बनाए कीर्तिमान रवि लामिछानेले
रासंसा/चितवन, बैशाख १३,
मुलुकमा रास्वपा सभापति रवि लामिछानेको सांसद पद नागरिकता प्रकरणमा गुम्यो। त्यही भएर चितवन–२ मा उपचुनाव भयो। लामिछाने त्यही उपचुनावबाट कीर्तिमानी जित निकाल्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले सर्वाधिक मतका साथ जित निकालेका हुन्। निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर पनि सर्वाधिक देखिएको छ। लामिछानेले सबै वडामा फराकिलो अन्तर कायम गरे। कांग्रेस र एमालेको मत भने घटेको छ। अघिल्लो पटक कम मत आएको इच्छाकामना गाउँपालिकामा रास्वपाको रणनीति सफल भएको छ। त्यहाँ गएको निर्वाचनमा रास्वपाले तेस्रो मत पाएको थियो। यसपटक अन्य उम्मेदवारभन्दा १ हजार ३ सय ८३ अन्तर बढी आयो। लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याउँदा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मात्र प्राप्त गरे। यो भनेको ४२ हजार ९ सय ६२ को अन्तर हो। एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याए। लामिछानेले मंसिरको निर्वाचनमा खसेको ८४ हजार ३ सय १५ मध्ये ४९ हजार ३ सय मत ल्याएका थिए। उपचुनावमा ४ सय ८० मतदाता थपिँदा ६ हजार ३८ मत कम खसेको थियो। तापनि उनले ४ हजार ८ सय ७६ मत बढी ल्याए। गत मंसिरमा ६७.६३ प्रतिशत खसेको थियो। यसपटक ६२.७७ प्रतिशत मतदान भयो। १ लाख २४ हजार ६ सय ९५ मतदातामध्ये ७८ हजार २ सय ७७ मत खसेको थियो। लामिछानेले मंसिरमा इच्छाकामनामा २ हजार ९ सय ७५ मत मात्रै ल्याएका थिए। उनले यसपटक ४ हजार ३ सय ५८ मत ल्याएका छन्। त्यस बेला ३ हजार ६ सय २३ मत ल्याएको एमालेले यसपटक २ हजार ५ सय ८५ मात्रै पायो। ३ हजार २ सय १६ ल्याएको कांग्रेसले २ हजार २ सय ५ मात्रै पायो। मंसिरमा ८७ मत आएको १ नम्बर वडामा यसपटक ३ सय १९ ल्याए। पहिले १ सय ७३ मत आएको ३ नम्बर वडामा यसपटक ३ सय ३७ मत पाए। पुराना दलको विरासत भत्काउँदै लामिछानेले सम्मानजनक जित हासिल गरेका छन्। कार्यकर्ताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप पुराना दलले खेप्नुपरेको छ। हरेक पटक मतदान गरे पनि पुराना दलका कारण शासन फेरिए पनि शैली नफेरिएको गुनासो गरेका थिए। लामिछानेमाथि परिवर्तनको विश्वास देखाएका छन्। राजनीतिक परिवर्तन भए पनि जनताले विकासमा परिवर्तन देख्न नपाएको भन्दै कार्यकर्ताले वितृष्णा मतमार्फत पोखेका छन्। लामिछानेले मंगलबार नै निर्वाचित भएको प्रमाणपत्र बुझेका छन्। ‘अघिल्लो पटक म नयाँ थिएँ। छोटो अवधिमा पहाडी भेगमा चिनिएको थिइनँ। यसपटक सबैमाझ पुगेँ’, लामिछानेले भने, ‘सबैको माया पाएको छु। भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा लागिपर्नेछु।’ उनले सहरी क्षेत्रमा पनि मत बलियो बनाए। भरतपुर र इच्छाकामनाको ५६ हजार ५ सय मतमा लामिछानेले ४० हजार ७९ ल्याए। अन्य दलको पकड मानिएको वडामा भारी मत ल्याए। उनले हरेक वडामा बढाए। भरतपुर–१ मा २ हजार २ सय १० मत ल्याए। उक्त वडामा कांग्रेसका श्रेष्ठले ४ सय ८३ र एमालेका न्यौपानेले ३ सय १७ मात्रै ल्याए। लामिछानेले सुशासन र समृद्धि आफ्नो एजेन्डा भएको बताए। ‘जनताले खोजेको भ्रष्टाचार नियन्त्रण र सुशासन हो। हामी त्यसैमा लाग्नेछौं’, उनले भने। भ्रष्टाचार मुद्दा नउठाए सरकारलाई समर्थन दिनुको औचित्य नहुने उनले बताए। ‘सरकारलाई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ। न्यूनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने बुँदा हट्यो’, उनले भने, ‘सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने हो।’ एमालेका न्यौपानेले निर्वाचनको परिणामले जित्ने हार्ने सबैलाई जिम्मेवारी दिएको बताए। ‘लोकतन्त्रमा जितहार स्वाभाविक प्रक्रिया हो’, उनले भने, ‘जस्तोसुकै अप्ठ्यारोमा पनि जनताको सेवा र विकासका लागि खटिरहनेछु।’ निर्वाचित भएपछि रास्वपाले गेस्ट हाउस चौरअघि धन्यवादसभा गरेको थियो। त्यसपछि क्षेत्रका विभिन्न स्थानमा र्याली गरेका थिए। कांग्रेसका श्रेष्ठले जनताले परिवर्तन चाहेको कारण मतपरिणामले पुरानो दललाई सच्चिने सन्देश दिएको बताए। ‘ठूला दललाई मतपरिणामले या त सच्चिनुपर्छ या सक्किनुपर्छ भनेको छ। हामीलाई सक्किनु मन्जुर छैन। हामी सच्चिने हो’, उनले भने, ‘हामी हाम्रो पार्टीभित्र भएका कमिकमजोरी सच्याउँछांै। जनताको अपेक्षाअनुसार काम गर्छौं।’ उनी सत्ता गठबन्धनका चार दलबाट उम्मेदवार बनेका थिए। उनले जनताले गठबन्धन नरुचाएको बताए।