आरजु राणाको दाबीबारे के भन्छ नेपाली सेना ?

Share to:

रासंसा/काठमाण्डौ १९,

मुलुकमा कांग्रेस सांसद डा. आरजु राणाले सार्वजनिक कार्यक्रममा आर्मीको डाटा डार्क वेबमा गएको बताइन् । नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा राणाले सो कुरा बताएपछि ‘साइबर थ्रेट’बारे आम मानिसको चासो झन् बढेको छ । डा. राणाले सरकारी डाटाको सुरक्षामा कमजोरी रहेको बताइन् । तर, नेपाली सेनाले त्यस्तो कमजोरी अस्वीकार गरेको छ । नेपाली सेनाका प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले सेनाको डाटा सुरक्षित रहेको रातोपाटीलाई बताए । नेपाली सेनाको डाटा डार्क वेभ मार्फत टर्कीमा पुगेको आरजुले दाबी गरिन् । ‘आर्मीको डाटा डार्क वेभ इन टर्की’ सार्वजनिक कार्यक्रममा उनले भनिन्–‘फलानो जर्साबले यस्तो इमेल गरेको रहेछ भनेर मलाई एक जनाले देखाए ।’ ‘डा. आरजु राणाले व्यक्तिगत इमेल भन्नुभएको क्लिप मैले पनि हेरेँ’ सहायक रथी भण्डारीले भने–‘हामी साइबर थ्रेटमा परेका छैनौँ ।’ नेपाली सेनाले डिजिटल डाटा सुरक्षाको उपाय अवलम्बन गरिरहेका जनाएको छ । नेपाली सेनाले आफ्नो डाटा डार्क वेभमा नगएको बताइरहँदा डा. आरजुले चाहिँ किन सेनाको डाटा ‘असुरक्षित’ भएको दाबी गरिन् ? माघ दोस्रो साता प्रहरीको सर्भर ह्याक गरेर करिब ३ जिबी डाटा चोरी भएको थियो । जानकारहरूका अनुसार डा. आरजुले सोही विषय उठाउन खोजेकी हुन् । सञ्चार माध्यममा प्रसारण भएको भिडियो क्लिपमा उनले एयरपोर्टमा कार्यरत प्रहरीसँग पनि भेटेको बताएकी छन् । सूचना प्रविधि विभागमा कार्यरत एकजना आइटी इन्जिनियरका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सरकारको डाटा स्टोर हुन्छ । हेटौँडामा पनि डाटा सेन्टर छ, त्यहाँबाट पनि डाटा रिकभर गर्न सकिन्छ । ‘कहिलेकाहीँ आइटीमा साना समस्या आएछ’ ती इन्जिनियरले भने–‘त्यस्ता समस्या तत्काल समाधान हुन्छ तर, डाटा नै चोरी हुने अवस्था छैन ।’ प्रहरीका एकजना उच्च अधिकारीका अनुसार डा. आरजुले प्रहरीको ३ जिबी डाटा चोरी भएको तथ्य उठाउन खोजेकी हुन् । तर, उनी झुक्किइन् । डा. आरजु राणाले साइबर वार गरे पनि हुने अवस्था आएको बताइन् । उनले भनिन्–‘साइबर सेक्यूरिटी एकदमै महत्त्वपूर्ण कुरा छ, डार्क वेभमा डेटा गएपछि देशनै सुरक्षित रहँदैन ।’ डा. राणाले त्यस्तो बताए पनि साइबरसम्बन्धी जानकारहरू अवस्था त्यस्तो भयावह नभएको बताउँछन् । माघ दोस्रो साता नेपाल प्रहरीको सर्भर ह्याक भयो । ह्याकरले सर्भरमा पहुँच बनाएर २ दशमलव ३ जिबी डाटा चोरी गरे । इमेल सर्भर ह्याक गरेर वा कसैको पासवर्ड पाएर ती डाटा लिक भएको हुनसक्ने बताइएको छ । डाटा लिक भएको भनिएका घटना करिब ६ महिना पुरानो कुरा भएको बताउँछन्, प्रहरी प्रवक्ता (डिआईजी) पोषराज पोखरेल । नेपाल प्रहरीको आन्तरिक प्रयोजनमा हुने इमेल कुराकानी सहितका डाटा डार्क वेबमा लिक भएको बताइएको छ । इमेलको पासवर्ड पाएर ती डाटा बाहिरिएको हुनसक्ने प्रहरीका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरी नायव महानिरीक्षक पोखरेलका अनुसार अहिले प्रहरीको सर्भर सुरक्षित छ ।

Like