बागमती प्रदेशको कांग्रेस संसदीय दलमा असन्तुष्टि
रासंसा/मकवानपुर, आषाढ २६,
मुलुकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र असन्तुष्टि तीब्र रुपमा चुलिएको छ । पछिल्लो समय संसदीय प्रक्रियामा कमजोरी भएको भन्दै संसदीय दलभित्र सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । बढ्दो असन्तुष्टिका बीच दलको नेता परिवर्तनको विषय पनि सुनिन थालेको छ । सरकार गठन, मन्त्रालय भागबण्डा, मन्त्री नियुक्ति, बजेट निर्माण तथा विनियोजनमा समन्वय नगरेको भन्दै दलको नेताप्रति कांग्रेस सांसदहरुको तीव्र असन्तुष्टि छ । सरकार गठन, मन्त्रिपरिषदलाई पूर्णता, मन्त्रालयको बाँडफाँट, मन्त्रीहरुको कार्य विभाजन, संसद बैठकमा उपस्थिति तथा प्रस्तुति र संसदीय समितिको गठन, सभापतिको विषयहरुमा दलको नेताले सक्रियता नदेखाएको भन्दै कांग्रेस संसदीय दलभित्र असन्तुष्टि बढेको हो । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिं लामा छन् । उनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा समेत छन् । लामाले संसदीय दलको नेताको निर्वाचनमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गरेका थिए । लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाएका थिए । बानियाँ प्रदेशसभाको पहिलो कार्यकालमा संसदीय दलको नेता समेत थिए । संसदीय दलमा पार्टी र एजेण्डाभन्दा पनि व्यक्ति र पहुँचको आधारमा निर्णय हुने गरेको सांसदहरु बताउँछन् । संसदीय दलको पछिल्ला बैठकमा छलफल नै नगरी गठबन्धन दलहरु बीच भएको सहमतिका आधारमा निर्णय गर्ने गरेको उनीहरुको भनाइ छ । बागमती प्रदेशसभामा कांग्रेस सबैभन्दा ठुलो दल छ । ठुलो दलको हैसियतले संसदीय प्रक्रियामा सशक्त उपस्थिति हुनुपर्नेमा त्यसो हुन नसकेको कांग्रेसका कतिपय सांसदको भनाइ छ । संसदीय दलमा राजनीतिक, प्रशासनिक र व्यवस्थापकीय विषयबारे छलफल नै नहुने गरेको सांसदहरुको गुनासो छ । दलको नेताले अन्य दलहरुसँग गरेको सम्झौता विपरीत कुनै पनि सदस्यलाई आफ्ना भनाइ राख्न समेत रोक लगाउने गरेको सांसदहरु बताउँछन् । दलको नेता सोझो हुँदा सरकार गठन, मन्त्रिपरिषद विस्तार र मन्त्रालय भागबण्डामा कांग्रेस कमजोर देखिएको प्रदेश सरकारका एक मन्त्रीले बताए । उनले दलको नेताले आफ्नो धारणासहित गठबन्धन दलसँग अडान लिन नसक्दा बिना विभागीय मन्त्रीले जिम्मेवारी पाउन नसकेको र बजेट निर्माणको प्रक्रियामा समेत भाग लिन नपाएको ती मन्त्रीले बताए । कांग्रेसका सांसद छिरिङ दोर्जे लामाले दलको नेताले समन्वय नगरेको कारण संसदीय प्रक्रियामा कांग्रेसको भूमिका कमजोर देखिन गएको बताए । दलको नेताले समन्वय गर्न नसकेका कारण बजेटमा पनि त्रुटि देखिएको उनको भनाइ छ । ‘दलको नेता दमदार हुन सकेन । त्यसको असर सरकारमा देखिएको छ । दलको नेताले दमदार तरिकाले आफ्नो अडान कायम राखेर अघि बढेको भए सरकारको नेतृत्वमा कांग्रेस पुग्न सक्ने सम्भावना थियो,’ उनले भने, ‘संसदीय दलको नेताको प्रस्तुति कमजोर बन्दा सबैभन्दा ठुलो दल कांग्रेसले कमजोर मन्त्रालयको नेतृत्व पाएको छ ।’ कांग्रेसका एक मन्त्री अझै विभाग विहीन अवस्थामा बस्नु परेको उनको भनाइ छ । उनले भने, ‘सायद दलको नेता चयन गर्ने समयमा गलत निर्णय लिइएछ ।’ ‘संसदीय प्रक्रियामा कांग्रेस कमजोर बनेको होइन । तर, संसदीय दलभित्र भने केही समस्या छन्,’ उनले भने, ‘संसदीय दलको नेताले सरसल्लाह र समन्वय गर्नुपर्ने हुन्छ । त्यो चाहिँ नगरेको अवस्था छ ।’ संसदीय दलभित्र छलफल हुनपर्ने विषयमा पनि छलफल हुन नसकेको उनले बताए । ‘जसका कारण बजेट बनाउने विषयमा पनि त्रुटि भएको छ,’ उनले भने, ‘सांसदले माग गरेको योजनाभन्दा पनि नेताहरुले माग गरेको योजाना बजेटमा समावेश भएको छ ।’ नेपाली कांग्रेसका एक सांसदले संसदीय दलको बैठकमा व्यक्ति प्रधान हुँदाको परिणामले नै सरकार, बजेट र संसदीय प्रक्रियामा सांसदहरुको असन्तुष्टि देखिएको बताए । संसदीय प्रक्रियामा कांग्रेस कमजोर बन्दा अन्य दलहरुले त्यसको फाइदा उठाएको उनको भनाइ छ । ‘छलफल नै नगरी निर्णय गर्दा सरकारमा विभाग नै नतोकी मन्त्री पठाइएको छ । दलको नेता र उपनेता दुवै मन्त्री बन्नु भएको छ ।यो पनि उचित देखिएको छैन,’ लामाले भने, ‘मुख्यमन्त्रीको दाबेदार दलको नेता दोस्रो वरीयतामा मन्त्री बन्नु भएको छ । उपनेता बिना विभागीय मन्त्री बन्नु भएको छ । सांसद भएका हिसावले नागरिकको प्रश्न हामीमाथि पनि आएको छ । त्यसको जवाफ दिन सक्ने अवस्था छैन ।’ नेपाली कांग्रेसका एक सांसदले संसदीय दलको बैठकमा व्यक्ति प्रधान हुँदाको परिणामले नै सरकार, बजेट र संसदीय प्रक्रियामा सांसदहरुको असन्तुष्टि देखिएको बताए । संसदीय प्रक्रियामा कांग्रेस कमजोर बन्दा अन्य दलहरुले त्यसको फाइदा उठाएको उनको भनाइ छ । ती सांसदका अनुसार संसदीय दललाई व्यवस्थित बनाएर दलको नेताले छलफलबाट निर्णय लिने वातावरण निर्माण गर्नुपर्ने हुन्छ । ‘नयाँ सांसदहरुलाई प्रशिक्षणको अभाव छ । प्रशिक्षण दिएर संसदीय भूमिकालाई सशक्त बनाउन दलको नेताले अग्रसरता देखाउनु पर्छ,’ उनले भने । ‘संसदीय दलमा व्यक्ति र पहुँचका आधारमा निर्णय हुने गरेको छ । पछिल्लो समयका गतिविधिले त्यसलाई प्रमाणित गरेको छ । कांग्रेसको कमजोरीका कारण विपक्षी दलहरुलाई फाइदा पुग्ने गरेको छ,’ उनले भने, ‘सांसदहरु सबै नयाँ हुनुहुन्छ । मन्त्री बन्नु भएकाहरु सबै नयाँ हुनुहुन्छ । संसदीय प्रक्रियाको ज्ञान र अध्ययनको कमी हुँदा समस्या देखिएको छ ।’