अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

विदेशी मसलाको स्वाद नेपाली भान्सामा

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ६,

मुलुकमा केन्द्रीय भन्सार विभागको तथ्याङ्क अनुसार विगत ६ वर्ष ७ महिनाको अवधिमा बेसार, खुर्सानी, धनियाँ, लसुन गरी कुल २० अर्ब ८ करोड २२ लाख १५ हजार रुपैयाँको आयात भएको छ । नेपाली भान्सामा दैनिक आवश्यक पर्ने मसला विदेशबाट आयात गर्ने क्रम बढ्दै गएको छ । सबैभन्दा बढी प्रयोग हुने बेसार, लसुन, धनियाँ, खुर्सानीजस्ता मसलाजन्य वस्तु युरोप, अमेरिकाबाट समेत आयात हुने गरेको छ । सरकारले व्यावसायिक खेती बढाउन नसक्दा मसला बालीमा परनिर्भर हुनु परेको हो । यस अवधिमा धनियाँ चार अर्ब ३३ करोड १७ लाख ७४ हजार, लसुन पाँच अर्ब ८६ करोड १० लाख ६४ हजार, खुर्सानी सात अर्ब ८६ करोड ५० लाख चार हजार रुपैयाँ, बेसार दुई अर्ब दुई करोड ४३ लाख ७३ हजार रुपैयाँको आयात भएको विभागले जनाएको छ । मसलाबालीको समेत उत्पादन बढाउने उद्देश्यले मन्त्रालय अन्तर्गत राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली केन्द्र स्थापना गरिएको छ । तर केन्द्रले कहिले बजेट, कहिले प्राविधिक जनशक्ति अभाव भएको भन्दै सकारात्मक परिणाम दिन सकेको छैन । पछिल्लो वर्ष त केन्द्रले मसला बालीलाई महत्त्व नै दिएको छैन भने आलु तथा तरकारी बालीमा मात्र केन्द्रित हुँदै गएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा अलैँची, अदुवा, बेसार, खुर्सानी तथा लसुन लगायत मसलाबालीको उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ०.५७ प्रतिशतले वृद्धि भई जम्मा ५ लाख ५३ हजार ४ सय ३५ मेट्रिक टन पुगेको थियो । यी सबैको उत्पादकत्व ८.०१ मेट्रिक टन प्रतिहेक्टर छ । खेतीको क्षेत्रफल र उत्पादन अनुपातमा यी मसला बालीमध्ये अदुवा अग्रस्थानमा पर्दछ । केही वर्ष अघि खुर्सानी र बेसारको थोरै स्केलमा व्यावसायिक खेती सञ्चालन गरिएको थियो । अहिले यी चार मसला बालीमध्ये कुनै पनि बालीका लागि विशेष कार्यक्रम सञ्चालन नगरेको राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली केन्द्रका सूचना अधिकारी पदम प्रसाद अधिकारीले बताए । नेपालमा वार्षिक रुपमा एक अर्ब रुपैयाँभन्दा बढीको धनियाँको बिउ आयात हुने गरेको छ । अर्जेन्टिना, भारत, इन्डोनेसिया, ओमान, रसिया, युक्रेन लगायतका देशबाट नेपालमा धनियाँको बिउ आयात हुने गर्छ । केन्द्रले अहिले आलु र तरकारीमा विशेष जोड दिएकाले मसलाबाली कार्यक्रम सञ्चालन गर्न नसकिएको उनले बताए । ‘हामीले अहिले मसलाबालीमा प्याज र अदुवा खेतीमा मात्र बढी जोड दिएका छौं,’ उनले भने, ‘अरु मसलाबालीमा हाम्रो कार्यक्रम रोकिएको छ ।’ विभागको तथ्याङ्क अनुसार विगत ६ वर्ष ७ महिनाको अवधिमा चार अर्ब ३३ करोड १७ लाख ७४ हजार रुपैयाँको धनियाँको बिउ आयात भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ५० करोड ४२ लाख ४६ हजार रुपैयाँको धनियाँको बिउ आयात भएकोमा गत आर्थिक वर्षमात्र एक अर्ब १९ करोड ८९ लाख ७५ हजारको धनियाँको बिउ आयात भएको छ । ६ वर्षको अवधिमा धनियाँको बिउ आयातमा ४१ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । हरियो धनियाँमा भने नेपाल आत्मनिर्भर देखिन्छ । ६ वर्ष सात महिनाको अवधिमा नेपालमा दुई अर्ब दुई करोड ४३ लाख ७३ हजार रुपैयाँको बेसार आयात भएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ७६ लाख रुपैयाँको बेसार आयात भएकोमा गत आर्थिक वर्ष ४१ करोड ८३ लाख ८३ हजार रुपैयाँको बेसार आयात भएको छ । ६ वर्षको अन्तरालमा नेपालमा ४० प्रतिशतभन्दा बढीले बेसार आयात भएको देखिन्छ । त्यसैगरी नेपाली भान्सामा अनिवार्य हुने अर्को मसलावस्तु बेसार पनि सबैभन्दा बढी जर्मनीबाट आयात हुन्छ भने स्पेन, जापान र भारतबाट पनि केही मात्रामा आयात हुने गरेको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा १० हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा एक लाख पाँच हजार ७१९ मेट्रिक टन बेसार उत्पादन भएको थियो । कोरोनाको समयमा नेपालमा सबैभन्दा बढी बेसार आयात भएको देखिन्छ । मन्त्रालयका अनुसार नेपालमा वार्षिक नौ हजार सात सय ८४ हेक्टर क्षेत्रफलमा ७२ हजार ४ सय ९० मेट्रिक टन लसुन उत्पादन हुने गरेको छ । नेपालमा मुख्य गरी चीनबाट लसुन आयात हुने गरेको छ । त्यसपछि भारत, पाकिस्तान, दक्षिण कोरियाबाट पनि लसुन आयात हुने गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा १० हजार ६९२ हेक्टर क्षेत्रफलमा ६७ हजार १६७ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो । आर्थिक वर्ष ०७६/०७७ मा १० हजार दुई सय ७६ हेक्टर क्षेत्रफलमा ६८ हजार २५ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो । त्यसैगरी आर्थिक वर्ष ०७७/०८८ मा १२ हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा ८७ हजार सात सय ३१ मेट्रिक टन खुर्सानी उत्पादन भएको मन्त्रालयले जनाएको छ । नेपालमा ६ वर्ष ७ महिनाको अवधिमा पाँच अर्ब ८६ करोड १० लाख ६४ हजार रुपैयाँको लसुन आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा ८० करोड ८२ लाख ६० हजार रुपैयाँको लसुन आयात भएकोमा आर्थिक वर्ष २०७८/०८९ मा १ अर्ब २४ करोड ८ लाख एक हजार रुपैयाँको लसुन आयात भएको देखिन्छ । ६ वर्षको अन्तरालमा ६५ प्रतिशतले लसुन आयात बढेको छ । खुर्सानीमा समेत नेपाल आत्मनिर्भर हुन सकेको छैन । जसले गर्दा विगत ६ वर्ष ७ महिनामा सात अर्ब ८६ करोड ५० लाख चार हजार रुपैयाँको खुर्सानी आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा ७७ करोड १५ लाख ३८ हजार रुपैयाँको खुर्सानी आयात भएकोमा गत आर्थिक वर्ष एक अर्ब ८४ करोड ५४ लाख २५ हजार रुपैयाँको खुर्सानी आयात भएको थियो । नेपालमा ६ वर्षको अवधिमा ४१.८० प्रतिशतले खुर्सानी आयात बढेको छ ।

Like