दलका कार्यालय निर्वाचनको परिणाम आएसँगै रङ्गरोगन गरिँदै

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १७,

मुलुकमा सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्ग रोगन र सरसफाइ सुरु गरेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजाका आधारमा कार्यालय व्यवस्थापन गर्नुपर्ने दलको सङ्ख्या आकलन गरी संसद् सचिवालयले तयारी सुरु गरेको हो। सचिवालयले त्यसका लागि नयाँ बानेश्वरस्थित संसद् भवन र सिंहदरबारमा दल विशेषको सङ्ख्याका आधारमा कोठा उपलब्ध गराउनेछ। दल र सांसदको सुविधासम्बन्धी ऐनमा १० सांसद भएमा त्यस्ता दलका पदाधिकारी अर्थात् संसदीय दलका नेता र सचेतकलाई कार्यालय तथा फर्निचर सुविधा उपलब्ध गराउनुपर्ने भएकाले सचिवालय त्यो कामको तयारीमा अघि बढेको प्रवक्ता डा पाण्डेले जानकारी दिए। कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरूको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य सचिवालयले सुरु गरेको प्रवक्ता डा रोजनाथ पाण्डेले बताए। सचिवालयले विगतमा राजनीतिक दलले प्रयोग गरेको संसदीय दल कार्यालयको सरसफाइ, रङ्ग रोगन, फूल बिरुवा रोपणजस्ता काम अहिले गरिरहेको छ। नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ सकिए लगत्तै संसद्को प्रतीक चिह्न (लोगो) संविधान, ऐन, संसदीय नियमावली र समितिका कार्यविधि, डायरी, कलम, परिचय पुस्तिकालगायत आवश्यक कागजात उपलब्ध गराउने प्रचलन छ। नयाँ प्रवेशीलाई संसदीय अभ्यासबारे आधारभूत जानकारी दिलाउन सचिवालयले संसदीय विधि र प्रक्रियाबारे केन्द्रित रही अभिमुखीकरण प्रदान गर्ने गर्छ। सङ्घीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा नभएकाले यो अधिवेशन बानेश्वरमा हुँदै आएको पुरानै भवनमा हुनेछ। त्यसअघि हुने नवप्रवेशी सांसदको शपथ ग्रहण पनि सोही भवनको ल्होत्से कक्षमा हुनेछ। संसदीय प्रक्रिया र कार्यान्वयनमा लैजाने विषयवस्तुबारे केन्द्रित रही सचिवालयको भूमिका, संसदीय समितिको भूमिका र सभा सञ्चालनका विषयमा ज्ञान दिइनेछ। ज्येष्ठ सदस्यको अध्यक्षतामा सङ्घीय संसद्को अबको पहिलो बैठकले सभामुखको निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति दिनेछ। त्यसपछिका बैठकमा मात्र अरू बिजनेस अघि बढ्नेछ।

Like