देउता बन्न हिँडेको पत्थरसँग यात्रा

Share to:

रासंसा/काठमाण्डौ, माघ २८,

मुलुकमा ‘मानो तो देव नहीं तो पत्थर’ यो कथन मिथिलाञ्चलमा मात्र नभई नेपाल–भारतभर लोकप्रिय छ। पौराणिक मान्यताअनुसार मूर्तिपूजा परापूर्वकालदेखि चलिआएको छ र अन्य वेदहरूमा पनि मूर्तिपूजाको व्यवस्था छ। तर ईश्वरीय ज्ञान वेदमा मूर्तिपूजालाई अमान्य भनिएको छ। किनभने भगवान् निराकार र सर्वव्यापी छन्। त्यसैले ब्रह्माण्डको प्रत्येक कणमा व्याप्त ईश्वरलाई एउटै मूर्तिमा सीमित राख्नु ईश्वरको गुण, कर्म र स्वभावको विपरीत हो। वैदिक कालमा निराकार भगवान्को मात्र पूजा गर्ने व्यवस्था थियो। यी तथ्य यस कथनलाई प्रस्ट्याउन काफी छन्। गत बुधबार भारतको गोरखपुरदेखि अयोध्याको रामसेवकपुरममा बाक्लो हुस्सुसँगै शरीर कमाउने ठन्डी थियो। मैले पत्थरप्रतिको यत्रो श्रद्धा देखेको थिइनँ। देवशिला यात्रामा गोरखपुरदेखि अयोध्यासम्म सहभागी हुँदा लाखौं मानिस हात जोडेर सडकमा उभिरहेको देखें। न प्रचार, न सार्वजनिक आह्वान! तर सडकमा देखिएका युवा, वृद्ध, बालबालिका, महिला, घुम्टोमा अनुहार लुकाएका बेहुलीको भिडले धार्मिक आस्थाको अनुपम र अद्भुत अनुभूति गराउँदै थियो। वैदिक कालको व्यवस्था र मान्यतालाई भर्खरैको एक दृश्यले नवीकरण गरिदिएको छ। गत बुधबार भारतको देवभूमि अयोध्यामा नेपालको कालीगण्डकीबाट लगिएको देवशिला (पत्थर)प्रतिको आस्था, श्रद्धा र आकर्षणले त्रेतायुगको वैदिक काललाई सम्झाइदिएको छ। महिलाहरू हातमा जल र अक्षता लिएर सडकको किनारमा देवशिला पर्खिरहेका थिए। जब ट्रकमा लोड गरिएको देवशिला अगाडि आयो, महिलाहरूको श्रद्धा देवशिलामा पोखियो। उनीहरू जल र अक्षता चढाएर देवशिला नमन गरेको दृश्यले त्रेतायुग स्मरण गराइरहेको थियो। दर्शनका लागि लामबद्ध भिडमा जातीय सीमा थिएन। धनी गरिबको भेद थिएन। मानिस आफ्ना जातीय सीमा र आर्थिक भेद भुलेर ‘राम सीया राम’ जप्न मग्न देखिन्थे। लामबद्ध भिडलाई यति मात्र थाहा थियो, राम भगवान् हाम्रो गाउँसहर भएर जाँदै छन्, यस अद्भुत क्षणलाई दिलदिमागमा कैद गर्नुपर्छ।सीतासँग विवाहपछि राम जुन बाटो भएर अयोध्या गएका थिए, त्यही बाटो देवशिला अयोध्या लगिएको हो। यस भेगका मानिसहरू आफूलाई त्यसैकारण भाग्यमानी ठान्छन्। उनीहरू यस क्षणलाई पलपल बाँच्न चाहन्थे। रमाउन चाहन्थे। देवशिला यात्रामा सहभागिता जनाएर अद्भुत आनन्द प्राप्त गर्न चाहन्थे। देवशिला ‘राम’ भगवान् बनेपछि देख्न नसक्ने उमेरका जेष्ठ नागरिकहरू आफ्नो ‘राम’ देख्न चाहन्थे। भनिन्छ, पत्थरमा पनि आफ्नो आराध्य देख्ने शक्ति पाउनका लागि सभ्यतालाई अध्यात्मको उच्चतम बिन्दु छुनु पर्दोरहेछ। तर नेपालदेखि भारतको अयोध्यासम्मका आमजनलाई यो अवसर सहजै प्राप्त भयो। पहिरनका कारण समाजमा संस्कारहीन कहलिने युवतीहरू हात जोडेर देवशिला दर्शनका लागि व्यग्र देखिन्थे। समाजमा उद्दण्ड कहिलिने केटाहरू दर्शनका लागि उत्साहित देखिन्थे। जताततै दर्शनको व्यग्रतामा मानिसका आँखा प्रतीक्षारत देखिन्थे। १३४ किलोमिटरको गोरखपुर-अयोध्याको दुरी तय गर्न सामान्यतः सवा तीन घण्टा लाग्छ। तर देवशिला अयोध्या पुग्न करिब १२ घण्टा लाग्यो। कारण थियो, यसबीचमा हात जोडेर उभिएका श्रद्धा र आस्थाका हातहरू। भिडले भगवान्रूपी देवशिलालाई नमन गर्न चाहन्थे। छुन चाहन्थे। पूजा गर्न चाहन्थे। दर्शन गर्न चाहन्थे। गोरखपुरदेखि अयोध्यासम्मै श्रद्धाको मानव साङ्लो निर्माण भएको थियो। कुनै नेता, सन्त वा कुनै विचारधाराले त्यस्तो उत्साह भरिएको मानव साङ्लो निर्माण गरेको थिएन। यो अद्भुत मानव साङ्लोमा आम जनलाई एकताबद्ध गर्ने मन्त्र थियो ‘राम सीया राम सीया राम जय जय राम’। बुधबार राति देवशिला अयोध्याको रामसेवकपुरम पुग्दा श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अधिकारीहरू, साधुसन्त र सर्वसाधारण दर्शनार्थीसँगै ठूलो संख्यामा भारतीय सञ्चारकर्मीको घुइँचो लागेको थियो। रामसेवकपुरमा लागेको त्यो घुइँचो नेपालको जानकी मन्दिरका तर्फबाट अयोध्यामा उपहारका रूपमा पठाइएको देवशिलाको दर्शनका लागि थियो। कालीगण्डकीबाट उत्खनन गरी ल्याइएको यो त्यही शिला हो, जसबाट भगवान् रामको बालस्वरूप मूर्ति बनाइँदै छ। गोरखपुरबाट देवशिला यात्रा अघि बढ्दै थियो। गोपालगन्जमा खाना खान यात्रा करिब आधा घण्टा रोकियो। यस समयमा श्रद्धाका हजारौं हात देवशिला बोकेको ट्रकतर्फ बढे। जसमध्ये थोरै हात देवशिलालाई छुन पाएका थिए भने धेरै हात देवशिला बोकेको ट्रकलाई छोएर आनन्दित भइरहेका थिए। भिड छिचोल्दै देवशिला छुन पाएकी आँचल कुमारीले नागरिकसँग भनिन्, ‘ए आनन्द मै शब्दमे वयाँ नही कर सकुँगी, ए अद्भुत है अनुभूति है (यो आनन्दलाई म शब्दमा बयान गर्न सक्दिनँ, यो अद्भुत आनन्द हो)।’ अझ उनले त देवशिलामा चढाइएको माला पनि प्रसादका रूपमा ग्रहण गर्ने सौभाग्य पाएको सुनाइन्। उनले यो मालाबाट प्रियजनलाई फूल निकालेर प्रसादको रूपमा बाँड्ने बताइन्। देवशिला नमन गरी माला प्राप्त गरेकी उनमा खुसीको सीमा थिएन। हुस्सु बिस्तारै हट्दै थियो तर हावामा चिसो सिरेटो बाँकी नै थियो। यात्रा गन्तव्यतर्फ अघि बढ्दै थियो। राम जन्मभूमि अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने रामको बालस्वरूप मूर्ति बनाउन कालीगण्डकीबाट ल्याइएको शिला हिन्दु परम्परा अनुसार बिहीबार बिहान पूजाआजा गरी राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरियो। एक भव्य समारोहबीच जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका थिए। मन्दिरका लागि कलात्मक मूर्ति लगायतका सामग्री निर्माण स्थल रामसेवकपुरमा कालीगडहरूले शिला कुँदेर रामको बालस्वरूप मूर्ति तयार पार्ने छन्। यसबाट राममन्दिरको गर्भगृहमा राखिने मूर्तिको अनन्तकालसम्म महत्त्व रहने छ। जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले भने, ‘यस शिलाले नेपाल-भारतबीच त्रेतायुगदेखिको सांस्कृतिक सम्बन्धलाई नवीकरण गरिदिएको छ। यो ऐतिहासिक र युगान्तकारी काम भएको छ, उनले थपे।’ नेपालबाट त्रेतायुगमा सीता पठाइएको र कलियुगमा रामको प्रतिमा पठाउने सौभाग्य प्राप्त भएकोप्रति खुसी व्यक्त गर्दै भने, ‘नेपाल र जानकी मन्दिरका तर्फबाट कोसेलीस्वरूप देवशिला पठाइएको हो। देवशिला मिथिला र अबधबीचको सांस्कृतिक सम्बन्धको सेतु मात्र नभई नेपाल-भारत दुई देशबीचको समेत सेतु हो। दुई देशबीचको सांस्कृतिक सम्बन्ध अनन्तकालसम्म रहन्छ।’ शिला हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता विमलेन्द्र निधिले अयोध्या आएर शिला हस्तान्तरण गर्न पाउनु आफ्ना लागि गौरवको काम भएको बताए। राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट देवशिला ल्याउनु एक ऐतिहासिक र पुण्य काम भएको बताए। यसबाट दुवै देशको सांस्कृतिक सम्बन्ध प्रगाढ बन्ने उनले भने। छलफलमा राम जन्मभूमि ट्रस्टले राम मन्दिरको गर्भगृहमा राखिने पवित्र मूर्ति कालीगण्डकीको शिलाबाट बनाउनुपर्ने निष्कर्ष निकालेपछि यो प्रक्रिया अघि बढेको हो। यसको पहल गर्न ट्रस्टका महासचिव रायले आग्रह गरेपछि शिला उत्खनन गरी नेपालबाट भारत लैजाने आधार तयार भएको हो। दुई देशबीच औपचारिक रूपमा पत्राचार भएपछि पुस ३ गते शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद्को बैठकले रामको प्रतिमा निर्माण गर्न प्रयोग गरिने देवशिला र शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो। मन्त्रीपरिषद्को निर्णय र खानी तथा भूगर्भ विभागको अनुमतिपछि नदीबाहिर रहेको शिला छनोट गरिएको हो। शिला छनोट गरिसकेपछि माघ १ गतेका दिन कालीगण्डकी किनारमा क्षमापूजा र भूमिपूजा गरिएको थियो। पूजापछि माघ १२ गते वसन्त पञ्चमीका दिन म्याग्दीबाट जनकपुरका लागि देवशिला प्रस्थान गरेको थियो। २०१९ नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा फैसला गरेसँगै राम मन्दिर निर्माणका लागि ढोका खुल्यो। राम मन्दिरमा रामको बाल्यकालको मूर्ति राखिने पनि निधो भयो। राम मन्दिरको गर्भगृहमा राखिने रामललाको मूर्ति (रामको बाल्यरूप) बनाउने देवशिला कहाँबाट ल्याउने भन्ने चर्चा चल्न थाल्यो। नेपालबाट अयोध्यामा शिला र धनुष पठाउने कामका लागि कांग्रेस नेता निधिले अग्रसरता लिए। त्यसका लागि गत साउन २४ गते ट्रस्टका महासचिव चम्पक राय, जनकपुरका महन्थ रामतपेश्वर दाससँग अयोध्यामै पुगेर सरसल्लाह गरी नेपाल सरकारसँग आवश्यक समन्वय गरेको निधिले बताए। त्यसलगत्तै अयोध्या राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र तथा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच नयाँदिल्लीमा बृहत् छलफल भएको निधिले बताए। म्याग्दीको बेनी नगरपालिका-६, ठुलो पहिरोस्थित कालीगण्डकी नदी किनारबाट क्रेनमार्फत निकालिएको सात फिट लम्बाइ, पाँच फिट चौडाइ र ३.५ फिट मोटाइका दुईवटा शिला ट्रकमा राखेर जनकपुरधाम स्थित जानकी मन्दिर पुर्‍याइएको थियो। त्यसपछि माघ १८ गते राति अयोध्या पुर्‍याइएको थियो। म्याग्दीको बेनी नगरपालिका–६ ठुलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएका २४ र १६ टन तौल भएका क्वार्जराइट र क्यालसाइट नामका दुई शिला पोखरा, चितवन, हेटौंडा, जनकपुरधाम, दरभङ्गा, मुजफ्फरपुर, गोरखपुर हुँदै अयोध्यासम्म पुर्‍याउन आठ दिन लागेको थियो। यो आठ दिनमा शिलाले करिब ११ सय किलोमिटरको दुरी पार गरेको थियो। यही शिलाबाट भगवान् रामको बालस्वरूप बन्दै छ। शिलाविज्ञ एवम् कालीगण्डकी अभियन्ता डा. कुलराज चालिसेले कालीगण्डकी नदीको एक सय आठ स्थानमा रहेका शिलाको अध्ययनपश्चात् दुई शिला छनोट गरिएको बताए। ‘मेरो नेतृत्वमा एक सय आठ स्थान छनोट गरेर गलेश्वरस्थित अन्धगल्छीबाट शिला लिने कुरा थियो तर त्यहाँको गहिराइका कारण शिला ल्याउन गाह्रो भएपछि नजिकको स्थानमा रहेका दुई सय शिलामध्ये पाँचवटा छनोट गरियो। परीक्षण गर्दा अयोध्या पठाइएका दुई शिला उपयुक्त देखियो,’ डा. चालिसेले भने, ‘श्रीराम मन्दिर एक हजार वर्षसम्म रहने र अहिले छनोट गरिएका शिला हजारौं वर्षसम्म रहनेसक्ने देखिएपछि रामको बालस्वरूप मूर्ति बनाउन ती दुई शिलालाई सिफारिस गरेका हौं।’ हिन्दु धार्मिक मान्यताअनुसार भगवान् विष्णुका १० अवतारमध्ये छैटौं अवतारका रूपमा भगवान् रामको जन्म त्रेतायुगमा अयोध्यामा र विवाह जानकीसँग भएको थियो। त्यसैले जहाँ राम, त्यहाँ सीता जोडिनु स्वाभाविक हो। त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालबिना राम अधुरा’ र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘सीता माताबिना अयोध्या अधुरा’ भन्दै आएका छन्। मोदी र योगीको भनाइलाई यथार्थ रूप दिनभन्दा पनि त्रेताकालीन सम्बन्धको नवीकरण गर्न पनि लामो विवादपछि बन्न लागेको राम मन्दिरमा नेपाल र माता जानकीसँग जोडिएको चिनो राखिन लागिएको हो। रामायणका मुख्य पात्र रामको जन्मभूमि भारत उत्तरप्रदेशको अयोध्या रहेकोमा विवाद छैन। तर राम मन्दिर बन्दै गरेको स्थल भने विगत करिब पाँच सय वर्षदेखि विवादमा थियो। हिन्दुहरूले भगवान् रामको जन्मस्थान मानेर पूजा गरिरहेकै ठाउँमा सेनापति मिरबाकीले १६औं शताब्दीको सन् १५२८ मा बाबरी मस्जिद बनाएपछि विवाद सुरु भएको थियो। त्यही बेलादेखि हिन्दु र मुस्लिम धर्मावलम्बीले आआफ्नो दाबी पेस गर्दै विवाद सुरु गरेपछि साढे चार सय वर्षको अवधिमा ५६ पटक युद्ध भयो। हजारौं मानिसले ज्यान गुमाएका थिए। ‘राम जन्मेको ठाउँमा अचानक मस्जिद बनेपछि विवाद बढ्दै गयो। ५६ पटक त हिंसा भएको बताइन्छ,’ श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले सम्झे, ‘सन् १९९२ डिसेम्बर ६ तारिखपछिको घटना त सबैलाई थाहा छ। त्यो भारतको इतिहासमै खराबमध्येको धार्मिक साम्प्रदायिक हिंसा थियो।’ यही आधारमा चार सय ९२ वर्षपछि अयोध्यामा राम मन्दिर बन्दै छ। फेबु्रअरी २०२० मा स्थापित ट्रस्टले लोकसभा चुनावअघि सन् २०२४ को जनवरी अर्थात् मकर संक्रान्तिमा मुख्य भाग (तल्लो तल्ला) निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको छ। यही भागमा देवशिलाबाट निर्मित रामलला (रामको बालस्वरूप) राखिने छ। पाँच अगस्त २०२० मा भूमिपूजा गरी मन्दिर निर्माणको काम सुरु भएको थियो। नागर शैलीमा बनिरहेको राम मन्दिरमा अहिले छ सयभन्दा बढी कामदारले दिनरात नभनी काम गरिरहेका छन्। सिमेन्ट र छडको प्रयोगबिना तीन तलाको एक सय ६१ फिट अग्लो हुने यो मन्दिरको आयु एक हजार वर्ष रहने भनिएको छ। त्यसका लागि मन्दिरमा मार्बल र अरू सामग्री विशेष प्रकारको हुने मन्दिर निर्माण समितिका अध्यक्ष मिश्रले बताए। चौपालका अनुसार सन् १९९२ डिसेम्बरपछि भारतभर भड्किएको हिंसामा दुई हजारको ज्यान गएको थियो भने सबैभन्दा हिंस्रक दंगाका रूपमा मुम्बई सहरमा भएको घटनामा मात्रै नौ सय मानिसले ज्यान गुमाएका थिए। यो विवाद अदालतमा पनि पुग्यो। पहिलो पटक १९ जनवरी १८८५ मा हिन्दु पक्षधरले अदालतमा मुद्दा हालेकामा विभिन्न अदालत हुँदै ९ नोभेम्बर २०१९ मा भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय इजलासले विवादित जमिनमा रामको मन्दिर बनाउने फैसला सुनायो। त्यही फैसलामा मस्जिदका लागि छुट्टै स्थानमा पाँच एकड जमिन उपलब्ध गराउन आदेश भयो।कालीगण्डकी नदीबाट भारतको उत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदाको क्षण यादगार मात्र नभई अद्भुत भयो। कालीगण्डकी नदीको शिलामा भगवान् रामको बालस्वरूप बनाएर राम जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरको मुख्य केन्द्रमा राख्ने विषय आफैमा गौरवको अनुभूति गराउने विषय हो। कालीगण्डकीको शिला अर्थात् पत्थरको महत्त्व कति छ भने कुरा देवशिला यात्रामा सहभागी हुँदा थाहा भयो। नेपालको पत्थर भारतीय सीमा प्रवेश गर्दा भगवान्को स्वरूपमा पुजिन थाल्यो। त्यो दृश्य अद्भुत थियो। कालीगण्डकीबाट जनकपुरधाम हुँदै शिला भारतको सीमा पार गरेपछि यसको धार्मिक महत्त्वको सीमा पनि पार गर्न थाल्यो। वारि यो शिला नपुजिएको भने होइन। तर, पारिजस्तो व्यापक आकारमा पुजिएको थिएन। कालीगण्डकीको शिलालाई देवशिलाका रूपमा भारतमा व्यापक रूपमा पुजिएको देख्दा छक्क परें। यतिको श्रद्धाभाव देखेर आश्चर्यचकित भएँ। नेपालमा केहीले कालीगण्डकीको पत्थरलाई ढुंगाका रूपमा मात्रै बुझे। तर, भारतवासीले त्यो पत्थरमा देवशिला (भगवान्) देखे। त्यहीअनुसार देवशिला यात्रालाई एउटा महोत्सवका रूपमा मनाए। नेपालबाट श्रीराम जन्मभूमि अयोध्या पछ्याउँदै अघि बढेको शिलाप्रति भारतीय श्रद्धालुले अभिव्यक्त गरेको श्रद्धाभाव, उत्साह, उमंग र सहभागिताले त्यसलाई पुष्टि गर्‍यो। देवशिला हेर्न उर्लेको आस्था, श्रद्धाको भिड देख्दा त साक्षत भगवान् राम नै उपस्थित भएको आभास हुन्थ्यो। काखमा बच्चा च्यापेका महिलादेखि वृद्धवृद्धाहरूले नतमस्तक भएर शिला ढोगे, त्यो छुन पाउनु नै पुण्य हो भन्ने भावमा श्रद्धा प्रकट गरे। देवशिला बोकेको ट्रक छुन नसकेकाहरू यात्रामा सहभागी अन्य वाहन र सहभागीलाई छोएर श्रद्धा प्रकट गरेका थिए। देवशिला दर्शनका लागि लामबद्ध श्रद्धालुहरू हामी चढेको वाहन रोक्किँदा पनि झुम्मिन्थे। म्याग्दीको बेनीबाट जनकपुरधामसम्म करिब पाँच सय किलोमिटरभन्दा बढी सडक दुरी पार गर्दा म सहभागी हुन पाइनँ। तर, यस यात्रामा सहभागी भएका देवशिलाका सूत्रधारमध्येका रवितकुमार राजपुत भन्छन्, ‘नेपालमा भन्दा यात्रा भारत आइपुग्दा श्रद्धाको सीमा पार भयो।’ नेपालमा केही ठाउँमा मात्रै शिलाको दर्शन तथा पूजा भएको थियो। जनकपुरदेखि अयोध्याको झन्डै पाँच सय किलोमिटर सडक पार गर्न करिब २४ घण्टा समय लागेको थियो। सडकमा त नागरिक थिए नै, भारतीय मिडियाले पनि उच्च प्राथमिकताका साथ प्रचारप्रसार गरे। राम मन्दिर कार्यशाला रामसेवकपुरममा देवशिला पूजापछि आयोजित हस्तान्तरण समारोहमा नेपालका तर्फबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई चतुर्भुज शालिग्रामसहित शिला हस्तान्तरण गरेका थिए। नेपालको कालीगण्डकीको पत्थर भारतको अयोध्या पुगेर भगवान् बनिरहेको विषय भारतका सबैजसो मिडियाहरूको प्रमुख प्राथमिकतामा पर्‍यो। भारतीय मिडियाले भारतीय नागरिकले जस्तै कालीगण्डकीको पत्थरलाई भगवान् (देवशिला) बनाएर चर्चा गरिरहँदा गौरवानुभूति भइरहेको थियो। नेपालसँगको पौराणिक, धार्मिक सम्बन्ध तथा नेपालका पवित्र कालीगण्डकी नदी र तीर्थस्थलहरूको व्याख्यान प्रशस्त भेटिन्छन्। केही समयअघि अयोध्या नेपालमै रहेको भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बहस सुरु गरे। तर, त्यसको वैज्ञानिक पुष्टि भइसकेको छैन। उता भारतमा भने झन्डै पाँच सय वर्षदेखिको विवाद साम्य हुँदै राम मन्दिर निर्माण हुँदै छ। सोही मन्दिरमा नेपालको देवशिलामा कुँद्न लागिएको रामललाको मूर्तिले दुई देशका धार्मिक, सांस्कृतिक सम्बन्धका साथै नागरिक तहको सम्बन्धमा नयाँ आयाम थप्ने छ। नेपालमा सामान्य ढुंगाका रूपमा हेरिएको शिलाप्रति भारतमा देखिएको चासो, आस्था र श्रद्धा साँच्चै अनुकरणीय छ। यसलाई नेपालको धार्मिक पर्यटनसँग जोडेर अघि बढाउन सकिए सम्बन्ध सुधार र पर्यटन प्रवद्र्धनको क्षेत्रमा प्रशस्त लाभ लिन सकिन्छ। अयोध्यामा हिन्दु र मुसलमानको वर्षौंको विवाद समाधान भएर मन्दिर बन्दै छ। त्यही मन्दिरको गर्भगृहमा लाखौं मान्छेले पूजा गर्ने मूर्ति नेपालको शिलाबाट बन्दै छ। यसको महत्त्वको व्याख्या जति गरे पनि कमै हुन्छ। देवशिलाको महत्त्व यति छ भने त्यो देवशिला रहेको पवित्र भूमिको महत्त्व झन् कति होला? जनकपुरधाम र अयोध्याबीचको सांस्कृतिक सम्बन्धलाई कालीगण्डकीसम्म विस्तार गर्ने सेतु बनेको छ देवशिला। रामसीताको विवाहले जोडिएको जनकपुरधाम-अयोध्या सम्बन्धलाई कालीगण्डकीको देवशिलाले देशभर विस्तार गरिदिएको छ। यसले पक्कै पनि नेपाल-भारतबीचको सम्बन्धलाई थप प्रचार गर्दै नागरिक तहमा रहेको असमझदारीलाई चिर्न सघाउ पुग्नेमा दुवै देशका धर्मगुरुहरू एकमत देखिए। ‘हामीले नेपालको पौराणिक महत्त्व एवम् भारत-नेपालको धार्मिक सम्बन्ध सुनेकै, पढेकै हौं तर धेरैपछि यो स्तरमा त्यो सम्बन्धलाई देख्न पाइएको छ,’ देवशिला उत्खननकर्ता डा. चालिसेले भने, ‘अब यसबाट लाभ लिने गरी हामी अगाडि बढ्नुपर्छ।’

Like