आयोग कडा बन्दै आचारसंहितामा
रासंसा/काठमाण्डौ, कार्तिक २९,
मुलुकमा निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा कसैले आचारसंहिता उल्लंघन गरे उजुरी गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गर्ने, पैसा बाँड्ने, अत्यधिक खर्च गरेको वा शान्ति भंग गर्ने कार्य भएमा जिल्ला आचारसंहिता अनुगमन समितिमा खबर गर्न सकिन्छ। आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले आचारसंहिता पालनामा कडाइ गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिएको छ। समितिले कसैलाई डर त्रास, धाक धम्की प्रलोभन दिने जस्ता कार्य गरेको पाइएमा निगरानी राखी कारबाही सुरु गर्न जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र अनुगमन अधिकृतलाई निर्देशन दिएको हो। निर्वाचनको मिति नजिकिँदै जाँदा कार्यकर्ता तथा दलका उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको उजुरी आयोगमा बढ््न थालेको छ। पैसा बाँडेको, भोजभतेर तथा मदिरा बाँडेको आरोप उम्मेदवारलाई लाग्ने गरेको छ। आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको सोमबार बैठक बसेको थियो। समितिका संयोजक आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व एवं प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा आयुक्त ईश्वरीप्रसाद पौडेलको उपस्थितिमा बैठक बसेको थियो। बसेको बैठकले हरेक जिल्लामा शान्तिपूर्ण र भयरहित निर्वाचन गराउन आचारसंहिता निगरानी बढाउनुपर्नेमा जोड दिएको छ। त्यसैगरी बैठकले स्थानीय जनप्रतिनिधि, मतदाता, उम्मेदवार, सरकारी कर्मचारी, शिक्षक शिक्षिका तथा सुरक्षा निकायका जोसुकैले आचारसंहिता उल्लंघन गरेको पाइएमा स्पष्टीकरण सोधी कारबाही अगाडि बढाउनसमेत समितिलाई निर्देशन दिएको छ। यसका साथै राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना तथा सो सम्बन्धमा गरेका सबै क्रियाकलाप र निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको विषयमा सूक्ष्म अनुगमन गर्न निर्देशन दिइएको छ। आचारसंहिता उल्लंघनको उजुरी हरेक दिन साँझ ७ बजेसम्म जिल्लास्थित निर्वाचन कार्यालयमा गर्न सकिन्छ। मतदान हुने २ दिनअघिदेखि देशभर मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। मतगणना पूरा नहुँदासम्म मादक पदार्थ बिक्री वितरण गर्न पाइँदैन। आयोगका सहप्रवक्ता कमल भट्टराईका अनुसार आचारसंहिताविपरीत आयोगले तोकेको समयमा मादक पदार्थ बेचबिखन गरेको पाइएमा नेपाल प्रहरीले जफत गर्न सक्नेछ। सहप्रवक्ता भट्टराईका अनुसार बैठकले निर्वाचन ऐन, २०७३ को दफा २४ को उपदफा ५ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन। निर्वाचन ऐनअनुसारको आचारसंहिता पालना गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिइएको छ। बैठकले आचारसंहिताको अवस्था, प्रगति विवरण ३ दिनभित्र समिति वा आयोगमा पठाउन निर्देशन पनि दिएको छ।