यसरी मनाइन्छ तराई मधेसमा दसैँ
रासंसा/काठमाण्डौ, आश्विन १९,
मुलुकमा दसैँ हिन्दु धर्मावलम्बीको प्रमुख पर्व हो । कतिपयमा पहाडिया हिन्दु समुदायले मात्र दसैँ मनाउँछन् भन्ने मान्यता पनि देखिन्छ तर मधेसी समुदायले पनि विशेष रुपमा दसैँ मनाउने गर्दछन् । पहाड र मधेसमा दसैँ मनाउने शैली फरक हुन्छ । पूजापाठदेखि लिएर अन्य क्रियाकलाप पहाड र मधेसबीच विल्कुल फरक हुन्छ । कमल यादवले काठमाडौंको गौशालास्थित पशुपतिनाथ परिसरमा केही वर्षदेखि श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दु साँस्कृतिक परिषद्मार्फत दशहरा मनाउँदै आएका छन् । धेसमा नवरात्रिमा दुर्गा पूजालाई विशेष महत्व दिइन्छ । दुर्गाको मूर्ति बनाएर पूजा गरिन्छ भने ठाउँठाउँमा दुर्गा पूजाका अवसरमा मेला नै लाग्ने गर्दछ । गत वर्ष कोरोनाका कारण पशुपतिनाथ मन्दिर परिसरमा मनाउन नदिँदा एउटा पार्टी प्यालेसमा मूर्ति स्थापना गरेर दसैँ मनाएको उनले सुनाए । उनले भने, ‘केही समय यता काठमाडौंमा बस्ने अधिकांश मधेसीहरु गाउँ जान छाडेका छन्, त्यसलाई मध्यनजर गर्दै हामीले यहाँ दुर्गा पूजा गर्न लागेका हौं ।’ पछिल्लो समय काठमाडौंमा तराई मधेसका विभिन्न संघ संस्थाले माटोको मूर्ति बनाएर दुर्गा भगवतीको पूजापाठ तथा आराधना गर्न थालेका छन् । काठमाडौं उपत्यकामा पनि तराई मधेसको दशहरा याद दिलाउने गरी विगत १५ वर्षदेखि दसैँ मनाउने गरिएको कमल यादवले बताए । तराई मधेसमा जसरी दसैँ मनाइन्छ, त्यसरी नै यहाँ पनि माटोको मूर्ति स्थापना गरेर दशहरा मनाउन लागिएको उनले बताए । नवरात्रिभर मेला लाग्ने उनले बताए । मेलामा ६० प्रतिशतको हाराहारीमा मधेसी समुदाय र ४० प्रतिशतको हाराहारीमा पहाडी समुदाय हुने गरेको उनले सुनाए । तराई मधेसमा जताततै दसैँका लागि दुर्गा भगवतीको आकर्षक मूर्ति बनाएर सजाइन्छ । दसैँ आउनुभन्दा एक÷डेढ महिना अघि नै कालीगढलाई मूर्ति बनाउन भ्याइ–नभ्याइ हुन्छ । नवरात्रिभर दैनिकजसो भक्तजनहरु मूर्ति राखिएको स्थानमा पूजाका लागि आउने गर्दछन् । ‘तराई मधेसमा मनाईने दसैँलाई पर्यटकीय रुपमा विकास गर्न सके विदेशीहरुका लागि आकर्षणको केन्द्र बन्न सक्छ,’ मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भने, ‘दसैँमा काठमाडौँ, पोखरा, चितवनलगायतका पर्यटकीय स्थल खाली हुन्छ । तर ती पर्यटकलाई तराई मधेसमा एकपटक घुमाउन सकियो भने पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।’ संस्कृतिविद् राकेश भन्छन्, ‘सहरी क्षेत्र, खासगरी काठमाडौं उपत्यकामा दसैँलाई अधिकांश व्यक्तिले खानपिनको पर्वका रुपमा मनाउँछन् भने तराई मधेसमा धार्मिक क्रियाकलाप बढी हुने गर्दछ ।’ मेलामा विभिन्न नाचको आयोजना गरिएको हुन्छ । जस्तै, अलाह रुदल, कुमर भिजमान, चाटजटिन, सोरैठ, आर्केस्ट्रा लगायत हुन्छन् । केटाकेटीका लागि विभिन्न मनोरञ्जनका गतिविधि पनि हुने गर्दछन् । तराई मधेसमा दुर्गा भगवतीका लागि जसले भाकल गरेका हुन्छन्, उसले भाकलअनुसारको बलि दिएर घरमा प्रसादको रुपमा मासु पकाएका हुन्छन् । जसको घरमा खसी काटिएको हुँदैन, त्यसलाई छरछिमेकले बोलाएर खुवाउने चलन तराई मधेसमा रहेको संस्कृतिविद् राकेश बताउँछन् । उनका अनुसार हाल तराई मधेसमा भाकल गरेर बलि दिने प्रचलन बढ्दै गएकाले प्रायःको घरमा खसी काटिएकै हुन्छ । दसैँमा खानका लागि मात्र नभएर दुर्गा भगवतीलाई गरिएको भाकल अनुसार खसी तथा बोका काट्ने गरिने उनले बताए । काठमाडौ उपत्यकामा नवरात्रिमा पूजापाठभन्दा पनि खानपिनमा बढी ध्यान दिने तर तराई मधेसमा दसैँको धार्मिक पक्षलाई बढी महत्त्व दिने गरिएको उनको भनाइ छ । मधेसी समुदायमा टीका तथा जमरा लगाउने चलन खासै छैन । पहाडी समुदायले टीका लगाउने गरेको देखेर कहीँ कतै तराई मधेसमा पनि टीका लगाउन थाले पनि अनिवार्य भने छैन । पहाडका लागि दसैँमा टीका महत्वपूर्ण दिन हो । खस–आर्य हिन्दु धर्मावलम्बीले ठूलाबडा तथा मान्यजन्यबाट टीका थाप्नुको साथै जमरा लगाउने चलन छ तर मधेसी समुदायमा यस्तो चलन छैन । तराई मधेसमा महानवमीका दिन विशेष पूजाआजा गरिन्छ । धेरैजसोले यही दिन भाकल अनुसार बलि दिने गर्छन् । दसैँमा डायन तथा धामी झाँक्रीले आफ्नो जन्तरमन्तर (तन्त्र विद्या) सिद्ध गर्ने भएका हुनाले त्यो सिद्धिका लागि कुनै बालबालिकामा प्रयोग गर्ने बुढापाकाको भनाइ छ । त्यसैले त्यो दिन आआफ्ना केटाकेटीलाई बाहिर निस्कन दिँदैनन् । दसैँको आगमनसँगै तराई मधेसमा ‘डायन’ सक्रिय हुने अन्धविश्वास छ । त्यसैले कतिपयले आफ्ना बालबच्चालाई घरबाट निस्किन नदिने, निस्किन दिए पनि ढाडमा लसुन बाँधिदिने, निधारमा कालो टीका लगाईदिने चलन छ । तर अचेल तराई मधेसमा यो चलन हराउँदै गइरहेको छ । डायन तथा धामी झाँक्रीको नजरबाट बचाउनका लागि गाउँघरमा आफ्नो घरको प्रवेशद्वारमा कालो पोत्ने, नाङ्लोमा कालो तथा चुना पोतेर घरमा झुण्ड्याउने चलन छ । दसैँको पहिलो दिन घटस्थापनाकै दिन घरआँगन लिपपोत गरेर मूल ढोकामा कालो पोत्ने गरिन्छ । घटस्थापनाको दिन प्रवेशद्वारहरुमा पोतिएको कालो सप्तमीका दिन मेटाउने चलन छ । केही दशकअघि दसैँ लागेपछि सुनारहरुले दसैँया औंठी बेच्ने चलन हुन्थ्यो । त्यो औंठी लगाएपछि डायन तथा धामी झाँक्रीको डर नहुने मान्यता थियो तर दसैँया औंठी लगाउने चलन लगभग हराइसकेको छ । मान्छे शिक्षित हुँदै गएपछि डायन, जन्तर मन्तरप्रति विश्वास गर्न छाडेका छन् । पहिलाजस्तो डायन तथा धामी झाँक्रीको डर पनि हराइसकेको छ । पहिलाजस्तो अहिले बालबच्चा लुकाउने चलन पनि छैन । यसको मुख्य कारण चेतना र शिक्षा नै हो । अहिले त युट्युवलगायत अन्य सामाजिक सञ्जाल हेरेर केटाकेटी पनि चलाख भएका छन् । आमा बुबाले लुकाउन खोजे पनि केटाकेटी लुक्न मान्दैनन्, कालो टीका लगाउन मान्दैनन् । दसैँको सबभन्दा महत्वपूर्ण झिझिया नृत्य हो । डायनबाट जोगिन झिझिया नृत्यको चलन तराई मधेसमा अझै कायम छ । दसैँ सुरु भएसँगै झिझिया नृत्य सुरु हुन्छ । तराई मधेसका चेलीबेटीहरुले झिझिया नृत्य गर्दछन् । दसैँको अन्तिम दिन अर्थात् पूर्णिमाको दिन यो नृत्य समाप्त हुन्छ । पूर्णिमाको दिन झिझियाको विशेष पूजा हुन्छ र, पानीमा बिसर्जन गरेर त्यसलाई समापन गर्ने चलन छ । नृत्य गर्न नजान्नेले टाउकोलाई हल्लाई रहन्छन् । त्यसरी टाउको हल्लाई रहनुको एउटै कारण छ । त्यो हो, डायनले त्यो प्वाल गन्न नपाओस् । यदि डायनले त्यो घैँटोको प्वाल गन्न सकेमा अनिष्ट हुने मान्यता छ । यो नृत्य गर्ने चेलीबेटीले डायन, जोगिन, धामी झाँक्रीहरुलाई गाली गर्ने, त्यसको विरोध गर्ने, सराप्ने गर्दछन् । घैटोमा असंख्य प्वाल पारेर त्यसमा दियो राखी टाउकोमा राखेर महिलाहरुले नृत्य गर्दछन् । यो दिन निलकण्ठ चरा हेर्ने चलन छ । जसले त्यो दिन निलकण्ठ चरा हेर्न पाउँछ, ऊ सुखी हुन्छ भन्ने मान्यता छ । त्यो दिन नीलकण्ठ चरालाई हेर्नुलाई शुभसाइत मानिन्छ । त्यसैले त्यस दिन खेतबारी, फुलबारीतिर गएर निलकण्ठ चरा खोजेर हेर्ने चलन पनि रहेको संस्कृतिविद् राकेशले बताए । तर अहिले निलकण्ठ चरा हेर्ने चलन पनि बिस्तारै हराउँदै गइरहेको छ । तराई मधेसमा विजया दशमीमा जात्रा लाग्छ । दुर्गा भगवतीलाई बिर्सजन गर्ने दिन भएकाले विशेष जात्राको रुपमा त्यस दिन मनाइन्छ । दसैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन कलश पूजा हुन्छ । महिलाहरुले जलाशयबाट कलशमा जल (पानी) ल्याएर दुर्गा मन्दिरमा राख्छन् । पहिला त्यसको पूजा हुन्छ । दुर्गा मन्दिरका पूजारी सुमन झाका अनुसार पञ्चमीसम्म त्यसैगरी पूजा हुन्छ । षष्ठी अर्थात दसैँको छैठौं दिन बेललाई फूलबारीमा निमन्त्रणा दिन्छन् । जसलाई स्थानीय भाषामा ‘बेला नत’ भनिन्छ । एउटै डाँठमा फलेको दुईटा बेललाई शिव र शक्तिको रुपमा निमन्त्रण दिन्छन् । शक्ति भनेको दुर्गा भगवती हुन् । त्यसलाई दुर्गा भगवतीको गृहप्रवेश भनिन्छ । र, त्यही दिन माटोको मूर्तिमा प्राणप्रतिष्ठा प्रदान गर्ने काम हुन्छ । त्यसलाई स्थानीय भाषामा आँखा फोड्ने दिन भनिन्छ । घटस्थापनाको दिनदेखि मूर्ति स्थापना गरिए पनि मूर्तिको आँखा खोलिएको हुँदैन । सप्तमीको दिनमा मूर्तिको आँखा खोलिन्छ । त्यसको भोलिपल्ट अर्थात् सप्तमी (दसैँको सातौं दिन) को दिन निमन्त्रणा दिएका बेललाई लिन जान्छन् । ती बेललाई पूजापाठ गरी डोलीमा राखेर दुलही ल्याएझैँ मन्दिरमा ल्याउँछन् । अनि, मन्दिरमा पूजापाठ गरी बेललाई भित्र्याउँछन् । अष्टमी अर्थात आठौं दिनको पूजालाई अर्धरात्री पूजा भनिन्छ । जसलाई कालरात्री पनि भनिन्छ । त्यस रात गरिने दुर्गा भगवतीको पूजालाई निशा पूजा पनि भनिन्छ । रातभर पूजा आराधना हुन्छ । कोटिन जोगिनको पूजा पनि त्यही दिन हुन्छ । अन्तिममा गएर बधम बध पूजा हुन्छ र बलि दिन शुरु हुन्छ । भक्तजनहरुले भाकल गरे अनुसार खसी, बोका, राँगा, परेवा, हाँस आदिको बलि दिइन्छ । दुर्गा भगवतीको आँखा खालेकै दिन एउटा खसीको बलि दिनुपर्ने हुन्छ । आँखा खोल्नेबित्तिकै दुर्गा भगवतीलाई केही भोग (खान) दिनुपर्ने हुन्छ । आँखा खोल्ने बेला एकजना भक्तजन खसी लिएर दुर्गा भगवतीको अगाडि उभिएका हुन्छन् । र, आँखा खुल्ने बित्तिकै खसीको बलि दिइन्छ । कसैलाई बाहिर जानु छ वा आउनु छ भने त्यस दिन शुभ मानिन्छ । त्यो दिन चेलीबेटी, बुहारी भित्र्याउने वा पठाउने काम पनि हुन्छ । नवमी अर्थात् नवौं दिन दुर्गा भगवतीको पूजापाठ तथा आरती हुन्छ । विजया दशमी अर्थात् अन्तिम दिन दुर्गा भगतवतीका साथै सबै देवीदेवताको बिसर्जनको पूजा हुन्छ । त्यो दिन दुर्गा भवगतीलाई बिदाई गरिन्छ, जसलाई जात्रा भनिन्छ ।