मधेस प्रदेशको शैक्षिक क्षेत्र उकास्ने अभियानमा लागे राजकुमार लेखी

Share to:

रासंसा/सप्तरी, मार्ग १७,

मुलुकमा नेकपा एमालेका नेता राजकुमार लेखीले मधेस प्रदेशको साक्षरता न्युन भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। सप्तरी क्षेत्र नं १(१)बाट विजयी भएका उनले आफ्नै क्षेत्रबाट शैक्षिक क्षेत्र उकास्ने अभियानमा लगेका छन्। शनिबार उनले सरोकारवालाहरूसँग अन्तर्क्रियासमेत गरे। मधेस प्रदेशको साक्षरता जम्मा ६५ प्रतिशत रहेको छ। त्यसमा पनि सप्तरी क्षेत्र नं १ को जम्मा ५५ प्रतिशत रहेको लेखीले बताए। ‘हाम्रो क्षेत्रमा यतिका न्युन साक्षरता हुनु दुःखद कुरा हो। अब पनि यसतर्फ ध्यान नदिने हो भने भोलिका पुस्ताले हामीलाई सराप्नेछन्,’ उनले भने। ‘मधेस प्रदेशको प्रतिनिधिका रुपमा निर्वाचित भएसँगै यहाँका मुद्दा उठान र कार्यान्वयन गराउने दायित्व मैले लिनुपर्छ। त्यही दायित्व नर्वाह गर्नका निम्ति मैले शिक्षा क्षेत्रबाट सुरुवात गरेको हुँ,’ सरोकारवालाहरुसँग लेखीले भने। उनले सप्तरीसहित प्रदेशकै शैक्षिक स्तर उकास्न आफू योजनासहित आउने बताए। उनले विद्यार्थी भर्ना अभियानदेखि विद्यालयको गुणस्तर, अनुगमन र निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने बताए। ‘पहिलो कुरा त हाम्रा बालबालिका विद्यालयमा किन भर्न भएनन् बुझ्नुपर्छ। त्यसका लागि प्रदेशस्तरीय भर्ना अभियान सञ्चालन गर्नुपर्छ। उनीहरुलाई खाजा खुवाउनेदेखि किताब र स्कुल ड्रेसको व्यवस्थापन गर्ने दायित्व पनि हाम्रै हो,’ उनले भने। मधेसमा नेकपा एमाले निर्वाचनमा पहिलो दलसमेत बनेको छ। पहिलो दल बनेको हैसियतले उसले सरकार निर्माणका लागिसमेत छलफल तीव्र पारेको छ। मधेस प्रदेशको मुख्यमन्त्रीका रुपमा लेखीलाई पार्टीले अगाडि सारेको स्रोत दाबी गर्छ। अन्य आकांक्षीहरु भए पनि पार्टी अध्यक्ष केपी ओली निकट रहेका लेखी मुख्यमन्त्रीका प्रबल दाबेदार भएको स्रोत बताउँछ। ‘केन्द्रीय सरकार कसले बनाउँछ र सरकारमा क-कसको गठबन्धन रहन्छ भन्ने कुराले नै प्रदेश सरकारको निर्क्योल गर्छ। मधेसमा यदि एमालेले सरकार बनाए पार्टीले राजकुमार लेखीलाई मुख्यमन्त्री बनाउनसक्छ,’ स्रोतले भन्यो। उनले राम्रो विद्यालयलाई पुरस्कृत गर्नेदेखि विपन्न परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने नीति लिनुपर्ने बताए। उनले गुणस्तरीय शिक्षा प्रदान गर्न विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र सूचना प्रविधिमा जोड दिनुपर्ने बताए। उनले प्राविधिक शिक्षातर्फ पनि जोड दिनुपर्ने बताए। ‘यतिले मात्र पुग्दैन। शिक्षामा विज्ञहरुको समूह निर्माण गर्ने, शिक्षण पेसालाई अझै सम्मानित बनाउने, विद्यालयका समस्याहरूबारे नियमित अनुगमन र अन्तर्क्रियाहरू गर्न आवश्यक छ। यसका लागि मैले पहलकदमी लिनुपर्छ,’ उनले भने। त्यही भएर पनि निर्वाचित सांसदको सपथ नलिँदै लेखी आफ्नै क्षेत्रबाट आक्रामक अभियान सुरु गरेका छन्। ‘आदिवासी जनजाति आन्दोलन र थारू आन्दोलनमा समेत लेखीजीको अहं भूमिका रहेको छ। लामो समय पार्टी बाहिर रहे पनि उहाँले विभिन्न आन्दोलनमार्फत् उत्पीडित वर्गका आवाज बन्नुभएको छ। लामो समयको राजनीतिपछि उहाँ जननिर्वाचित सांसद बन्नुभएको छ। आफ्नो कार्यकालमा उहाँले उत्कृष्ट काम गरेर देखउनुपर्ने चुनौती पनि छ,’ उनी निकट नेताले भने।

Like