एमालेसँग सहकार्यको विकल्प खुला

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १८,

मुलुकमा कांग्रेससँग चुनावी गठबन्धन गर्दा अपेक्षाकृत नतिजा नआएको प्रारम्भिक समीक्षा गरिरहेको माओवादी केन्द्र सरकार गठनका लागि सबै विकल्पमा खुला रहने भएको छ । सरकार निर्माणका लागि एमालेसँग समेत सहकार्य हुन सक्ने माओवादी नेताहरूले बताएका छन् । शनिबारको समीक्षात्मक बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, ‘अहिलेको गठबन्धन छाड्ने निर्णय होइन तर अन्य विकल्पमा पनि हामी खुला छौं ।’ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष महरा, महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव पम्फा भुसालले चुनाव र आगामी रणनीतिबारे धारणा राखेका थिए । बैठकको सुरुवातमा दाहालले प्रतिनिधिसभामा सोचेजस्तो नतिजा नआएको तर प्रदेशसभामा सन्तोष गर्न सकिने परिणाम आएको उल्लेख गरेका थिए । चुनावको समीक्षा गरेर आगामी दिनमा सच्चिएर जानुपर्ने उनको धारणा थियो । मतगणना सकिनै लागेका बेला शनिबार माओवादीले पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीको बैठक गरेर चुनावी समीक्षा गरेको थियो । बैठकमा नेताहरूले गठबन्धनभित्र मत साटासाट नभएकोदेखि कांग्रेस नेताहरू नै आफ्ना उम्मेदवारलाई हराउन लागेकोसम्म बताएका थिए । सरकारमा कांग्रेससँगै हिँडे पनि आगामी दिनमा अहिलेको परिणामलाई ख्याल गरेर अगाडि बढ्नुपर्ने उनीहरूको धारणा थियो । ‘अहिले प्रतिनिधिसभामा हामीले सोचेअनुरूप परिणाम आएन भन्ने निक्र्योलमा पुगेका छौं,’ प्रवक्ता महराले भने, ‘थप समीक्षा समानुपातिकको नतिजा आएपछि हुन्छ ।’ महासचिव गुरुङले ‘प्रतिनिधिसभामा अनपेक्षित परिणाम आएको’ बताएका थिए । उनले त्रिशंकु संसद् बनेको र त्यसले राजनीतिक स्थिरताको सम्भावनालाई कमजोर पारेको धारणा राखे । ‘प्रतिनिधिसभाको परिणाम अपेक्षा गरेअनुसार आएन भन्ने स्वत: भइहाल्यो, प्रदेशमा ठिकै देखिन्छ भन्ने कुरा आएको छ,’ बैठकमा उठेका विषयबारे गुरुङले भने, ‘कसैलाई पनि सहज बहुमत नदेखिएकाले अस्थिरता र अराजकताको खेल सुरु गरेको जस्तो देखिन्छ ।’ चुनावमा कांग्रेसले संस्थागत रूपमा भन्दा पनि नेताहरूले व्यक्तिगत रूपमा असहयोग गरेको उनले सुनाएका थिए । प्रतिनिधिसभा निर्वाचनमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मातृका यादव र सचिव चक्रपाणि खनाल पराजित भएका छन् । प्रत्यक्षबाट माओवादीका १७ सांसद मात्रै निर्वाचित भएका छन् । सातवटै प्रदेशसभामा गरी माओवादीले ५३ सिट जितेको छ । माओवादी नेताहरूले गठबन्धनबाट उम्मेदवारी पाउँदा त्यो क्षेत्रमा टिकटको अपेक्षा गरेका कांग्रेसका नेताहरूले खुलेरै असहयोग गरेको उनको भनाइ थियो । उपमहासचिव भुसालले गठबन्धनमा रहेका दलहरूले सहयोग नगर्दा माओवादीलाई अपेक्षा गरेजस्तो परिणाम नआएको बताएकी थिइन् । बोल्न बाँकी पदाधिकारीले आइतबार धारणा राख्ने गरी बैठक सकिएको छ । माओवादीमा २१ जना पदाधिकारी छन् ।

Like