धान अघि बढाउन सीआईबीलाई निर्देशन दिएको थियो । त्यसयता कर्मचारी र व्यापारीसहितका व्यक्ति पक्राउ परेकामा सत्तारूढ दलका शीर्ष नेतासमेत तानिने देखिएपछि मुख्य निर्णयकर्तासँग बयान नै नलिई सीआईबीको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागिएको हो । सीआईबीले अदालतबाट अनुमति लिएर संगठित अपराध निवारण ऐन–२०७० र मुलुकी ऐन २०२० को किर्ते महलअन्तर्गत अनुसन्धान गरिरहेको छ । अनुसन्धान प्रतिवेदन आइतबार सरकारी वकिल कार्यालयमा बुझाउने तयारी छ । २०४९ देखि २०६९ सालसम्मको अवधिमा मालपोतदेखि मन्त्रिपरिषद्सम्मका निर्णयबाट ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी सरकारी जग्गा तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवार र भूमाफियाले हडपेका थिए । २०६६/६७ मा प्रधानमन्त्री निवास विस्तारका नाममा माधव नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले २५ रोपनी ५ आनामा नक्कली मोही खडा र भूमाफियालाई सट्टाभर्ना दिने निर्णय गरेको थियो । काठमाडौं सरकारी वकिल प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले पनि ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन आइतबार प्रहरीबाट आउन सक्ने बताए । पछिल्लो पटक अदालतबाट प्रहरीले लिएको म्याद आइतबारसम्म रहेको उनको भनाइ छ । ‘प्रतिवेदन शुक्रबार नै पेस गर्ने भन्ने कुरा थियो, पेस भएन । अब आइतबार आउला,’ उनले भने, ‘प्रहरीबाट मिसिल आएपछि अध्ययन गर्छौं, प्रहरीबाट आएको रायसहितको प्रतिवेदनले क–कसलाई मुद्दा चलाउन भन्छ, त्यो हेर्छौं, त्यसपछि मुद्दा चल्ने, नचल्ने वा कसरी चल्ने भन्नेमा निर्णय लिन्छौं ।’ अनुसन्धानका क्रममा मन्त्रिपरिषद्का निर्णयाधिकारीमाथि बयान किन नभएको भन्ने प्रश्नमा नेउपानेले यो विषय अनुसन्धान गर्ने अधिकारीको भएको भन्दै उतैबाट बुझ्न आग्रह गरे । उनले सरकारी वकिलको रोहबरमा भएको बयानमा संलग्न व्यक्ति र अनुसन्धानका क्रममा तानिएका तर प्रतिवेदनमै फरार भनिएका मानिस प्रतिवादी बन्न सक्ने बताए । २०६९ असोजमा भट्टराई नेतृत्वको मन्त्रिपरिषद् र त्यही बेलाको गुठीको निर्णयले ५ रोपनी जग्गा नक्कली मोही हुँदै भूमाफियाले हडपेका थिए । त्यसअघि अन्तरिम सरकारबाट २०४७ वैशाखदेखि भदौसम्म भएका निर्णयको अपव्याख्या गरेर मालपोत कार्यालयले २०४९ मा १ सय १२ रोपनी ४ आना र २०६२ मा १२ आना जग्गा व्यक्तिका नाममा कायम गरिदिएको थियो । यो गतिविधिले शक्तिशाली र उपल्लो तहका व्यक्तिलाई मुद्दा नचलाउन सत्तारूढ दलले प्रहरीलाई धम्की दिएको बुझ्न सकिने वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बताए । प्रहरीबाट ललिता निवासबारे भइरहेको संगठित अपराध र किर्तेको अनुसन्धानमा मुख्य निर्णयाधिकारीसम्म पुर्‍याउन सर्वोच्च अदालतले आदेश दिए पनि त्यसविपरीत हुने गरी उन्मुक्ति दिलाउने खेल गठबन्धनले गरेको उनको टिप्पणी छ । सर्वोच्चले मन्त्रिपरिषद्का उक्त निर्णयलाई समेत इंगित गरेर निर्णयाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । आदेशप्रति सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले आपत्ति जनाएका थिए । उनको आपत्तिमा प्रधानमन्त्री दाहालको सहमति थियो । यसबारे गत साता बालुवाटारमा सञ्चारकर्मीसँगको भेटमा दाहालले ‘यो सामान्य घटना होइन’ भन्ने प्रतिक्रिया दिएका थिए । ‘पूर्वप्रधानमन्त्रीलाई भनिएको भए पनि यो प्रधानमन्त्री (बहालवाला) लाई नै भनिएको हो,’ दाहालले भनेका थिए, ‘तर संसद् अवरुद्ध हुनु र अदालतको यस्तो आदेश आउनुबीच कतै सम्बन्ध छ कि भन्ने शंका उत्पन्न भएको छ । गठबन्धन पनि जोगाउनुपर्‍यो । सबै भताभुंग पार्न पनि त भएन ।’ ‘अदालतले कर्मचारी तहमा मात्रै होइन, मुख्य निर्णयाधिकारीमाथि पनि अनुसन्धान गर्न आदेश दिइसकेको छ । तर, आदेशको पालना गर्नु त कता हो कता, प्रधानमन्त्रीकै नेतृत्वमा संगठित रूपमा बसेको बैठकले यी/यी मानिसलाई अनुसन्धान गर्लास् भनेर प्रहरीलाई धम्क्याउने काम गर्‍यो,’ अर्यालले कान्तिपुरसँग भने, ‘आदेशविरुद्ध स्टेटमेन्ट दिने काम भयो । यसले सत्ता र शक्तिमा भएकालाई कानुन लाग्दैन, अदालतको आदेश उनीहरूका लागि होइन, निमुखा र निर्धोमाथि मात्रै कारबाही हुनुपर्छ भन्ने मान्यता विकास गरियो । यसबाट मुलुकमा कानुनी शासन छैन भन्ने स्पष्ट हुन्छ ।’ प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले अनुसन्धान अन्तिम चरणमा पुगेको र एक/दुई दिनभित्रै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइने बताए । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ, अब केही दिनभित्रै प्रतिवेदन अभियोजन गर्ने निकायमा पेस गर्छौं,’ उनले भने । अनुसन्धानबारे चासो दिएर युरोपमा रहेका पूर्वप्रधानमन्त्री नेपाल भ्रमण छोट्याएर गत सोमबार स्वदेश फर्केका थिए । फर्केलगत्तै सोमबार साँझ उनकै आग्रहमा बालुवाटारमा सत्तारूढ दलको बैठक बसेको थियो । बैठकमा महान्यायाधिवक्ता दीनमणि पोखरेल पनि उपस्थित थिए । यस प्रकरणमा प्रहरीबाट अनुसन्धान गरिए नीतिगत निर्णयमा भ्रष्टाचार मुद्दासमेत लाग्न सक्ने गरी नजिर बस्ने भन्दै नेताहरू सशंकित भएका थिए । २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मन्त्रिपरिषद्को निर्णयमा क्षेत्राधिकार नभएको कारण देखाएर दुवै पूर्वप्रधानमन्त्रीलाई प्रतिवादी नबनाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अहिले अख्तियारकै नियति दोहोरिने गरी प्रहरी अनुसन्धान पनि कर्मचारी तहमा मात्रै सीमित भएको हो । मन्त्रिपरिषद्का निर्णयमा अनुसन्धान गरे आफूले गरेको निर्णयमा पनि प्रश्न हुन सक्छ भन्ने भय गठबन्धनका दलमा रहेको उनले टिप्पणी गरे । ‘आफूले काम नगर्ने, बाबुराममाथि दोष थोपर्ने गर्ने काम सही होइन । हालसम्म ललिता निवास प्रकरणमा कसैले पनि सम्पर्क गरेको छैन,’ उनले भने । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले ललिता निवास हिनामिना प्रकरणको अनुसन्धान अभियोजन र न्याय सम्पादन जनविश्वाससमेत प्राप्त गर्ने गरी स्वतन्त्र, निष्पक्ष र सक्षमतासाथ पक्षपातरहित तवरबाट हुनुपर्ने आदेश दिएको छ । सत्तारूढ नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले आफूमाथि ललिता निवास प्रकरणमा अनुसन्धान र छानबिन गरे हुने भनेर बारम्बार भन्दै आए पनि बयान दिन मानेन भनेर हल्ला चलाइएको टिप्पणी गरे । ‘ललिता निवास प्रकरणमा मैले बारम्बार भन्दै आएको छु– ममाथि छानबिन गरे हुन्छ, म सधैं खुला छु । तर बाबुरामले बयान दिन मानेन भनेर हल्ला फिँजाइएको छ,’ भट्टराईले कान्तिपुरसँग भने, ‘यसमा केही रहस्य छ जस्तो लागेको छ । बाबुराम पनि अरूजस्तै हो भन्ने भ्रम सिर्जना गर्न लागिएको छ ।’ राज्यशक्तिले छानबिन गरे हुने उनले बताए । ‘मैले जहिलेदेखि प्रश्न उठ्यो म अनुसन्धानका लागि तयार छु भन्दै आएको सन्दर्भमा फेरि बयान दिन मानेन भन्नु सही होइन । सरकारले आफू नगर्ने अरूमाथि आरोप लगाउने काम गर्दैछ । राज्यशक्ति प्रयोग गरेर अनुसन्धान गरे हुन्छ, बाहिर हल्ला गरेर हुन्छ ?’ उनले भने । ‘२०२१ मंसिर १७ को राजपत्रमा प्रकाशित ललिता निवासको चार किल्लाभित्रको नेपाल सरकारको जग्गा संगठित कसुर गरी व्यक्तिका नाममा दर्ता दाखिल खारेज नामसारीसमेतको कार्यका सम्बन्धमा अनुसन्धान तहकिकात भइरहेको विषय अवश्यमेय आम सार्वजनिक चासो भएको सम्बन्धमा विवाद देखिँदैन,’ आदेशमा भनिएको छ, ‘तसर्थ, निःसन्देह यस्ता विषयमा हुने अनुसन्धान अभियोजन न्याय सम्पादनसमेतका कार्य भरपूर जनविश्वास प्राप्त गर्ने गरी स्वतन्त्र र सक्षमतासाथ पक्षपातरहित तवरबाट सम्पन्न हुनुपर्ने हुन्छ । अन्यथा आम जनमानसमा न्याय प्रणालीमाथिको भरोसा नै समाप्त भई सामाजिक जीवनका बहुआयामिक धरोहरहरू टुट्न जाने अवस्था रहन्छ ।’ सत्तारूढ नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले आफूमाथि ललिता निवास प्रकरणमा अनुसन्धान र छानबिन गरे हुने भनेर बारम्बार भन्दै आए पनि बयान दिन मानेन भनेर हल्ला चलाइएको टिप्पणी गरे । ‘ललिता निवास प्रकरणमा मैले बारम्बार भन्दै आएको छु– ममाथि छानबिन गरे हुन्छ, म सधैं खुला छु । तर बाबुरामले बयान दिन मानेन भनेर हल्ला फिँजाइएको छ,’ भट्टराईले कान्तिपुरसँग भने, ‘यसमा केही रहस्य छ जस्तो लागेको छ । बाबुराम पनि अरूजस्तै हो भन्ने भ्रम सिर्जना गर्न लागिएको छ ।’ राज्यशक्तिले छानबिन गरे हुने उनले बताए । ‘मैले जहिलेदेखि प्रश्न उठ्यो म अनुसन्धानका लागि तयार छु भन्दै आएको सन्दर्भमा फेरि बयान दिन मानेन भन्नु सही होइन । सरकारले आफू नगर्ने अरूमाथि आरोप लगाउने काम गर्दैछ । राज्यशक्ति प्रयोग गरेर अनुसन्धान गरे हुन्छ, बाहिर हल्ला गरेर हुन्छ ?’ उनले भने । जग्गा हिनामिनाका विभिन्न मितिका निर्णयबाट सरकारको १ सय ४३ रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा पुगेको छ । यो प्रकरणको निर्णय प्रक्रियामा भूमाफिया, कर्मचारी, तत्कालीन भोगाधिकारी, मन्त्री र प्रधानमन्त्रीसमेत गरी साढे २ सय व्यक्ति मुछिएका छन् । पछिल्लो पटक असार १२ यता जग्गा हिनामिना प्रकरणमा पूर्वसहसचिव सुधीरकुमार शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका केही आरोपित पक्राउ परे पनि बाँकी अधिकांश सम्पर्कविहीन छन् । सम्पर्कमा रहेका कतिपय आरोपितसमेत राजनीतिक संरक्षण पाएर अनुसन्धानको दायरा बाहिर छन् । सीआईबीले केही आरोपितलाई पक्राउ गरी पुनः अघि बढाएको अनुसन्धानको समयसीमा भदौ ९ सम्म छ ।

Like