आजदेखि दिल्लीमा प्रधानमन्त्री प्रचण्डको महत्त्वपूर्ण भेटघाट

Share to:

एजेन्सी,

मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छन्। उनी आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चारदिने भ्रमणमा आएका हुन्। उनी शुक्रबार ४ः३५ बजे राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि उनी ८ः३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन्। शनिबार त्यहाँको काममा सहभागी भई दिल्ली हुँदै ४ः२० मा स्वदेश फर्किने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय पक्षसँगको महत्वपूर्ण भेटवार्ता बिहीबारदेखि हुने भएको छ। प्रधानमन्त्री दाहाल बिहान १०ः३० बजे राजघाटमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। त्यसलगत्तै भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने तालिका छ। हैदरावाद हाउसमा बिहान ११ बजे दाहाल र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुने तय भएको छ। त्यसलगत्तै मध्याह्न १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने भएका छन्। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बुधबार नै प्रधानमन्त्री दाहालसँग होटल आइसीटी मौर्यामा भेट गरेका छन्। सोही क्रममा भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेट गरे। उनीहरूबीच नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘प्रधानमन्त्रीका रूपमा यो मेरो चौथो भ्रमण हो। हाम्रा दुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई नयाँ उचाई दिई अझ मजबुत र जनस्तरसम्म लैजान यस भ्रमणको मूल उद्देश्य हो’, उनले भने, ‘भोलि (बिहीबार) माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता हुने तय भएको छ। भोलि नै केही सम्झौताहरूमा हस्ताक्षर हुनेछन्।’ दाहाल बुधबार बारखम्बास्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भए। समय–समयमा हुने भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्या‍एको दाबी उनले गरे। यसपटकको भ्रमणको उद्देश्य पनि दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु रहेको उनको भनाइ थियो। उनले विदेश बस्ने नेपालीहरूलाई मतदान गर्ने अधिकार दिनसमेत सरकार प्रतिबद्ध रहेको बताए। उनले भ्रमणको तालिकाबारे पनि जानकारी गराएका थिए। दाहाल नेपाल एयरलायन्सको विमानबाट बुधबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। प्रधानमन्त्री दाहाललाई भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीलगायत उच्च अधिकारीलाई प्रधानमन्त्री सम्मिलित भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका थिए। प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे उडान नम्बर आरए २१७ बाट भारततर्फ प्रस्थान गरेका थिए। सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो। यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पर्यटन राज्यमन्त्री र त्यसअघि केपी शर्मा ओलीलाई विदेश सचिवले स्वागत गरेका थिए। विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको उपस्थिति थियो। भ्रमण टोलीमा ८८ जनाको सहभागिता रहने जनाइएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको साथमा छोरी गंगा दाहाल रहेको विज्ञप्तिमा जनाएको छ। यस्तै परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसहित मुख्यसचिव, सचिवहरु, सरकारी उच्च पदस्थ व्यक्ति भ्रमण टोलीमा सामेल रहेका जनाइएको छ। प्रधानमन्त्री दाहाल भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उनको अनुपस्थितिमा संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई तोकेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमा जनाएकी छन्।

Like