वीर, शिक्षण, कान्तिमा मात्रै ९ हजार बिरामी शल्यक्रियाको पालो कुर्दै
रासंसा/काठमाण्डौ, फाल्गुण १६,
मुलुकमा वीर अस्पतालका १७ अपरेसन थिएटरमध्ये ९ वटा मात्र सञ्चालनमा छन् । शल्यक्रिया गरेपछि बिरामी राखिने पोस्ट सर्जिकल वार्डका बेड धूलोले छपक्कै ढाकिएका छन् । कान्ति बाल अस्पतालको अपरेसन थिएटर २७ वर्ष पुरानो हो । उपकरण चुस्तदुरुस्त छैनन् । तीनवटा थिएटरमध्ये स्थान अभावका कारण ‘पासेज’मा राखेर पनि शल्यक्रिया गर्ने गरिएको छ । कान्तिमा पनि शल्यक्रियाको पालो कुरिरहेका संख्या ३ हजारभन्दा बढी छ । वीर अस्पतालको सर्जिकल वार्डमा थन्क्याइएका अपरेसन थिएटरका उपकरण । अस्पतालको सेवा चुस्तदुरुस्त नहुँदा शल्यक्रिया गराउन पालो कुर्नेको संख्या प्रत्येक दिन बढ्दो छ । दुई वर्षदेखि शल्यक्रिया गराउन पालो कुरिरहेका बिरामी ३ हजार नाघिसकेका छन् । त्रिवि शिक्षण अस्पताल ३ सय बेडबाट सुरु गर्दा ८ वटा अपरेसन थिएटर सञ्चालनमा थिए । अहिले बेड संख्या बढेर ८ सय ५० पुगिसक्दा पनि थिएटर भने १९ वटा मात्र छन् । अस्पतालले क्यान्सरका बिरामीलाई लक्षित गरेर तत्काल ३ वटा थिएटर थप्ने योजना बनाए पनि थप्न सकेको छैन । अस्पतालमा ३ हजार ५ सय जना शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । वीरमा सिन्धुपाल्चोकका ३५ वर्षीया रवि कार्की एक वर्षदेखि पित्तथैलीको पत्थरी शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । पेट दुखेर गत वर्ष अस्पताल पुगेका भरतपुरका कुमार खनालको भने १३ मिलिमिटरको पत्थरी देखियो, उनको अझै शल्यक्रिया भएको छैन । काभ्रेका सन्तोष केसी ढाडमा नसा च्यापिएर एक वर्षदेखि शल्यक्रियाका लागि पर्खिइरहेका छन् । केसी भन्छन्, ‘रोग पालेर बस्नुपरेको छ, थेरापीका भरमा छु ।’ ठूला अस्पतालका अपरेसन थिएटरको दुरवस्था छ । स्वास्थ्य मन्त्रालयका अधिकारी उपकरण थप्न आवश्यक बजेट माग गर्न सकिने बताउँछन्, तर अस्पतालले न थिएटर थप्न पहल गर्छन् न त बन्द उपकरण सञ्चालनमा ल्याउन । वीरको ५ सय बेडको सर्जिकल भवन २०७८ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । अझै पनि पूरै बेड सञ्चालनमा आउन सकेको छैन । पुरानो भवनमा रहेको डेन्टलको अपरेसन वार्ड र न्युरो सर्जरी विभाग नयाँ भवनमा सार्न सकिएको छैन । कार्डियोथोरासिक विभाग प्रमुख डा. किरण श्रेष्ठले थिएटर अभावका कारण शल्यक्रिया गर्न एउटा युनिटले सातामा दुई दिन मात्र बेड पाउने गरेको बताए । ‘सातै दिन पाउने व्यवस्था मिलाउन नसकेसम्म बिरामीले कुर्नुपर्ने समस्या हट्दैन,’ उनले भने । वीर अस्पतालका सूचना अधिकारी सागर मिश्र बिरामीको चापअनुसार थप १५ वटा थिएटर आवश्यक रहेको बताउँछन् । वीरमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत छन् । हाल न्याम्सअन्तर्गत ५ सय ६३ जना छन् भने सामान्य प्रशासन मन्त्रालयअन्तर्गत ६ सय ८७ जना कार्यरत छन् । जनस्वास्थ्यविद् प्रा.डा. ढुण्डीराज पौडेल अधिकांश डाक्टर कार्यालय समयसम्म नबसेका कारण समस्या बढेको तर्क गर्छन् । ‘कार्यालय समयमा पनि बस्दैनन् र समयमा पनि कार्यालय आउँदैनन् । बढी क्लिनिक र निजी अस्पतालमा व्यस्त हुन्छन्,’ उनले भने । छानबिन गरी कारबाहीको दायरामा नल्याएसम्म समस्या दिगो रूपमा समाधान नहुने उनको भनाइ छ । वीरका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल पूरै थिएटर सञ्चालन नहुनुमा नर्सिङ जनशक्ति अभावको कारण देखाउँछन् । ‘सर्जरीका लागि चिकित्सकको अभाव छैन,’ उनले भने, ‘लोक सेवा आयोगले ३ सय स्वास्थ्यकर्मीको विज्ञापन निकालिसकेको छ, अब परीक्षा हुन्छ । कर्मचारी पठाएको भोलिपल्टै सञ्चालनमा ल्याउँछौं ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले अस्पताल प्रमुखले कडाइका साथ नियम पालना गर्न नलगाउँदा समस्या भएको बताए । ‘सबै कर्मचारीलाई आउँदा जाँदा विद्युतीय हाजिरी गराउनुपर्यो । कार्यालय समयसम्म नबस्ने कर्मचारीलाई कारबाही गर्नुपर्यो,’ उनले भने, ‘ठूला अस्पतालको ओएन्डएम सर्भे स्वीकृति गर्न अर्थ मन्त्रालयमा पठाइसकेका छौं ।’ कान्ति बाल अस्पतालमा पनि पर्याप्त अपरेसन थिएटर छैनन् । विशेष गरी त्यहाँ पुग्ने जन्मजात मलद्वार नखुलेका, ठूलो आन्द्रा, लिंगको प्वालको समस्या भएका र पत्थरीका बिरामी बढी मर्कामा छन् । वीरगन्जकी ६० वर्षीया जाकुरिसी मियाँले नातिको मलद्वार खुलाउन गरिने अपरेसनका लागि कुरेको दुई वर्ष बितिसक्यो । मिति सार्दासार्दै फागुन १ गते तोकिए पनि पुनः अर्को दिनका लागि सारिएको छ । लिंगमा पिसाब फेर्ने प्वालको समस्या भएर वैशाखमा शल्यक्रिया गराउन आएका बुटवलका चौधरी दम्पतीको ५ वर्षका छोराको पनि अझै शल्यक्रिया हुन सकेको छैन । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले उपकरण मात्र थपेर नहुने बताए । ‘जनशक्ति व्यवस्थापन गर्न त्रिभुवन विश्वविद्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन,’ उनले भने, ‘२०४० सालमा सिर्जना गरिएको २ सय ५० जना चिकित्सक दरबन्दीमध्ये ९७ जना, प्रशासनतर्फ २ सय ७८, प्राविधिकतर्फ १ सय ५ जना रिक्त छन् ।’ अस्पतालमा हाल १ हजार २ स्वास्थ्यकर्मी करारमा कार्यरत छन् । कान्तिका निर्देशक डा. युवानिधि बसौलाले उपकरण, अपरेसन थिएटरसँगै आवश्यक जनशक्ति नभएका कारण सेवा दिन नसकेको बताए । अस्पतालमा प्रमुख कन्सल्टेन्ट पेडियाट्रिक सर्जन, प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिक सर्जन गरेर ७२ जनाको पद रिक्त छ । अस्पतालमा मेडिकल अधिकृत, स्टाफ नर्स, फार्मेसी अधिकृत, बायोमेडिकल टेक्निसियन, ब्लड बैंक र ल्याब टेक्निसियनलगायत ९९ जना करारमा कार्यरत छन् । पाटन अस्पतालमा डेन्टलको सर्जरी सातामा एक दिन मात्र हुन्छ । अस्पतालमा बिरामीको चापअनुसार अपरेसन थिएटर आधा कम १२ वटा मात्र सञ्चालनमा छन् । यसले पत्थरी जस्ता सामान्य शल्यक्रिया गराउन पनि महिनौं कुनुपर्ने बाध्यता छ । अहिले अस्पतालमा एक सातादेखि ६ महिनासम्मका एक हजार ५ सय बिरामी शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । सर्जरी विभाग प्रमुख डा. पुकार मास्केले बिरामीको चापअनुसार थप १२ वटा थिएटर आवश्यक रहेको बताए । अस्पतालका सर्जरी विभाग प्रमुख डा. विजय थापा उपचारमा आउनेमध्ये करिब ८५ प्रतिशतको शल्यक्रिया आवश्यक पर्ने बताउँछन् । ‘शल्यक्रिया सहज बनाउन उपकरण चुस्तदुरुस्त बनाउन र नयाँ ३ वटा थिएटर थप्न आवश्यक छ,’ उनले भने । राष्ट्रिय ट्रमा सेन्टरमा ५ वटा थिएटर सञ्चालनमा छन् । अस्पतालका सूचना अधिकारी अर्जुन भेटवालका अनुसार शल्यक्रिया सहज बनाउन थप ५ वटा आवश्यक छ । ‘तर, स्थान अभावका कारण व्यवस्थापन गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘हालको ट्रमा भवनमा न तला थप गर्न मिल्छ न त विस्तार गर्न जग्गा नै छ ।’ अस्पतालमा दुई हजार जनाभन्दा बढी बिरामी शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । ट्रमामा दैनिक १५ जनाको शल्यक्रिया हुने गरेको छ । प्रसूति गृहमा ६ वटा मात्र अपरेसन थिएटर सञ्चालनमा छन् । निर्देशक डा. पवनजंग रायमाझीले भवन अभावका कारण जेनतेन सञ्चालन गरिरहेको बताए । ‘भूकम्पले चर्केको भवनमा उपचार दिनुपरेको छ,’ उनले भने, ‘भवन बनाइदिनुपर्यो भन्दा सम्बन्धित निकायले वास्ता गर्दैनन् ।’ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सात सय जनाभन्दा बढी प्रत्यारोपण गराउन पालो कुरिरहेका छन् । अस्पतालमा ४ वटा अपरेसन थिएटर मात्र सञ्चालनमा छन् । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण सहज बनाउन सातै प्रदेशमा विस्तार गर्नुको विकल्प नभएको बताए । ‘प्रत्येक वर्ष दुई हजारदेखि ३ हजार नयाँ बिरामी थपिरहेका छन्,’ उनले भने । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापण्दड निर्देशिका २०७० को दफा १७ मा व्यवस्था भएअनुसार प्रति ५० शय्या क्षमता बराबर एउटा मेजर र एउटा माइनर अपरेसन थिएटरको व्यवस्था हुनुपर्छ । सोका अतिरिक्त प्रत्येक २५ शय्या सर्जिकल बेडका लागि एक मेजर ओटी र आवश्यक माइनर ओटीको थप व्यवस्था हुनुपर्ने नियम छ ।