प्रचण्डले जनताको विश्वास गुमाइसके महासचिव किरण वैद्य

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ५,

मुलुकमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विश्वास गुमाइसकेको दाबी गरेका छन् । राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री दाहाललाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उनको जिकिर थियो । उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको टिप्पणी गरे । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री दाहालले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए । ‘चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरुद्ध जाने हो । संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए । जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस् । यहाँ भन्दा विचित्र के हुन्छ ?,’ उनले भने,’ त्यो सरकार त टिकाउनुपर्ने हो नि एमालेसँग बसेर । टिकाउन नसकेर फेरि कांग्रेसतिर । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लिला भइसक्यो भन्नुस् । यस्तो चालले अब चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्नेवाला छैनन् ।’ उनले भने, ‘यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नु पर्छ । कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौं नि हामीले । कांग्रेस त असफल नै हो । पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिष्ट आन्दोलनको नेताहरु भनौं कि गद्दारहरु भनौं । थाम्न भनेर गए । त्यो पुरानो व्यवस्थालाई काँध थाप्न थाले । काँध थापेर के गर्ने त्यो गनाएर बसेको लास जस्तैलाई ? सक्ने अवस्थामा छैन अब त्यो काँध थापेर । यो व्यवस्था सिद्धिएर जाने प्रक्रियामा छ ।’ महासचिव वैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए । नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

Like