गठबन्धनको सिट बाँडफाँटमा साझा अवधारणा बनाउन कार्यदललाई निर्देशन
रासंसा/काठमाण्डौ, भाद्र ३,
मुलुकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । कार्यदलमा भएको छलफलको निष्कर्षबारे शीर्ष नेताहरूले समेत सुझाव राखेका थिए । छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँडको विषयमा साझा धारणा बनाउन निर्देशन दिएका छन् । सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलले २०७४ को निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचनको मत परिणाम र २०७९ को स्थानीय तह निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँड गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएपछि नेताहरूले त्यसलाई अन्तिम रुप दिन निर्देशन दिएको बताउनुभयो ।शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा सिट बाँडफाँड गर्न बनेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेतालाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराउनुभएको थियो ।