ओलीको उद्एघोष, मालेबाहेक अरूसँग देश बनाउने भिजन छैन

Share to:

रासंसा/बाग्लुङ, कार्तिक २२,

मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीबाहेक अन्य कुनै दलसँग देश बनाउने भिजन नभएको बताएका छन्। नेकपा एमाले बाग्लुङले बाग्लुङको बुर्तिबाङ बजारमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै ओलीले एमालेले मात्रै समृद्धि र स्थीरताको बाटोमा देशलाई अगाडि बढाउन सक्ने बताए। ‘एमाले बाहेक कसैसंग पनि देश बनाउने भिजन छैन,’ उनले भने, ‘एमालेलाई देशको ढकुटी रित्याउन सरकार चाहिएको होइन। देशको स्वाभिमान र स्वाधीनताका लागि एमाले सरकार चाहिएको हो। देशको विकास उन्नतिका लागि एमाले सरकार चाहिएको हो।’ देशमा शान्ति अमनचयन कायम गर्न एमाले नेतृत्वको सरकार आवश्यक भएको उनको जिकिर थियो। परमादेशबाट सरकार बनाएर संविधानको अपव्याख्या गरिएको भन्दै उनले भने, ‘असंवैधानिक ढंगलले अदालतबाट तोक आदेश परमादेशबाट सरकार बनाउनुभयो, संविधानको व्याख्या होईन अपव्याख्या भएको छ, संविधान मिचिएको छ।’ आफू प्रधानमन्त्री भएको बेला नेपाली भूमि फिर्ताका लागि भारतसँग कूटनीतिक प्रयास गरेको भन्दै ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा हामीले कुटनीतिक नोट पठाएर भूमि फिर्ताको प्रयास थालेका थियौं, अहिलको प्रधानमन्त्रीमा त्यो हुती छैन। चाकडी गर्ने मात्रै हो।’ प्रचण्डका कारण फेरि अस्थिरता निम्तिएको ओलीले आरोप लगाए। ‘हामीले त्यसबेला एउटै घोषणापत्र बनाएका थियौं। एउटै कार्यक्रम दिएका थियौं। ‘म यो वा ऊ भन्दिन। तर केहि तत्वहरूका कारण देश पुनः अस्थिरतातर्फ गयो’–उनले भने। त्यसैले अहिले हुन गईरहेको निर्वाचनमा जनताले स्थिरता, विकास, समृद्धि, स्वाधीनताको पक्षमा मतदान गरेर एमालेलाई जिताउनुपर्ने उनको भनाइ थियो। यस्तै पोखराको चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले जनताले चुनावमार्फत स्थिरता र अस्थिरतामध्ये एक रोज्नुपर्ने बताए। नेकपा एमाले कास्की जिल्लास्तरीय बृहद् कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जनताले चुनावमार्फत देशलाई विनास कि विकासतर्फ लैजाने भन्ने निर्णय गर्नुपर्ने बताए। आगामी चुनाव सामान्य नभएको बताउँदै उनले भने, ‘यो निर्वाचन यसअघिका निर्वाचनजस्तो सामान्य निर्वाचन नभई देशको भाग्य कोर्ने निर्वाचन हो। यसले देशको भविष्य कस्तो हुने, देश कता जाने ? देशलाई विकासको बाटोमा लैजाने कि विनासको बाटोमा ? देशलाई स्वाधीन बनाउने कि पराधीन ? देशलाई स्थिरतातर्फ लैजाने कि अस्थिरतातर्फ भन्ने निर्णय गर्ने निर्वाचन हो।’ उनले २०७४ सालको निर्वाचनबाटै देश स्थिरतातर्फ गए पनि केहि देशीविदेशी तत्वका कारण देश पुनः अस्थिरतातर्फ गएको आरोप लगाए। ‘ ओलीले आफू नेतृत्वको सरकार ढालेर गठबन्धनको नाममा देउवा नेतृत्वका भ्रष्ट र दक्षिणपन्थी सरकार बनेको टिप्पणी गरे। उनले गठबन्धनले लगाएको संविधान मारेको आरोपको खण्डन गरे। संसदीय अभ्यासमा रहेको चेक एण्ड ब्यालेन्सको सिद्धान्त विपरीत परमादेश जारी गरेर उल्टै उनीहरूले नै संविधान मारेको उनको प्रत्यारोप थियो। ‘एउटै पार्टी, एउटै नीति, एउटै घोषणापत्र लागु गर्न जनताले जनादेश दिएका थिए। तर प्रचण्डले जनादेश अस्वीकार गरे। त्यसपछि मैले संसद् विघटन गरेको हुँ। यसले संविधान कहाँ मा¥यो। तर परमादेश जारी गरेर उल्टै संविधान मार्ने काम भएको छ। यसको जवाफ जनताले जनादेशमार्फत दिनुपर्छ।’ ओलीले विभिन्न सर्वेक्षणका नाममा एमालेलाई कांग्रेसको हाराहारी मात्र देखाएर जनतासामु कमजोर देखाउने प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए। आगामी चुनावमार्फत एमालेले एकल सरकार बनाउने दाबी गर्दै उनले भने, ‘सरकार एमालेको बने पनि अन्य दललाई पनि सहभागी गराउँछौं तर त्यहाँ एमालेको घोषणापत्र कार्यान्वयन गरिन्छ।’ ओलीले पाँचदलीय गठबन्धनलाई मिसन र भिजनबिनाको दिशाहीन गठबन्धन भनेर टिप्पणी गरे। पाँच दलका पाँचवटा घोषणा पत्र बनेकोप्रति कटाक्ष गर्दै ओलीले भने, ‘गठबन्धनले जित्यो भने को प्रधानमन्त्री बन्छ ? अनि कुन दलको घोषणा पत्र लागु हुन्छ ? कांग्रेसको, माओवादीको ? कि माकुने (माधवकुमार नेपाल) वा जनमोर्चाको ? यस्तो दिशाहीन, बिचारहीन, कर्मकाण्डी र जनता अल्मल्याउन मात्र ल्याइएको छ। यस्ता घोषणापत्र र पार्टीको भ्रममा परेर कसैले भोट हाल्नु हुँदैन।’ ओलीले कांग्रेस सत्तामा आउने वित्तिकै देशमा अलच्छिन लाग्ने गरेको आरोप लगाए। कांग्रेस सत्तामा आउनेबित्तिकै अलच्छिन किन लाग्छ ? प्रश्न गर्दै उनले अगाडि थपे, ‘यिनीहरू आएपछि सहकाल समाप्त हुन्छ, अनिकाल लाग्छ। पैसा हुँदैन। व्यक्तिसँग मात्रै होइन अहिले त बैंकसँग पनि पैसा छैन। तरलता अभाव छ, ऋण दिने पनि पैसा छैन बैंकसँग। कहाँ जान्छ यिनीहरू आएपछि पैसा ? हामी हुँदा पैसा थियो तर अहिले छैन।’ बिना बजेटको पैसा स्रोत सुनिश्चित भन्दै आफ्नालाई बाँड्दा राज्यको ढुकुटी रित्तिएको उनको आरोप थियो। उनले देशमा छिमेकी राष्ट्रले नाकाबन्दी लगाउँदा नाकाबन्दीसमेत भन्न नसक्ने, कसले नाकाबन्दी लगायोपनि भन्न नसक्ने पार्टी कांग्रेसलाई जिताए देश बर्बाद हुने बताए।

Like