आयोगले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्ने
रासंसा/काठमाण्डौ, फाल्गुन १०,
मुलुकमा राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ। माघ १६ गते सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म आयोगले मतदाताको नामावली सार्वजनिक गर्न लागेको हो। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। राष्ट्रपति निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको छ। आयोगले दावी विरोधको उजूरी दिने (प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिनेसमेत) आज बिहान ११ बजेदेखि बिहीबार दिँउसो १२ बजेसम्म तोकिएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा दुईटा मतदान केन्द्र हुनेछन्। राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्। संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ। जसको मतभार २६ हजार ४ सय हुन्छ। राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ। जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन पाँच प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद् पद खारेज भएकाले एक पद रिक्त छ। राष्ट्रियसभामा ५९ जना सदस्य छन्। संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन्। संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ।