कोशी प्रदेशमा एमाले सरकार ढाल्न कांग्रेसको दौडधुप, राप्रपालाई मुख्यमन्त्री

Share to:

रासंसा/मोरङ, चैत्र १४,

मुलुकमा वर्तमान कोशी प्रदेश सरकार ढालेर आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा नेपाली कांग्रेसमा तीन खाले दौडधुप चलिरहेको छ । प्रदेश सरकारबाट तत्काल फिर्ता नहुने माओवादी केन्द्रले स्पष्ट अडान राखिसकेको छ । उता, दलका उपनेतासमेत रहेका हिमाल कार्की भने एमाले नेतृत्वको सरकार ढालेर तत्कालै अर्को सरकार बनाउनु पर्ने पक्षमा छन् । त्यसका लागि काँग्रेस, माओवादी र जसपाको नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था नभए राप्रपालाई मुख्यमन्त्री दिएर भए पनि प्रदेश सरकार बनाउनु पर्ने पक्षमा कार्की रहेको स्रोतको दाबी छ । कांग्रेसमा भने कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, दलका उपनेता हिमाल कार्की र अर्का नेता केदार कार्कीले भने नयाँ सरकार गठन गर्न भन्दै छुट्टाछुट्टै अभियान चलाइरहेका छन् । नेता उद्धव थापा आफैँ मुख्यमन्त्री हुनुपर्ने गरी छलफल चलाइरहेका छन् । यदि आफू नेतृत्वमा सरकार नबन्ने परिस्थितिमा मध्यावधिमा जान सक्ने सम्भावनालाई देखाएर उनी एमाले नेतृत्वकै सरकारमा जानुपर्ने धारणा पनि राखिरहेका छन् । अर्का सांसद केदार कार्की भने कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कुनै पनि हालतमा मुख्यमन्त्री बनाउनु नहुने लबिङमा छन् । उनी सकेसम्म लाइन मिलाएर आफैँ मुख्यमन्त्री हुने नभए माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो वा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउनु पर्ने धारणा राख्छन् । कांग्रेस दलका नेता थापा नेता कृष्ण सिटौला पक्षका हुन् भने उपनेता कार्की संस्थापन पक्षका र सांसद केदार कार्की डाक्टर शेखर कोइराला निकटका हुन् । त्यसैगरी काँग्रेसमा ६०–४० को भागबन्डा हुँदा डाक्टर शेखर कोइरालाको भाग कोशी प्रदेशमा पर्ने निश्चित छ । काँग्रेसले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश तथा अब निर्माण हुने गण्डकी र लुम्बिनी प्रदेशमा देउवा पक्षबाटै मुख्यमन्त्री हुने सो पक्षको दाबी छ । त्यसो हुँदा कोशी प्रदेश काँग्रेसको भागमा आए आफ्नो पोल्टामा पार्न देउवा बाध्य हुने कोइराला पक्षका एक नेता बताउँछन् । त्यही योजनालाई सफल पार्न कांग्रेस नेता कोइरालाले राप्रपा अध्यक्ष लिङ्देनसँग पटक पटक भेटवार्ता र छलफल गरिसकेका छन् । ‘केन्द्रबाट पार्टी सभापति देउवाले एक पटक उद्धव थापाबाहेक व्यक्तिको नाममा सहमति गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई अनुरोध गरेको खण्डमा यहाँ राप्रपाले समर्थन गर्छ,’ कांग्रेसका एक नेताले भने, ‘सभापतिलाई मनाउन कोइराला आफैँ लागिरहेका छन् ।’ राप्रपा अध्यक्ष लिङ्देनले कम्युनिस्टको नेतृत्वमा भन्दा कोशी प्रदेशमा डेमोक्रेटिक पार्टीले नेतृत्व गरेको खण्डमा आफूले सहयोग गर्ने बचन दिएको काँग्रेस स्रोतको दाबी छ । सांसद कार्कीले आफू मुख्यमन्त्री बनाउनका लागि वातावरण निर्माणमा सक्रिय छन् । उनले थापालाई रोक्न ‘राप्रपा कार्ड’ प्रयोग गरिरहेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रदेश १ संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाको सम्बन्ध कांग्रेस नेता कृष्ण सिटौलासँग राम्रो छैन । त्यही कारण राप्रपाले उद्धव थापालाई मुख्यमन्त्री अस्वीकार गर्ने र पालो आफ्नो आउने सांसद कार्कीको दाउ छ । यस्तै कांग्रेस वृत्तमा प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै मुख्यमन्त्री बनाउनु पर्ने मत बलियो हुँदै गएको छ । जसका कारण थापालाई पार्टी सभापति देउवाले अन्तिम समयमा ‘ब्याक’ गराउने कोइराला पक्षका सांसदहरूको अपेक्षा छ । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याल पनि मुख्यमन्त्रीको आकाङ्क्षी हुन् । देउवा पक्षका अर्यालले संसदीय दलको निर्वाचनमा लज्जास्पद हार व्यहोरेका कारण तत्काल उनको पक्षमा पल्लाभारी हुने सम्भावना कमजोर रहेको काँग्रेस वृत्तमा चर्चा छ । सरकार ढाल्ने र नयाँ बनाउने चासो बढिरहेको बेला कोशी प्रदेश सरकार टिकाउने विषयमा एमालेले भने टिकाउने उपाय खोजिरहेको छ । आफू इतर गठबन्धनको सरकार बनाउन र विश्वासको मत लिन जति असजिलो छ त्यो भन्दा केही अनुकूल अवस्थामा एमाले छ । राप्रपाले एमालेको साथ छोडेको अवस्थामा भने एमालेलाई संकट पर्ने देखिन्छ । सरकारबाट माओवादी फिर्ता भएमा ३० दिनभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुपर्छ । तर, एमालेले भने विश्वासको मत लिँदा एक जना सांसद ‘चोर्ने’ दाउ हेरेर बसिरहेको छ । ‘त्यस्तो सांसद त काँग्रेस, माओवादी, नेकपा एस जोसँग पनि हुनसक्छ नि,’ एक एमाले नेता भन्छन् । अघिको संसदको कार्यकालमा पनि एमालेले आफ्नो सरकार टिकाउनका लागि माओवादी केन्द्र संसदीय दलका उपनेता टंक आङ्बुहाङ्लाई मन्त्री बनाएको थियो । यसपटक पनि ‘टंक आङ्बुहाङ’ जन्माउन सकिने एमाले नेताहरु बताउँछन् । कोशी प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिलेर बहुमत (६० सांसदको समर्थन) जुटाएर गत पुस २५ मा मुख्यमन्त्री बनेको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ । राप्रपाले नयाँ गठबन्धनमा आउन सहमत भएको अवस्थामा भने काँग्रेस, माओवादी, राप्रपा, नेकपा एस र जसपाको गरी ५३ सांसदको समर्थन प्राप्त हुन्छ । राप्रपाले समर्थन नगरेको खण्डमा माओवादी केन्द्रबाट सभामुखमा निर्वाचित बाबुराम गौतमले विश्वासको मत दिन नपाउँदा काँग्रेस, माओवादी, नेकपा एस र जसपाको संयुक्त सरकार पुनः अल्पमतमा पर्न सक्ने देखिन्छ । सरकारबाट फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिने समयसम्ममा राप्रपाले क्याम्प परिवर्तन गरेको खण्डमा के गर्ने भनेर पनि योजना बनाइसकेको छ । उसले त्यस्तो परिस्थितिमा विश्वासको मत लिने २९ औं दिनमा मुख्यमन्त्रीले राजीनामा दिने र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको तर्फबाट पुनः मुख्यमन्त्रीमा नियुक्त हुने योजना बनाएको छ । त्यसो हुँदा अबको दुई महिना पर धकेलिन सक्ने एमालेको दाउ छ । त्यसपछि पुनः विश्वासको मत लिन कसरत गर्ने र नभए आफ्नै नेतृत्वमा मध्यावधिमा लान सक्ने एमालेको आकलन छ ।

Like