लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिँदै

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १७,

मुलुकमा प्रदेशमा लम्पी स्किन रोगको बढ्दो संक्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सप्ताहव्यापी खोप अभियान सुरु गर्ने तयारी गरेको हो । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयले साउन २५ गतेदेखि ३१ गतेसम्म प्रदेशको १३ जिल्लामा एकै पटक खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । खोप अभियान अन्तर्गत प्रदेशका करिव ४० हजार गाई भैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने मन्त्रालयको लक्ष्य छ । बागमती प्रदेशका १३ जिल्लामा रोगको संक्रमण फैलिन नदिन र संक्रमणको जोखिम नियन्त्रण गर्न खोप अभियानको तयारी गरिएको मन्त्रालयकी पशु चिकित्सक डा. सृजा वाग्लेले जानकारी दिइन् । उनका अनुसार रोगको संक्रमणको जोखिम तथा संक्रमणबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न खोप अभियान सञ्चालनमा मन्त्रालयले जोड दिएको हो । मन्त्रालयले गत साउन १० गते मन्त्रीस्तरीय बैठकबाट ‘लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन, २०८०’ कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । लम्पी स्किन रोगको ठोस उपचार नभएकाले रोग नियन्त्रणका लागि खोप अभियान महत्त्वपूर्ण कदम हुने उनले बताइन् । अभियान मन्त्रालय अन्तर्गत रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु मार्फत सञ्चालन गरिने र दैनिक रुपमा खोप लगाइएका पशुहरुको तथ्याङ्क संकलन गरी सार्वजनिकसमेत गरिने उनको भनाइ छ । गाईभैंसीमा लाग्ने संक्रामक विषाणुजन्य लम्पी स्किन रोगको संक्रमणका कारण दुध उत्पादन र पशुको उत्पादकत्वमा उल्लेख्य ह्रास आउने र कृषकहरुले ठूलो आर्थिक क्षतिको सामना गर्नु परेको वाग्लेले बताइन् । तीब्र गतिमा फैलिरहेको लम्पी स्किन रोगबाट आर्थिक, सामाजिक क्षेत्रमा सिर्जना भएका नकारात्मक असर नियन्त्रणका लागि मन्त्रालयले प्राथमिकताका साथ प्रतिकार्यका लागि खोप अभियान सञ्चालन गर्न लागेको उनले बताइन् । लम्पी स्किन रोग झिँगा, लामखुट्टे, किर्ना जस्ता किराको टोकाईबाट सर्ने उक्त रोगका कारण गाईभैंसीमा अत्यधिक ज्वरो आउने, दानापानी नखाने, छालामा गिर्खा आउने लगायतका लक्षणहरु देखापर्ने उनको भनाइ छ ।खोप अभियान सञ्चालनका लागि मन्त्रालयले तालिका नै बनाएर काम गरिरहेको डा. वाग्लेले बताइन् । मन्त्रालयले खोप अभियान सञ्चालनका लागि भ्याक्सिनेटर नियुक्तिको लागि ७ दिने सूचना प्रकाशन गरी सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले साउन २० गतेभित्र भ्याक्सिनेटर छनौट तथा नियुक्ति गरिसक्ने कार्यतालिका बनाएको छ । साउन २५ गते मन्त्रालयले रोगविरुद्ध खोप अभियानको औपचारिक उदघाटन गर्ने र सो कार्यलाई ३१ गतेसम्म निरन्तरता दिइने छ । भेटरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रहरुले सम्बन्धित स्थानीय तहबाट खोप लगाएको तथ्याङ्क संकलन गरी पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा पठाउनु पर्नेछ । साउन २३ मा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भ्याक्सिनेटर तथा स्थानीय तहहरुलाई अभिमुखीकरण, खोप तथा लजिष्टिक सामाग्री वितरण गर्ने, साउन २४ गते मन्त्रालयले पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ । त्यस्तै साउन २० मा प्रदेश दुग्ध विकास बोर्ड मार्फत् दुग्ध क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरुसँग खोप अभियान सम्बधी समन्वय बैठक सञ्चालन गर्ने कार्यतालिका छ भने साउन २२ गतेभित्र सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोप खरिद तथा भण्डारण तथा प्रचार प्रसार सामग्री ‍तयार पारेर प्रसारण गर्ने र मन्त्रालयले खोप कार्ड, खोप अभियान लोगो, खोप अभिलेख फारम, पम्पलेट तथा ब्रोसर छपाई र वितरण गर्ने कार्यसूची छ । त्यसैगरी साउन २५ गते मन्त्रालयले रोगविरुद्ध खोप अभियानको औपचारिक उदघाटन गर्ने र सो कार्यलाई ३१ गतेसम्म निरन्तरता दिइने छ । भेटरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रहरुले सम्बन्धित स्थानीय तहबाट खोप लगाएको तथ्याङ्क संकलन गरी पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा पठाउनु पर्नेछ । भदौ मसान्तभित्र केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरसँगको सहकार्यमा खोपको प्रभावकारिता अनुगमनको लागि सिरम संकलन गरी प्रारम्भिक परीक्षणको प्रतिवेदन सम्बन्धित प्रयोगशालाले प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयलाई उपलब्ध गराउने, निर्देशनालयले विज्ञ केन्द्रमार्फत सम्बन्धित स्थानीय तहलाई जानकारी गराउने र खोप कार्यको अनुगमन तथा पृष्ठपोषण तयार गर्ने कार्ययोजना छ ।

Like