रास्वपा सांसद श्रेष्ठ, सहकारीको घोटाला नफर्स्याउँदै २ करोड काण्डमा
रासंसा/कास्की, चैत्र २७,
मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ आइतबार साथी किसान सहकारी संस्थाको आर्थिक समस्या कसरी सुल्झाउने भनेर छलफलमा थिए। आफू अध्यक्ष हुँदा उक्त सहकारीको झन्डै १ करोड रकम हिनामिना गरेको आरोप उनलाई लागेको छ। त्यही बेला डा. श्रेष्ठले आफू मन्त्री बन्न २ करोड रकम चाहिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भयो। उक्त अडियोमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै उनले प्रसाईंसँग रकमका विषयमा कुरा गरेका छन्। पदबाट हट्दै गर्दा डा. श्रेष्ठले नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप छ। त्यसकै विषयमा पुरानो र नयाँ सञ्चालक समितिका पदाधिकारीबीच उनकै मेडिकलमा छलफल चलिरहेको थियो। नयाँ काण्ड आएपछि त्यसबारे डा. श्रेष्ठलाई जिज्ञासा राखेको बैठकमा सहभागीमध्ये एक जनाले बताए। ‘उहाँले खै म दुर्गा प्रसाईंलाई चिन्दिनँ भन्ने जवाफ दिनुभयो’, उनले भने। उनका अनुसार अरूले अर्को प्रश्न गरे– ‘हामी सबैले प्रसाईंलाई चिन्दछौं। तपाईंले चिन्नु हुन्न र ?’ उक्त प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसकेको छलफलमा सहभागीले बताए। त्यसपछि भने आफ्ना पीए, परिवार र पत्रकार छलफल चलिरहेको मेडिकलमा आएपछि डा. श्रेष्ठ बाहिरिएका थिए। उठ्न बाँकी पैसा नउठ्दा समस्या भएको सहकारीका सहसचिव हर्क नेपालीले सुनाए। उनका अनुसार बजारबाट ९९ लाख उठ्न र १ करोड १५ लाख तिर्न बाँकी छ। ‘बचतकर्ताको आप्नो बचत रकम माग्दा दिन नसक्दा सहकारीका पूर्वअध्यक्षका हिसाबले डा. श्रेष्ठमाथि रकम हिनामिनाको आरोप लागेको हो’, नेपालीले भने। किसान–किसान मिलेर किसानको हितका लागि सहकारी खोलेको र डा. श्रेष्ठको अहिले पनि कास्कीकोटमा कुखुरा फार्म रहेको उनले बताए। त्यसअघि डा. श्रेष्ठले छलफलमा सहकारीको समस्या समाधान गर्न पारदर्शी भएर छानबिन गर्नुपर्ने बताएका थिए। रकम हिनामिनामा आफ्नो नाम देखिए सबै रकम तिर्न आफू तयार रहेको बताएको छलफलमा सहभागीको भनाइ छ। पूर्वअध्यक्ष नयाँ काण्डमा मुछिएर निस्किएपछि सहकारीका पदाधिकारी पोखरा महानगरपालिकाको सहकारी महाशाखा प्रमुख भरतराज पौडेलसँग समाधान खोज्न पुगेका थिए। डा. श्रेष्ठ गत कात्तिक ९ सम्म सहकारीका अध्यक्ष थिए। उक्त दिन संस्थाको २० औं साधारणसभाले डा. सनी पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। पुरानो समस्या नयाँ समितिलाई टाउको दुखाइ भएपछि समाधानका लागि आइतबार पनि छलफल चलेको हो। पोखरा महानगरपालिकाले यसअघि नयाँ सञ्चालक समितिलाई तीन महिनाभित्र बचत फिर्ता गर्न पत्र पठाएको थियो। महानगरपालिकाले छानबिन गर्ने अवस्था आए दीर्घकालीन रूपमा जानेबारे पनि आफूले सहकारीका प्रतिनिधिलाई बताएको पनि उनले सुनाए। बचतकर्ताको रकम फिर्ता दिने वातावरण छिटो मिलाउन सुझाएको उनले बताए। त्यो क्रममा सहजीकरण केही चाहिए महाशाखा तयार रहेको पनि बताएको उनले सुनाए। यसअघि महाशाखामा भएको बैठकमा सहकारीको समस्या आन्तरिक छलफलबाटै मिलाउने गरी बैठक सकिएको थियो। आइतबार फेरि समस्या कसरी समाधान गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफलका लागि सहकारीका पदाधिकारी पोखरा महानगरपालिकाको सहकारी महाशाखामा पुगेका हुन्। तोकिएको मिति नजिकिएपछि समस्या समाधान गर्न आइतबार पहिलो बैठक डा. श्रेष्ठको मेडिकलमा र पछि महानगरपालिकाको सहकारी शाखामा बसेको हो। शाखा प्रमुख पौडेलले समस्या समाधानका लागि पहिला लेखापरीक्षण प्रतिवेदनले के भन्छ भन्ने विषयमा जान सुझाए। हिसाब मिल्दैन भने खाएका मासेकालाई जिम्मेवार बनाएर प्रतिवेदन ल्याउनुपर्ने उनको सुझाव थियो। उठ्न बाँकी पैसा धेरै भए उठाउनतिर लाग्न र घाटा भएको हो भने के–के घाटा भएको हो हिसाब निकाल्न पनि पौडेलले भनेका थिए। उनले नयाँ कार्यसमितिले पुरानो समस्या हो भनेर पन्छिन नपाउने स्पष्ट पारेका थिए। मन्त्री बन्न रकम मागेको अडियो बाहिरिएपछि रास्वपाले सांसद डा. श्रेष्ठलाई सांसद र पार्टी सदस्यका रूपमा काम गर्न रोक लगाएको छ। पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिले यस विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न उनलाई भनेको छ।null ‘डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिइएको छ’, महामन्त्री एवं प्रवक्ता मुकुल ढकालद्वारा आइतबारै जारी विज्ञप्तिमा लेखिएको छ, ‘यो छानबिन पूरा नभएसम्म सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि कामकारबाही नगर्न नगराउनसमेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ।’ समितिलाई नै आफ्नो स्पष्टीकरण पेस गर्न समय तोकिएको उनले बताए। यो प्रकरणमा कसैलाई बचाउने र कसैलाई फसाउने पार्टीको नियत नरहेको खड्काले बताए। डा. श्रेष्ठ गलत प्रमाणित भए पार्टीले जोगाउने वा पक्षपोषण गर्ने लाइनबाट एक मिनेट पनि नसोच्ने र कारबाहीको भागिदार हुने खड्काको भनाइ छ। तर, कतैबाट अडियो आउँदैमा वा उपनिर्वाचन आउनै लाग्दा अडियो रेकर्ड रिलिज गर्दैगर्दा छानबिन नगरी यही नै हो भन्नु पनि गलत हुने उनले सुनाए। निर्वाचनलाई प्रभाव पार्ने गरी बाहिर आएको हो भन्ने बुझाई रहेको उनले बताए। अडियो प्रकरण बाहिरिएपछि पार्टीले बैठक डाकेर छानबिन प्रतिवेदन बुझाउन अनुशासन समितिलाई अनुरोध गरेको रास्वपाका गण्डकी प्रदेश महासचिव अशोक खड्काले बताए। उनका अनुसार पार्टी सदस्य र सांसदका रूपमा कुनै पनि कामकारबाही नगर्न श्रेष्ठलाई निर्देशन दिइएको छ। श्रेष्ठले यो सम्पादित भएको बताएको उनले सुनाए। आफू त्यति बेला मन्त्रीको दौडमा नरहेको पनि स्पष्ट पारेको खड्काको भनाइ छ। नियतबस कसैको षड्यन्त्र भए पनि पार्टीले एक्सन लिने उनले सुनाए। रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका डा. श्रेष्ठ पोखरा २४ कास्कीकोटका बासिन्दा हुन्। उनको पोखरा पृथ्वीचोकमा शुभबिहानी क्लिनिक छ। उनी यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पनि कार्यरत थिए। उनी विभिन्न पेसा व्यवसायमा आबद्ध छन्। उनको कुखुरा फार्म पनि रहेको छिमेकीले बताएका छन्। रवि लामिछानेले पार्टी खोलेपछि वैकल्पिक राजनीतिको सुरुवात यही पार्टीबाट हुन सक्छ भनेर त्यता लागेको राजनीतिक सहकर्मी बताउँछन्।
डा. श्रेष्ठ र प्रसाईंबीचको मुख्य संवाद
ढाकाकुमार श्रेष्ठ : स्वास्थ्य हामीले पाउने भयौं। पार्टीलाई अलिअलि सहयोग गर भनेर त्यहाँ…कोर टिम छ। २–३ जना। तिनीहरूले भनिराछन्। साढे २ जति चाहियो भन्दै थिए मलाई हिजो। मेरो पक्काचाहिँ पक्का भयो। त्यो आज मैले फिक्स गर्नु छ के दाइ, सर।
दुर्गा प्रसाईं : ए
ढाकाकुमार श्रेष्ठ : अब त्यही भएर अलिकति। म फेरि आर्थिकमा त्यस्तो साह्रै एकदम उ छैन।
दुर्गा प्रसाईं : अँ।
ढाकाकुमार श्रेष्ठ : अब यो मन्त्री पनि बन्न पर्यो। अब यो धोइपखाली गरेर यो स्वास्थ्य क्षेत्र पूरा सुधार पनि गर्नु छ। मैले धेरै गर्छु भनेर सोच गर्या छु।
दुर्गा प्रसाईं : हजुर।
ढाकाकुमार श्रेष्ठ : त्यसमा हजुरको सहयोग, सपोर्ट चाहियो भन्ने कुरा नै हो।
दुर्गा प्रसाईं : डाक्टर साबको नाम ढकबहादुर के हो ?
ढाकाकुमार श्रेष्ठ : ढाकाकुमार श्रेष्ठ।
दुर्गा प्रसाईं : अच्छा मैले त्यो कुरो बुझेँ। सल्लाह गरेर अघि बढौंला। तपाईंसँग मैले एउटा कुरा भन्न खोजेको, अहिले हामी त ह्वाट्स एपमा छौं। मतलब भएन। मुकुलहरूले त अनि नलिने भन्थे त फेरि स्वास्थ्य र शिक्षा।
ढाकाकुमार श्रेष्ठ : स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यति थाहा छैन सर यो। आन्तरिक कुरा हो। मुकुल पनि त्यो कोर टिममा हुनुहुन्न के। बाहिर बाहिर महामन्त्री नै हो। हजुरलाई पार्टीको कुरा गर्दा त्यहाँ २÷३ जना छुट्टै हुनुहुन्छ के। पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई। त्यो टिमबाट मलाई कुरा आएको। आज मैले फिक्स गर्नुपर्छ पैसा। उधारो हुन्न भन्छन् फेरि।
दुर्गा प्रसाईं : क्यास अढाई करोडको कुरा आयो। दुई करोड ?
ढाकाकुमार श्रेष्ठ : दुई साढे दुई भन्या छन्। अहिले मैले एक दिएँ भने पनि उनीहरू मान्छन् होला। पछि चेक दिए पनि मान्छन् एक–दुई दिन, दुई/तीन दिनको।
दुर्गा प्रसाईं : आज बन्द छ। सुन्नुस् है कुरा। बैंकबाट ९ लाख ९९ हजारभन्दा बढीको चेक साटिँदैन। सुन्नुस् क्लियर कुरा। एउटा टाइम राखेर गर्ने हो भने मैले दिन्छु, म सहयोग गर्छु तपाईंले भनिहाल्नुभयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ?
ढाकाकुमार श्रेष्ठ : त्यो त म गर्छु।
दुर्गा प्रसाईं : म भोलि बेलुका काठमाडौं आउँछु। तपाईं र म भेटौला। तपाईंको यो उस्को ग्यारेन्टी गर्नुस्। तपार्इंलाई गर्ने सहयोग म गर्छु। तपाईंले भन्नुभयो नि, जुन दुई। म आएर गरौंला। तर, अलिकति टाइम लाग्छ है। पैसा मिलाएर निकाल्नुपर्छ। त्यत्तिकै निस्किँदैन हचुवामा। अहिले त बैंकले जम्मै सिस्टम खोज्छ। त्यति सजिलो हुँदैन। भ्वाक भ्वाक बाकसमा पैसा लिएर त गाह्रो छ।
ढाकाकुमार श्रेष्ठ : अँ।
दुर्गा प्रसाईं : कुरो बुझ्नु भयो के ? त्यो त कसैले पनि दिन सक्दैन, आजको आजै पैसा। नेपालमा कसैले सक्दैन।
ढाकाकुमार श्रेष्ठ : त्यही त।
दुर्गा प्रसाईं : अब तपाईंले के कुरा ग्यारेन्टी गर्नुस् भने दुई करोड पैसा मैले दिने भएँ तपाईंलाई हैन।
ढाकाकुमार श्रेष्ठ : हजुर।
दुर्गा प्रसाईं : यो पैसा पनि त तपाईंले उही रविलाई त बुझाउनुपर्ला नि हैन भोलिपर्सि ?
ढाकाकुमार श्रेष्ठ : अँ। मैले रवि सरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन। बाहिरको २ जना ३ जना साथीहरू हुनुहुन्छ।
दुर्गा प्रसाईं : अँ।
ढाकाकुमार श्रेष्ठ : उहाँहरूलाई दिने हो। अब पार्टीलाई जान्छ भनेका छन् क्यारे।
दुर्गा प्रसाईं : अँ। अब यी सबै कमाउने त हुन् नि भाइ। अब के भन्नु ?
ढाकाकुमार श्रेष्ठ : अँ, अब कसरी गर्छन् थाहा छैन। पार्टीमा जान्छ कि जान्न त्यो पनि मलाई थाहा छैन। मैले सोधेकै छैन क्या। पार्टी कमजोर छ। अहिले स्रोत यति छ साह्रै गाह्रो छ भन्या छन्।
दुर्गा प्रसाईं : ए।
दुर्गा प्रसाईं : ल सर ठीकै छ। म भोलि बेलुका नभए पर्सि आउँछु अनि दाजुभाइ भेटौंला नि त। तपाईँले ग्यारेन्टी गर्नुस् म दिन्छु भनेर। तर, मलाई अलिकति टाइम चाहियो भन्नुस्।
ढाकाकुमार श्रेष्ठ : अँ।
दुर्गा प्रसाईं : है।
ढाकाकुमार श्रेष्ठ : अँ। हुन्छ सर। म त्यो कुरा गर्छु।