सरकारले मङ्सिर ४ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न प्रबन्ध मिलाएको छ : प्रधानमन्त्री देउवा
रासंसा/काठमाण्डौ, कार्तिक ९,
मुलुकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताउनुभएको छ । देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्चा गर्दै उहाँले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको चर्चा गर्दै सरकारले साख्वाःको योगदानको उच्च सम्मान गर्दै यसअघि नै राष्ट्रिय विभूति घोषणा गरेको, उहाँको नाममा हुलाक टिकट प्रकाशित गरेको, विद्यालय तहको पाठ्यक्रममा समावेश गर्ने व्यवस्था गरेको बताउनुभयो । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापर्ण गर्दै उहाँले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताउनुभयो । उपत्यकाको पर्यटन विकासलाई संस्कृति, सम्पदा र मौलिक परम्परा जोगाउँदै अगाडि बढाउने बताउँदै मन्त्री श्रेष्ठले नेपाल संवत्लाई सरल र सहज ढङ्गले व्यवहारिक बनाएर कामकाजीमा ल्याउन सरकार लागिरहेको बताउनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले शङ्खधर साख्वाःले पुर्याएको योगदानको चर्चा गर्दै महानगरले मध्यपुरथिमिमा रहेको शङ्खधर पार्कको निर्माणमा यसअघि एक करोड सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शङ्खधर साख्वाःको योगदानलाई चीरस्थायी बनाउन नेपाल सरकारले साख्वाःको नाममा राष्ट्रिय पुरस्कारको घोषणा गर्ने तयारी गरेको बताउनुभयो । उहाँले सरकारले साख्वाःको नाममा हरेक वर्ष तीन जना व्यक्तिलाई रु एक लाखका दरले राष्ट्रिय पुरस्कार प्रदान गर्ने बताउँदै त्यसको प्रक्रिया सरकारले अगाडि बढाइसकेको बताउनुभयो । कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले शङ्खधर साख्वाःको नाममा सरकारले राष्ट्रिय परस्कारको घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानले साख्वाःको नाममा मिनि सङ्ग्रहालयको रुपमा विकास गर्ने बताउँदै अहिले देखापरेको तिथिमितिको विवाद र फरकलाई एकरुपता दिन विज्ञ टोली लाग्नुपर्ने बताउनुभयो । प्रतिष्ठानले यसवर्ष विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीलाई शङ्खधर सम्मान प्रदान गरेको छ । प्रधानमन्त्री देउवाले गुठीका महेन्द्रगोपाल कर्माचार्यलाई उक्त सम्मान प्रदान गर्नुभयो भने प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरलाई पनि ‘शङ्खधर सम्मान’ प्रदान गर्नुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै नगरपालिकाले शङ्खधरको विविध योजना सञ्चालन गर्न एक करोड २० लाखको बजेट विनियोजन गरेको बताउनुभयो । नगरपालिकाले सुरु गरेको शङ्खधर पार्क निर्माण कार्यको बाँकी कामलाई नगरपालिकाले पूर्णता दिने बताउनुभयो । त्यसैगरी प्रधानमन्त्री देउवाले काठमाडौंँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, साहित्यकार तिलकप्रकाश कायस्थ, गीतकार पवित्र कसाः र पत्रकार सुगतरत्न सिन्दुराकारलाई शङ्खधर पदक प्रदान गर्नुभयो ।