वायु सेवा निगमको आन्दोलन सहमतिमा टुंगियो
रासंसा/काठमाण्डौ, पौष १,
मुलुकमा नेपाल वायुसेवा निगममा कार्यरत उडान कर्मचारीले गर्दै आएको आन्दोलन व्यवस्थापनसँगको सहमतिपछि टुंगिएको छ। आफ्नो सेवा निरन्तरताको माग राख्दै केही दिनदेखि आन्दोलनरत उडान कर्मचारी र निगम व्यवस्थापकबीच बिहीबार सहमति भएपछि अन्दोलन टुंगिएको हो। नेपाल वायुसेवा निगमको मुख्य कार्यालयमा भएको आन्दोलनका कारण बुधबार र बिहीबारका लागि निर्धारित उडानहरू ढिला भएका थियो। निगम कर्मचरीहरूको अवरोधका कारण बुधबारको दुई र बिहीबारको तीन वटा उडान ढिला भएको निगमको प्रवक्त अर्चना खडकाले बताइन्। निगम व्यवस्थापक समितिले हाल करारका कर्मचारीलाई नवीकरण गरेको छ भने समितिले बाँकी समस्या हल गर्न अध्ययन समिति समेत बनाएको जानकारी दिएको छ। निगममा कार्यरत कर्मचारीको करार नवीकरण नगरेको विषयलाई लिएर उनीहरू आन्दोलनमा उत्रिएका थिए। यसका साथै अन्तर्राष्ट्रिय तथा लामो उडानमा सामान्यतया नयाँ सेट क्याबिन क्रु राखेर पठाउने गरिँदै आएकोमा निगमले बुधबार दिल्ली र बैङ्लोर उडेका क्याबिन क्रुलाई नै मलेसिया र दुबई पठाइएको थियो। यस क्रममा उनीहरूलाई नियम अनुसार रेष्ट आवर १० घण्टा पूरा गरी उडान गरेको कारण पनि उडान तालिका ढिला भएको थियो। जसले गर्दा अन्य उडानहरू पनि प्रभावित बनेको थियो। प्रवक्ता खड्काका अनुसार बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरू तीन घण्टा ढिला उडेका थिए। यसका साथै बिहीबार काठमाडौंबाट साउदी अरेबियाको रियाद र भारतको बैङ्लोर र नयाँ दिल्लीका लागि निर्धारित उडानहरू प्रभावित बनेको उनले जानकारी दिइन्। उनले हालको अवस्थाले निम्त्याएको उडान तालिका १/२ दिनमा नियमित तथा निर्धारित हुने बताइन्।