परम्परागत दललाई उपनिर्वाचनले झन् ठूलो धक्का

Share to:

रासंसा/तनहुँ, बैशाख १२,

मुलुकमा उपनिर्वाचनको मतपरिणामले परम्परागत ठूला दललाई धक्का दिएको छ । तनहुँ–१ मा ऐतिहासिक वर्चस्व जमाउँदै आएको कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रतिपक्षी एमालेलाई निकै पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् । तनहुँ–१ मा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रतिपक्षी एमालेलाई निकै पछि पार्दै रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले विजयी, रास्वपा सभापति रवि लामिछानेले चितवनमा प्रतिस्पर्धीलाई निकै पछाडि छाडे, यही पार्टीका सभापति रवि लामिछानेले चितवनमा प्रतिस्पर्धीलाई निकै पछाडि छाडेका छन् भने बारा–२ मा पनि जसपा सभापति उपेन्द्र यादव र जनमतका शिवचन्द्र कुशवाह प्रतिस्पर्धामा छन् । एमाले उम्मेदवार निकै पछाडि छन् भने कांग्रेस, माओवादी र एकीकृत समाजवादी जसपाका समर्थक मात्र छन् ।
वाग्ले विजयनजिक पुगिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले ठूला दलप्रति मतदाताको वितृष्णा देखिएको स्विकारेका छन् । आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्न सोमबार बसेको संसदीय दल बैठकमा देउवाले पार्टीको बलियो सांगठनिक प्रभाव क्षेत्रमै पराजित हुने परिस्थिति बनेको भन्दै अब कांग्रेस परिस्कृत भएर अघि बढ्नुपर्ने बताए । ‘उपनिर्वाचनमा जनताले ठूला दलप्रति वितृष्णा देखाए, हामीले धेरै पहिलेदेखि जित्दै आएको राष्ट्रपतिज्यूको निर्वाचन क्षेत्रमै हारिरहेका छौं,’ देउवालाई उद्धृत गर्दै सांसद रामहरि खतिवडाले कान्तिपुरसँग भने, ‘जनताले के चाहन्छन् ? के मागिरहेका छन् ? जनताका मागलाई केन्द्रमा राखेर बजेट निर्माणमा लाग्नुहोला । अब जनचाहनामा केन्द्रित भएर पार्टीलाई पनि एकढिक्का बनाउँदै अघि बढ्नुपर्ने बेला आएको छ ।’ चितवन र बारामा सोमबार मात्र मतगणना सुरु भएकाले परिणाम प्रारम्भिक रूपमा मात्र आएको छ । कांग्रेसी सम्बन्ध त्यागेर वाग्लेले वैकल्पिक राजनीतिक मार्ग समात्दा तनहुँमा जति क्षति कांग्रेसलाई भएको छ, त्योभन्दा बढी क्षति देशको दोस्रो ठूलो दल एमालेले पनि भोगेको छ । वाग्लेको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराई थिए भने एमाले उम्मेदवार सर्वेन्द्र खनाल धेरै पछाडि । यद्यपि एमाले नेतृत्वबाट यसबारेमा औपचारिक प्रतिक्रिया आएको छैन । देउवाले पनि स्विकार्ने गरी पुराना राजनीतिक दलप्रति वितृष्णा किन आयो ? राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसीले पुराना दलका नेताले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा नगरेको, खासगरी युवा मतदातालाई आशा जगाउन नसकेको र पारदर्शी राजनीति नगरेका कारण यस्तो परिणाम आएको बताए । चार महिनाअघि भएको निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेलले फराकिलो अन्तरले जितेका थिए । पौडेल राष्ट्रपति निर्वाचित भएपछि आइतबार भएको उपनिर्वाचनमा भने कांग्रेसले पकड जोगाउन सकेन । तनहुँ–१ राष्ट्रपति पौडेल, पूर्वमन्त्री गोविन्दराज जोशी, रामचन्द्र पोखरेल, ध्रुव वाग्ले र शंकर भण्डारीहरूको समेत प्रभाव क्षेत्र हो । यहाँ ०६४ र ०७४ बाहेकका सबै निर्वाचन कांग्रेसले जितेको थियो । वाग्लेको जितले कांग्रेस नेतृत्वलाई सम्हालिएर अघि बढ्न दबाब परेको छ भने रास्वपा वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा उदाएको छ । ‘दोस्रो जनआन्दोलन र संविधान जारी भएपछि मतदाताले पुराना दलबाट ठूलो आशा राखेका थिए तर उनीहरू सत्ता दाउपेचमै लिप्त भए,’ उनले भने, ‘त्यसकै परिणाम मंसिरको आमनिर्वाचनमा देखिएको थियो । अहिले पनि तनहुँ–१ मा यसको स्पष्ट संकेत आइसकेको छ ।’ पौडेल राष्ट्रपति भएपछि तनहुँ–१ मा कांग्रेसले त्यहीँ जन्मिएर नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा क्रियाशील रहेका नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको थियो । स्थानीयस्तरमा नागरिकसँग भिजेर ग्रामीण विकासको नेतृत्व गरेका भट्टराई पहिलो पटक संसदीय चुनावमा प्रत्याशी बनेका हुन् तर उनले वाग्लेको पक्षमा उर्लिएको जनलहर रोक्न सकेनन् । कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले उपनिर्वाचनबाट अप्रत्याशित परिणाम आएको बताए । ‘हामीले यस्तो होला भन्ने कल्पना गरेका थिएनौं, यो अप्रत्याशित हो,’ उनले भने, ‘सायद जनताले परिवर्तन नै खोजेका रहेछन् ।’ प्राध्यापक केसीले गत मंसिरको जनादेशलाई पुराना पार्टीले गम्भीर रूपमा नलिएको परिणाम केही यस पटक भोगेको र धेरैचाहिँ २०८४ को निर्वाचनमा अझ व्यक्त हुने स्पष्ट संकेत देखिएको बताए । ‘यो पुराना पार्टीका लागि गम्भीर चुनौती हो, आगामी आमनिर्वाचनमा पुराना दलले अझ चुनौती सामना गर्नुपर्नेछ,’ उनले भने, ‘नेताका क्रान्ति, जेल बसेका कथा, सत्तामा पुगेपछि गर्ने वाचाले खास गरी युवा मतदाताको रोटी सेक्नेवाला छैन । त्यसैले उनीहरू स्वर्णिम वाग्लेजस्ता उम्मेदवार रोज्दै छन् ।’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने उपनिर्वाचनबाट रास्वपा परम्परागत सोचले ग्रस्त मूलधारका पार्टीका लागि सशक्त विकल्प भएर उदाएको बताउँछन् । ‘तत्कालै अर्को चुनाव छैन, भएको भए के हुन्थ्यो भन्ने हो तर अहिलेलाई रास्वपा सशक्त विकल्प भएर उदाएको छ,’ उनी भन्छन्, ‘यसले मूलधारका पार्टीहरूलाई अब सम्हालिएर, सुध्रिएर अघि बढ्न चर्को दबाब परेको छ ।’ वाग्ले गत मंसिरमा भएको निर्वाचनमै कांग्रेसबाट उम्मेदवार बन्न चाहन्थे । उनी विगतमा कांग्रेसकै सरकार हुँदा पटक–पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षदेखि पार्टी घोषणापत्रको तयारी र नीति निर्माणको तहमा विज्ञको भूमिका निभाउन पाएका उनले चुनावमा टिकट भने पाएनन् । एक पटक महाधिवेशन प्रतिनिधि मनोनीत भएका वाग्ले कांग्रेसको सक्रिय राजनीतिमा भने कहिल्यै थिएनन् । तैपनि त्यसबेला उनलाई टिकट नदिइएको भन्दै कांग्रेस नेतृत्व सामाजिक सञ्जालमा आलोचित बन्यो । टिकट नपाए पनि पार्टीका उम्मेदवारको पक्षमा खुलेर भाषण गर्दै देश दौडाहा गरेका वाग्ले त्यसबेलै कांग्रेस उम्मेदवार पौडेललाई भोट माग्न तनहुँ पुगेका थिए । गत निर्वाचनमा टिकट नपाएका कारण सामाजिक सञ्जालमा ठूलो जमातको समर्थन बटुलेका वाग्ले अहिले कांग्रेसको वैकल्पिक शक्ति बनाउन अग्रसर बने र एकै पटकमा राष्ट्रिय राजनीतिका मूल प्रवाहमा पुर्‍याइदिएको छ । त्यसो त कांग्रेसले वाग्लेलाई रोक्न कमजोर बल लगाएको भने होइन । भट्टराईको उम्मेदवारी मनोनयनमै तनहुँ पुगेका महामन्त्री गगन थापा चुनावी अभियानको अन्त्यमा अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित फेरि पुगे । कांग्रेसका केन्द्रीय पदाधिकारी र अधिकांश केन्द्रीय सदस्यहरूले तनहुँ पुगेर भट्टराईका लागि मत मागे । राजनीतिक विश्लेषक आचार्य रास्वपा वैकल्पिक शक्तिका रूपमा उदाउँदा कांग्रेसलाई सबैभन्दा धेरै चुनौती रहेको बताउँछन् । ‘कांग्रेसलाई अहिलेसम्म सबै कम्युनिस्ट मात्रै छन्, म मात्रै लोकतान्त्रिक हुँ भन्ने सुविधा थियो तर स्वर्णिमको जितसँगै रास्वपा कांग्रेसको विकल्प बनेर अघि आएको छ । यो कांग्रेस र युवा नेताहरूका लागि समेत चुनौती हो ।’ त्यति मात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल र दुई पूर्वप्रधानमन्त्रीहरूसमेत लिएर गठबन्धनको चुनावी सभामा तनहुँ पुगेका सभापति देउवाले मञ्चबाटै गोविन्द भट्टराई जिताए, मन्त्री बनाउने घोषणा गरे । तर, शीर्ष नेताहरूले नै आश्वासन बाँडे पनि यस पटक मतदाता आश्वस्त भएनन् । कांग्रेसले उपनिर्वाचनकै लागि तनहुँमा पार्टीसँगै अन्तरसंघर्षमा रहेका पूर्वगृहमन्त्री गोविन्दराज जोशीमाथिको कारबाही फुकुवा गरेको थियो । तर, कारबाही फुकुवामा असन्तुष्ट जोशीले कांग्रेसलाई मत मागेनन् । ‘कांग्रेसले पहिलेको परिणाम जोगाउन सबै प्रयास गरेकै हो, तुलनात्मक रूपमा उम्मेदवार पनि कमजोर होइनन् तर अब मूलधारका दलहरूलाई हिजोजस्तो निर्वाचनमा पार्टीले जसलाई उभ्याए पनि कार्यकर्ताले मत हाल्नुपर्छ भनेर सोच्ने सुविधा रहने देखिएन,’ विश्लेषक आचार्य भन्छन्, ‘जतिसुकै संगठन गरे पनि, काम गरे पनि केन्द्रको नेतृत्वको अनुहारले भुइँ तहमा प्रभाव पार्छ भन्ने पनि पुष्टि भएको छ । उपनिर्वाचनमा मान्छेहरूले पार्टीको नेतृत्वको पनि अनुहार हेरेका छन् ।’ ०७४ मा निर्वाचन क्षेत्र समायोजनपछि पौडेलविरुद्ध बागी उम्मेदवार बनेका जोशीलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको थियो । जोशीको विद्रोहकै कारण ०७४ मा पौडेल पराजित भए । गत मंसिरको निर्वाचनमा भने जोशीको उम्मेदवारीले पनि पौडेललाई रोक्न सकेन । मूलधारका दलका लागि अब संकटको घण्टी बजेको उनी बताउँछन् । ‘राजनीतिमा युवा हस्तक्षेप बलियो गरी देखिएको छ । उपनिर्वाचनमा देशभित्रबाट मात्रै होइन, बाहिरबाट पनि युवाहरूले बलियो हस्तक्षेप देखाए,’ उनले भने, ‘हिजोसम्म बाउबाजे कांग्रेस, एमाले भएका कारण मत हाल्नेहरूले पनि अहिले मत बदले, बाबुआमाको भोटमा विदेशमा भएका छोराछोरीको हस्तक्षेप भएको देखियो ।’ प्राध्यापक केसीले प्रधानमन्त्री, कांग्रेस सभापति देउवाको कुरा नपत्याउनु नै उनीहरूको विगत जिम्मेवार भएको बताए । ‘पार्टी सरकारमा पुगेर जनताले के पाए ? शिक्षा, स्वास्थ्य, रोजगारी सुधार भयो कि भएन ? जीवनस्तर सुधार भयो कि भएन ? सारमा यी काम भएनन्,’ उनले भने, ‘त्यसकारण जतिसुकै पुराना पार्टीको जम्बो टोली तनहँॅ पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे पनि बेवास्ता गरे ।’

Like